शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने सम्भावना

शनिबार, २४ वैशाख २०७९, १६ : ३७
शनिबार, २४ वैशाख २०७९

श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गर्नुभएको जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिँदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लाग्नु भएको उनी निकट स्रोतहरूले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दवाव परेको छ । आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दवाव दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किँदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेका बताइएको छ ।

आन्दोलन चर्किँदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएको बताइएको छ ।

देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महङ्गी र अभाव बढेको थियो । महङ्गी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका थिए । आन्दोलनपछि सरकारले त्यतिबेला पनि सङ्कटकाल लगाएको थियो । आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप