सुन्दरीजलका मतदाता : यहीँबाट सहरमा पानी लान्छन्, हामीले चाहिँ जारको किनेर खानुपर्ने ? (भिडियोसहित)
कृष्णबहादुर खड्का : धारामा पानी आउँदैन, हावामात्र आउँछ, पैसा तिरेको तिर्‍यै गर्नुपर्छ ।
रामप्रसाद दंगाल : मेलम्ची आउँछ–आउँछ भने, यहीँबाट काठमाडौंमा पानी लगे तर यहाँ दिएको छैन ।
खड्का : पानीको स्रोत यहीँ भएपनि हाम्रो लागि छोडिएको छैन । पाइप हालेर सिधै काठमाडौं लगेको छ । यहाँ खै त, हप्ताको दुई दिनमात्र पानी आउँछ ।
दंगाल : हाम्रै जग्गा काटेर पाइप हालेर पानी लगेको छ, हामीलाई नै पानी दिएको छैन् ।
खड्का : धारामा हावा मात्र आउँछ पैसामात्र तिर्नु परेको छ । हाम्रै जग्गा चिरेर पानी लिएर गए हामीलाई पानी छैन ।
दंगाल : यहाँकै पानी काठमाडौं जान्छ तर हामीले खान पाएका छैनौँ के भन्ने ?
खड्का : हप्ता दिनमा पनि डेढ, दुई घण्टा मात्र पानी छोड्छ । ढलको पनि उस्तै समस्या छ ।
शुक्रबार दिउँसो काठमाडौंको नयाँपाटी सुन्दरीजलस्थित एक चिया पसलमा त्यहीँका स्थानीयबासी कृष्णबहादुर खड्का र रामप्रसाद दंगालले सो क्षेत्रको समस्या के छ भन्ने प्रश्नका क्रममा भनेका कुरा हुन् यी । सुन्दरीजल काठमाडौं गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्दछ ।
काठमाडौं सहरमा आइपुग्ने पानीको एउटा महत्त्वपूर्ण स्रोत मध्ये बागमतीको मुहानबाट वितरण हुने सुन्दरीजलको पानी हो । सुन्दरीजलमा बागमती र श्यालमती खोलाको पानीको स्रोत मात्र छैन अहिले त मेलम्चीपनि थपिएको छ । दैनिक ३५ करोड लिटर हाराहारी मेलम्चीको पानी संकलन तथा प्रशोधन हुने पानीको भण्डार पनि सुन्दरीजलमै छ । तर त्यहाँका बासिन्दा नै पानीको सुविधा नपाएको गुनासो गरिरहेका छन् ।
उनीहरुले यो गुनासो हामीलाई मात्र नभई स्थानीय तह चुनावका भोट माग्न घर घरमा आउने उम्मेदवारलाई पनि सुनाएका छन् । नेताहरुले यसो गर्छु र उसो गर्छु भनेर भोट माग्ने गरेपनि स्थानीयको समस्या समाधान गर्नतिर नलागेको उनीहरुको गुनासो छ ।
मेलम्ची खानेपानी आयोजनाले सडक विस्तार गर्ने भनेपनि काम सम्पन्न गरिनसकेको उनीहरुले बताए । बस्तीभित्रका भित्री सडकहरुको अवस्थापनि फेरिन नसकेको तर कतैकतै भने नगरपालिकाले पैसा दिएर भित्री केही सडक मर्मत तथा ढल निकासको काम भएको उनीहरुको भनाइ छ ।
यस्तै फोहोर मैला व्यवस्थापन तथा ढल निकास व्यवस्थापन पनि सो क्षेत्रको समस्या रहेको स्थानीयको भनाइ छ । खड्काले भने, ‘ढल निकासको पनि समस्या छ । समयमा फोहोर उठाउने गरेका छैनन् । पानीपनि यताबाट शहरमा लाने र हामीलाई बोतलको पानी खाउ भन्न लागिसके ।’
सुन्दरीजलमै पानी उद्योग खोल्न दिएको तर स्थानीयले जारको पानी खानुपर्ने अवस्था आउन लागेको उनीहरुको गुनासो थियो । सातामा दिन बिराएर पानी आएपनि पहिले पहिले प्रशोधन गरेर पठाउने गरेकोमा अहिले विना प्रशोधन पानी पठाउँदा लेदो आउने गरेको उनीहरुको भनाइ छ ।
सुन्दरीजलकै स्थानीय लक्ष्मी चालिसेले पानीको मुहानमै बसेर पनि पानीको समस्या भोगेको बताइन् ।
उनले भनिन्, ‘पानीको मुलमा बसेरपनि समस्या भोगेका छौँ । बाटो छेउका घरहरुमा पानीको लाइन छ तर यहाँको भित्री बस्तीमा भने पानीको अभाव रहेको छ । यस्तो मुहानमा बसेरपनि हामीलाई पानीको दुःख छ । घर घरमा पानीको धारा होस भन्ने हाम्रो चाहना रहेको छ ।’
अब चुनाव जितेर आउनेहरुलाई खानेपानी र ढल निकासको व्यवस्था गर्न उनको आग्रह छ । बस्ती बढ्दै गएकोले ढलको व्यवस्था भयो भने सहज हुन्थ्यो भन्ने अपेक्षा रहेको उनले बताइन् ।
उनले भनिन्, ‘भोट माग्न आएका दुई तीन समूहलाई, पुराना वडाध्यक्षलाई पनि पनि भनिरहेको छु, हाम्रो यस्तो यस्तो समस्या छ, जितेर आएपछि त्यसलाई सल्टाइदिनुपर्छ भनेर कुराहरु राखेको छु ।’
काठमाडौंबासीका लागि बागमती खोलाको पानी वितरण गर्ने गरिएको छ भने सुन्दरीजल, नयाँपाटीका स्थानीयलाई भने श्यालमती खोलाको पानी वितरण गर्ने गरिएको छ । पानी वितरणको पुरानो प्रणाली, पानी प्रशोधन नहुने, पाइप टुटफुटका कारण चुहावट लगाएका समस्या रहेको स्थानीयको भनाइ छ । सुन्दरीजलमा मेलम्चीको पानी आएपनि त्यसको स्वाद स्थानीयले पाएका छैनन् ।
चालिसेले भनिन्, ‘मान्छे भन्नलाई त आहा सुन्दरीजल भन्छन्, तर हामीलाई चाँही पानीको समस्या नै छ । मेलम्चीको पानी पनि हामीले पाएका छैनौँ । सुन्दरीजलकै पानीपनि भित्री बस्तिहरुमा पुगेको छैन् ।’ उनले पनि धारामा पानी आउँदा पनि लेदो सहितको पानी आउने गरेको गुनासो गरिन् ।
नियमित पानी नआउँदा ड्रममा पानी भरेर राख्नुपर्ने बाध्यता रहेको सुन्दरीजल नयाँपाटीकी अस्मिता तामाङले बताइन् । बागमतीको पानी काठमाडौं शहरमा जाने र स्थानीयलाई श्यालमती खोलाको पानी विना प्रशोधन धारामा पठाउने गरेको उनीहरुको गुनासो छ ।
खानेपानीका साथै ढल निकासको पनि समस्या भएको उनीहरुको गुनासो छ । बस्ति बढ्दै गएकोले ढल निकासको समस्या रहेको र सडक बिस्तार गर्ने क्रममा ढल राख्न माग गरेपनि सुनुवाई नभएको स्थानीय केशव आर्चायले बताए । ढलको व्यवस्था नहुँदा स्थानीय घर घरमा सेफ्टी ट्याङ्कीको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अस्ति सडक पिच गर्दा ढलको पनि व्यवस्था गरौँ, पछि फेरि बाटो भत्काउनुपर्छ अहिले नै गरौं भनेँ तर पिच गरे । पिच गरेको पनि आँखामा छारो हालेको जस्तो छ ।’ उनले २०३५ सालमा बनाएको बाटोमा अझै सुधार हुन नसकेको गुनासो गरे ।
एमालेबाट प्रमुखका उम्मेदवार विष्ट भन्छन्, ‘पानी र ढल निकासलाई मुख्य प्राथमिकता दिन्छु’
खानेपानीको स्रोतमा बसेर पनि पानी खान नपाएको अवस्था भएकोले त्यसलाई आफू निर्वाचित भएमा पहिलो प्राथमिकता दिने एमालेबाट गोकर्णेश्वर नगरपालिका प्रमुखका उम्मेदवार उद्धव विष्टले रातोपाटीलाई बताए ।
उनले भने, ‘खानेपानीका लागि जुनसुकै मूल्य चुकाएर भएपनि सबै घरमा पानी आउने धाराको व्यवस्था गर्नेछौँ । माथिका अरु स्रोतहरुलाई समेत मिलाएर मेलम्ची तथा सुन्दरीजलको पानीको धारा छुटेको ठाउँमा पनि व्यवस्था गर्नेछौँ । धारा छुटेको ठाउँमा मेलम्ची खानेपानी आयोजना र केयूकेयलसँग समन्वय गरेर यहाँका बासिन्दाले नियमति रुपमा दैनिक पानी पाउने व्यवस्था गर्नेछु ।’
उनले थोरै बस्ती भएका बेला ढल हालेको र अहिले बस्ती बढेका कारण ओभर फ्लो भएकोले त्यसलाई परिवर्तन गरेर दीर्घकालीन रुपमा हुनेगरी नयाँ प्रणालीको विकास गर्ने विष्टले बताए । उनले भने–‘अब २५–३० बर्षसम्म परिवर्तन गर्न नपर्नेगरी ढल प्रणालीको विकास गर्नेछौँ ।’
काठमाडौंलाई मेलम्ची आएकोले सुन्दरीजलको सबै पानी गोकर्णेश्वर बासीलाई दिन्छौँ : काँग्रेसका उम्मेदवार रिसाल
गोकर्णेश्वर नगरपालिका प्रमुखका लागि काँग्रेसका उम्मेदवार दीपक कुमार रिसालले सुन्दरीजलबाट काठमाडौंमा वितरण गरिएको पानी स्थानीयलाई २४ सै घण्टा वितरण गरिने बताए । आठ–दश करोडको योजनामा बालुवा भन्ने ठाउँ माथिको क्षेत्रको लागि पानी पुगिरहेको र गोकर्णेश्वरमा अन्य क्षेत्रमा केही समस्या रहेको बताए ।
उनले भने–‘अब हामी केयुकेयलाई के भन्छौँ भने, मेलम्चीको पानी महाँकाल वितरण केन्द्रबाट काठमाडौबासीलाई वितरण गर्नुस्, अब सुन्दरीजलको पानी यहाँका जनताका लागि दिनुस् भनेर डेलिगेसन पनि गरेका छौँ । त्यो काम अब हुन्छ । सुन्दरीजलको पानी गोकर्णेश्वरको ८ वटा वडालाई छोएर महानगरपालिकामा गएको छ । हाम्रो क्षेत्रको पानीमा हाम्रो अधिकार भनेको कुरालाई केयूकेयलले पनि हुन्छ भनेको छ ।’
रिसालले वडा नंबर १ देखि ४ सम्म खानेपानीको ठूलो समस्या नभएपनि जोरपाटीको वडा नंबर ५ देखि ९ सम्म विकराल समस्या रहेको बताए । ती क्षेत्रमा पानी अभाव भएपछि दुई तीन करोड रुपैयाँका डिप बोरिङ आयोजना समेत चलाइएको उनले बताए । उनले मेलम्ची आइसकेकोले स्थानीय पानी स्थानीय स्तरमै वितरण गर्ने उनले बताए ।
उनले ढल निकास व्यवस्थापनका लागि नयाँ घर बनाउँदा अनिवार्य सेफ्टी ट्याङ्की बनाउन लगाउने अन्यथा नक्सा पास नगर्ने व्यवस्था गर्ने बताए । सुन्दरीजल, बालुवा, नयाँपाटी लगायत नयाँ बस्ती बढिरहेको क्षेत्रमा सेफ्टी ट्याङ्की अनिवार्य गर्ने बताए । फेरी नयाँ ढल प्रणाली बनाएर बागमतीमा मिसाउने हो भने त्यसले प्रदूषण बढाउने भएको सेफ्टी ट्याङ्की भरपर्दो उपाय भएको उल्लेख गरे । उनले जग्गा प्लटिङ रोक्न कसैले तरकारी खेतीका लागि जग्गा भाडामा दिन्छ भने त्यसका लागि कर नलिने बताए ।
कुन दलबाट को–को छन् गोकर्णेश्वरमा उम्मेदवार ?
यो नगरपालिकामा नगर प्रमुखका लागि १० जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उद्धव विष्ट, काँग्रेसबाट दिपक कुमार रिसाल, नेकपा एकीकृत समाजवादीबाट गोपाल प्रसाद बराल, राप्रपाबाट कुमार घिमिरे, मंगल नेशनल अर्गनाइजेशनबाट बुद्धिमान थिङ नगरप्रमुखमा उठेका छन् । यस्तै आमुल परिवर्तन मसिहा पार्टीबाट ओम कुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण दुवाल, स्वतन्त्रबाट कुल प्रसाद गौतम, विनय सिंखडा, र श्रीकृष्ण बरालले नगर प्रमुखका लागि उम्मेदवारी दिएका छन् ।
यस्तै उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । एमालेबाट सान्नानी लामा, काँग्रेसबाट शान्ति नेपाल, माओवादी केन्द्रबाट पेमा छिरि शेर्पा, राप्रपाबाट शर्मिला थापा, आमुल परिवर्तन मसिहा पार्टीबाट मुरली गिरीको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुखका लागि लक्ष्मी पुडासैनी लामिछाने स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
यहाँ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्र चुनावी तालमेल गरेका छन् । समाजवादीको तर्फबाट मेयर र माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार उठाइएको छ ।
दलहरुले गोकर्णेश्वरमा चुनाव प्रचारका लागि घरदैलो कार्यक्रमलाई अन्तिमतिर पु-याएका छन् । एमालेले तारेभिर, ओख्रेनी, बालुवा लगायतका क्षेत्रमा घरदैलो गरिसकेको छ भने अब जोरपाटी नयाँ बस्ती लगायतका क्षेत्रमा घरदैलो गर्न बाँकी छ । अब ३ वटा वडामा मात्र घरदैलो गर्न बाँकी रहेको एमाले मेयरमा उम्मेदवार विष्टले बताए ।
यता काँग्रेसले पनि घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु-याएको छ । शुक्रबार काँग्रेसले सुन्दरीजल माथिको ओख्रेनी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । अब केही वडामा मात्र घरदैलो गर्न बाँकी रहेको काँग्रेसले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका नेता सन्तोष चालिसे यो नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । अहिलेको चुनावमा भने काँग्रेस, एमाले तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी २ दलको गठबन्धन गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक