बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा गठबन्धनले धाँधली गर्न खोजेको बादलको आरोप

शनिबार, २४ वैशाख २०७९, १९ : २०
शनिबार, २४ वैशाख २०७९

पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान गठबन्धनले स्थानीय निर्वाचन सार्न खोजिरहेको अवस्थामा एमाले र जनदबाबका कारण सरकार वैशाख ३० मा निर्वाचन गर्न बाध्य भएको बताएका छन् । उनले एमाले र जनदबाबको कारण नै स्थानीय तहको निर्वाचनको समय निश्चित हुन सम्भव भएको बताए ।

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले वर्तमान पाँच दलीय गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको बताए । उपाध्यक्ष थापाले यो गठबन्धनबाट देशको विकास र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार नहुने बताए ।

५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा धाँधली गर्न सक्ने, मतपत्र च्यात्न सक्ने भएकाले एमालेले त्यस्ता क्रियाकलाप रोक्नका लागि विशेष निर्देशन दिएको उपाध्यक्ष थापाले बताए । ‘स्थानीय निर्वाचनमा कसरी धाँधली गर्ने र चुनाव जित्ने भन्ने रणनीतिमा उनीहरू लागेका छन् ।’ उपाध्यक्ष थापाले भने, ‘हामीले उनीहरूको यो षडयन्त्र अहिलेको निर्वाचनमा मतपत्रको कसरी सुरक्षा गर्ने भन्ने विषयमा पार्टीले एउटा विशेष योजना बनाएको छ ।’

पत्रकार सम्मेलनमार्फत नेकपा एमाले चितवनको आयोजनामा आइतबार हुने तय भएको चुनावी सभाको तयारी पूरा भएको जानकारी दिइएको छ । नारायणगढको क्याम्पा चौरमा आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप