आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खोटाङमा काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

आइतबार, २५ वैशाख २०७९, १२ : ०८
आइतबार, २५ वैशाख २०७९

नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ ।  काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । 

कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गाविस अध्यक्ष राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा वडाध्यक्षको बागी उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर थापा रहेका छन् । 

तामाङले ऐँसेलुखर्क गाउँपालिकामा चार दलीय गठबन्धनका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईविरुद्ध तथा राईले काँग्रेसका तर्फबाट बतासेका आधिकारिक उम्मेदवार राजदेश राई र थापाले काँग्रेसका तर्फबाट सिम्पानीमा वडाध्यक्षका आधिकारिक उम्मेदवार सुशील उदासविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको जिल्ला सभापति विष्णुकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
पार्टीको कारवाहीमा परेका काँग्रेसका तीनै जनाले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनीहरुको चुनाव चिह्न मुढा रहेको छ ।

त्यस्तै ऐँसेलुखर्क गाउँपालिकाको उपाध्यक्षमा चार दलीय गठबन्धनका साझा उम्मेदवार काँग्रेसका राजेशकुमार राजभण्डारी रहेका छन् । त्यहाँ काँग्रेसको गाउँपालिका पार्टी सभापति नै बागी उम्मेदवार बनेपछि गठबन्धनलाई घाटा हुने देखिएको स्थानीयवासीको भनाइ छ । 

दश स्थानीय तह रहेको जिल्लामा अन्य दलका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका नेताहरुले तोकिएको अवधिभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बागीसहित एक हजार २८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा वैशाख ३० गते हुने निर्वाचनबाट ४१५ जनप्रतिनिधि चुनिने छन् । 

चुनावी मैदानमा रहेका राजनीतिक दलका नेताहरू अहिले आ–आफ्नो पक्षमा जनमत जुटाउन चुनावी सभा तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरू केन्द्रीय निर्देशनानुसार चुनावी तालमेल गरेर अगाडि बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप