बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रहरी कार्यालयमा भिडियो कन्फ्रेन्स : चुनावबारे आईजीपीको विशेष निर्देशन

शनिबार, २४ वैशाख २०७९, २२ : १९
शनिबार, २४ वैशाख २०७९

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत शनिबार आयोजित कार्यक्रममा उनले  चुनावबारे मातहतको निकायलाई विशेष निर्देशन दिएका छन् ।  नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्नेमा जोड दिए । 

सिंहले निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।  निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधन स्रोतका बावजुद नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्ने चुनौतीलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा पनि जोड दिए । 

सबै प्रदेशको आ–आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाउँदा सुरक्षा व्यवस्था अझै प्रभावकारी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले विगतमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरूले एकआपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताए ।  

कार्यालय प्रमुखहरुले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक बिफ्रिङ गर्नुको साथै निर्वाचनका समयमा हुन सक्ने सम्भाव्य घटना हुन नदिन कानूनसम्मत कारबाही गर्नुपर्ने उनले बताए । 

प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करी लगायतका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप