मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ  : राजेन्द्र लिङ्देन

शनिबार, २४ वैशाख २०७९, १९ : ३६
शनिबार, २४ वैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे । 

उनले भने, “पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।” लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहमता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे । उनले अबको आफ्नो जिन्दगी इमानदारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उहाँले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । 

राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताइन् । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बनेका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरे ।  त्यसैगरी उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर  जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप