सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार रवीश कुमारले भने- नेपाली मिडियालाई भारतीय मिडियाको हावा नलागोस्

आइतबार, २५ वैशाख २०७९, १८ : ००
आइतबार, २५ वैशाख २०७९

भारतीय चर्चित पत्रकार रवीश कुमारले भारतीय मिडियाको प्रभाव नेपालमा पनि पर्ने भएकोले त्यसबाट सचेत रहन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा हिमाल मिडिया २५ वर्ष पुगेको अवसरमा गरिएको हिमाल मेलामा उनले त्यसतर्फ सचेत गराएका हुन् । 

सो मेलामा ‘मुक्त आवाज’ शीर्षकको बहसमा पत्रकार कनकमणि दीक्षितसँगको कुराकानीमा उनले भारतीय ‘गोदी मिडिया’ को नेपाल लगायत छिमेकी देशहरुमा प्रभाव पर्ने भएकोले ध्यान दिन आग्रह गरे ।  उनले भारतको उत्तर प्रदेशमा भएको चुनावमा त्यहाँका दुई ठूला अखबारमा छापिएको समाचारलाई पछ्याउँदा त्यसमा विपक्षीको समाचारलाई स्थान नदिएको बताए  । 

उनले भने–‘ती पत्रिकालाई नियमित हेर्दा के देखिन्छ भने विपक्षी दल छ भन्ने कुरा नै देखिँदैन । मिडियालाई जसरी चौथो अंग बताइन्छ तर एक हिसावले राज्यको अंगको रुपमा विकास भइरहेको छ । त्यहाँको पत्रिकाले केवल सत्तामा रहेको पार्टीको मात्र हेडलाइन बनाउने काम गर्दथे । शासन गरिरहेको पार्टीको समाचार ठूलो हेडलाइनमा छापिन्थ्यो । प्रतिपक्ष दलको समाचार पत्रिकाको कुनै किनारामा सानो हेडलाइनमा छापिन्थ्यो । प्रियंका गान्धीको समाचार छाप्दा पनि उनले जनतालाई हेरेर कसरी मुस्कुराइन् भनेर छाप्थे, उनले के भनिन् भन्ने बारेमा छाप्दैनथे ।’

उनले जनता तथा राजनीतिक दल सामु यो एक प्रकारको बेइमानी भएको बताए । उनले जो लोकतन्त्रमा विश्वास गर्छन् उनीहरुका लागि यस्ता कुराहरुमा चिन्ता लाग्नुपर्ने बताए । उनले भने–‘चुनावका बेलामा कसैलाई मैदानबाट बाहिर पुर्याएर वा अखबारबाट गायव गरेर चुनाव जितिएको हुन्छ । यो एउटा सानो उदाहरण हो । हिन्दीमा जतिपनि अखबार छन्, टेलिभिजन छन् बेइमानीको अभियान सञ्चालन भइरहेको हुन्छ । उनीहरु कुनै न कुनै मुद्दालाई हरेक दिन उठाइरहेका हुन्छन्, उनीहरुका लागि अब  समस्या हैन । भारत यति ठूलो देश जसले हरेक दिन आँधी तुफानको सामना गर्नुपरेको छ । त्यसलाई छोडेर अरु कुनै नयाँ विषय निकालेर खडा हुन्छन् । त्यो देशमा त्यस्तो के कमजोरी आयो र त्यहाँको शक्ति र सरकारलाई चल्नका लागि यसका प्रकारका पत्रकारिता र अखबारको आवश्यकता पर्यो ?’

यो विषय पुरै दक्षिण एसियाली जनता र यस क्षेत्रका मिडियाका लागि महत्वपूर्ण विषय रहेको बताउँदै उनले प्रेस स्वतन्त्रतालाई बचाएर राख्नुपर्ने बताए । यदि भारतीय मिडियाको लक्षण यस क्षेत्रमा पनि देखिएको छ र त्यो बढेर जाने अवस्था छ भने दुःखदायी हुने उनले बताए । 

उनले सरकारको सिपाहीका रुपमा मिडिया लामो समय रहन नसक्ने बताउँदै भारतीय जनताले भावुकतामा नभई तार्किकता जानुपर्ने बताए । उनले भने–‘यदि उनीहरु गोदी मिडिया नै रुचाउँछन् भने भन्नु केही छैन माला उनेर पहिर्याइदिनुस् । म आफैं त गोदी मिडियाको प्रचार गरिरहेको छु  कि बाहिरी देशबाट आउनुस् र गोदी मिडिया हेर्नुहोस् । मैले एउटा अवधारणा दिएको छु कि भारतमा टिभी पर्यटनको विकास गर्नुहोस् र उनीलाई माला लगाइदिनुस् ।’

उनले भारतमा वास्तविक पत्रकारमाथि ट्रोल हमला हुने र महिला पत्रकारमाथि बढी ट्रोल हमला हुने गरेको बताए । उनले पत्रकारलाई भन्दापनि जनतालाई डर देखाउन त्यस्ता ट्रोल हमला गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पर्न सक्नेप्रति सचेत रहन आग्रह गरे । रवीशले भारतीय गोदी मिडियाको प्रभाव नेपालमा पनि आउनसक्ने हुनाले त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले भारतमा गोदी मिडियाले वास्तविक पत्रकारितालाई माथि उठ्न नदिएको बताए । 

हिमाल मिडियाका कनकमणि दीक्षितसँगको संवादमा उनले भारतीय मिडियामा रहेको नकारात्मक पक्षहरू औंल्याउँदै त्यसबाट भारतसँग सीमा जोडिएका देशहरु तथा दक्षिण एशियाली देशहरुले पाठ सिक्नुपर्ने बताएका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप