बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गर्न सञ्चार क्षेत्रको योगदान आवश्यक : राष्ट्रपति

शनिबार, २४ वैशाख २०७९, १७ : ५२
शनिबार, २४ वैशाख २०७९

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्याउनुपर्ने बताएकी हुन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा बोल्दै उनले जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम हुने पनि स्पष्ट पारिन् । उनले भनिन्, ‘यसबेला हामी स्थानीय तह निर्वाचनको संघारमा उभिएका छौं । आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनुनै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो । तसर्थ, आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट योगदान पुर्याउनुपर्दछ । जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने काममा सफलता प्राप्त हुने कुरामा मैले विश्वास लिएको छु ।’

समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वर्द्धन गर्दैै लैजाने प्रतिवद्धता पनि दोहोर्याए  ।

मन्त्री कार्कीले भने,  ‘सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँडनका निमित्त तपाईँहरुले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सृजना गर्नुहोस् । त्यसको वर्तमान सरकारले स्वागत गर्दछ । र, सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै होइन, सम्वर्द्धन गर्दै अघि बढ्नेछ ।’ समारोहमा राष्ट्रपति भण्डारीले पत्रकारहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप