बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा निर्वाचन लक्षित नेपाली सेनाको गस्ती सुरु

शनिबार, २४ वैशाख २०७९, १४ : ०५
शनिबार, २४ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ ।  सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो । जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए ।

उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस्त्र प्रहरी दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने निर्णय भए बमोजिम सेना गस्तीमा निस्केको हो । देशभरमै सबैभन्दा धेरै २० स्थानीय तह रहेको जिल्लामा ५९९ मतदानस्थल रहेका छन् ।

तीमध्ये सुरक्षाका दृष्टिकोणले १०३ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए । उनका अनुसार ती मतदानस्थलमा २०५ मतदान केन्द्र छन् । जिल्लामा १८४ मतदानस्थल संवेदनशील छन् । ती मतदानस्थलमा ३३९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए ।

सुरक्षा निकायले जिल्लाको ३१ मतदानस्थललाई सामान्य सूचीमा राखेको छ । ती मतदानस्थलमा ५५ मतदान केन्द्र रहेका छन् । जिल्लामा प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको गण परिचालन गरिएको छ भने वाग्मतीको कर्मैया र जिल्ला सदरमुकाम मलङ्गवामा पनि सेनानी (मेजर) को कमाण्डमा नेपाली सेना परिचालन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप