सुदूरपश्चिममा केन्द्रित हुँदै ठूला दलका शीर्षनेता
आफ्ना उम्मेदवारहरूका लागि भोट माग्न पछिल्लो समय सुदूरपश्चिमका जिल्लामा ठूला दलका शीर्ष नेता आउने होडबाजी जस्तै भएको छ । यही वैशाख २६ गते डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी आमसभालाई सम्बोधन गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।
उता यही वैशाख २६ गते डोटी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जोरायल गाउँपालिका–४ सिलिङबागमा हुने नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) को संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) का डोटी जिल्ला इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वैशाख २२ गते कैलालीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न आएसँगै अन्य दलका शीर्ष नेताहरू पनि अहिले सुदूरपश्चिम आउने क्रम बढेको हो । यसै सिलसिलामा भोलि अर्थात् २५ गते आइतबार डोटीको जोरायल गाउँपालिका–४ सिलिङबागमा हुने एमालेको चुनावी आमसभालाई सम्बोधन गर्न एमालेका केन्द्रीय नेता लेखराज भट्ट आउने कार्यक्रम तय भएको सो पार्टीका युवानेता चित्रराज भट्टले जानकारी दिए ।
निर्वाचनका बेला मात्रै शीर्ष नेता जिल्ला आउने तथा अरू बेला फर्केर नहेर्ने प्रवृत्तिलाई सकारात्मक रूपमा लिन नसकिने यहाँका स्थानीयवासी बताउँछन् । आफ्ना जिल्लामा पार्टी केन्द्रीय स्तरका शीर्ष नेता आउनु भनेको राम्रो भएको तर विकासका काम लिएर आउनुभन्दा भोट माग्नकै लागि मात्रै आउने प्रवृत्ति राम्रो नभएको केआइसिंह गाउँपालिका–६ सलेनाका स्थानीयवासी जगतबहादुर बलायरले बताए । उनले भने, “जनताका सुखदुःखका विषयमा जानकारी दिनुभन्दा ठूला दलका नेता भोट माग्नकै लागि मात्र आउन थाले यो राम्रो पक्ष होइन, हाम्रा दुःख कस्ले सुन्ने र हेर्ने ।”
आफ्ना चुनावी सभामा सम्बोधन गर्न शीर्ष नेताहरू आउने भएपछि अहिले ती पार्टीका नेता तथा कार्यकर्ताहरू नागरिकलाई चुनावी सभामा ल्याउनका लागि गाउँगाउँमा छिर्न थालेको स्थानीयवासी बताउँछन् । पार्टीका नेता कार्यकर्ताहरु आफ्ना शीर्ष नेता आफ्नो ठाउँमा आउने विषयमा प्रचारप्रसार गरिरहेका छन् ।
शीर्ष नेताहरू जिल्लामा आउने भएपछि यहाँका सुरक्षाकर्मीलाई शीर्ष नेताका सुरक्षा दिनका लागिसमेत समस्या भएको बताइएको छ । “एकतिर निर्वाचनको सुरक्षा अर्को तिर ठूला नेताको सुरक्षा”, एकजना सुरक्षा अधिकारी भने, “कहाँ कहाँ सुरक्षा दिन सक्नु, थोरै जनश्क्ति छ, हामीलाई गाह्रो भएको छ ।” यहाँका पार्टीका नेताले दलहरूबीचको प्रतिस्पर्धा तथा नागरिकमाझ आफ्नो राम्रो छाप पार्नका लागि भए पनि शीर्ष नेताहरू जिल्लामा ल्याउन थालेको कतिपयको बुझाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी