बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जोनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दामा विश्वभरीको यति विघ्न चासो किन ?

शनिबार, २४ वैशाख २०७९, १० : २०
शनिबार, २४ वैशाख २०७९

यदि तपाईं हलिउड चलचित्रहरूमा रुचि राख्नुहुन्छ भने, तपाईं पाइरेट्स अफ द क्यारेबियन फिल्म र अभिनेता जोनी डेपले अभिनय गरेको श्रृंखलाको बारेमा त अवगत नै हुनुहुन्छ होला । उनी तीन पटक ओस्कार अवार्डका लागि मनोनीत भइसकेका छन् र गोल्डेन ग्लोब अवार्ड पनि आफ्नो पोल्टोमा पारिसकेका छन् ।

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालती मुद्दा अहिले चर्चामा छ ।

कुरो के हो ?

५८ वर्षीय जोनी डेपले आफ्नी पूर्व पत्नी तथा अभिनेत्री एम्बर हर्डविरुद्ध मुद्दा हालेका छन् । वास्तवमा, सन् २०१८ मा, एम्बरले वाशिंगटन पोस्ट पत्रिकामा एउटा लामो लेख लेखेर आफू घरेलु हिंसाको शिकार भएको बताएकी थिइन् । यद्यपि, उनले यसमा कसैको नाम भने लिएकी थिइनन् । तर जोनी डेपले यो लेखले आफ्नो बदनामी गराएको र यसले उनको करियरलाई असर गरेको बताए । यसपछि जोनी डेपले आफ्नी पूर्व पत्नीविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका थिए जसको बदलामा एम्बरले पनि १० करोड डलरको मुद्दा दायर गरेकी थिइन् ।

अहिले यो मुद्दाको सुनुवाइ चलिरहेको छ । यसअघि पनि सन् २०१६ मा एम्बर हर्डले जोनी डेपमाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

जोनी डेप–एम्बर हर्डको विवाहः

यी दुईको भेट सन् २०११ मा हलिउड फिल्म ‘द रम डायरी’ को सेटमा भएको थियो जसको छायांकन पोर्टो रिकोमा भएको थियो । केही वर्षपछि उनीहरुको पुनः फिल्मको प्रचारका क्रममा भेट भयो र त्यहीँबाट उनीहरुको सम्बन्ध सुरु भयो । दुबैले सन् २०१२ बाट डेट गर्न थाले र सन् २०१५ मा विवाह गरेका थिए ।

सम्बन्ध बिच्छेद

विवाहको १५ महिनापछि दुवैले आफ्नो सम्बन्ध टुटेको बताए । एम्बर हर्डले सम्बन्धविच्छेदको लागि निवेदन दिइन् र अनुहारमा निलडाम देखाउँदै जोनी डेपविरुद्ध प्रतिबन्ध आदेश दायर गरेकी थिइन् । सम्बन्धविच्छेदपछि जोनी डेपले एम्बरलाई ७ मिलियन डलर दिए जसमा एम्बरले आफू यो रकम दान गर्न चाहेको बताएकी थिइन् । तर, जोनी डेपको टोलीले उनको यो दाबीमाथि प्रश्न उठाइरहेको छ ।

आरोप के हो ?

बयानको क्रममा एम्बर हर्डको आरोप–

‘मेरो लागि हिंसाको सिलसिला सन् २०१२ मा सुरु भयो । २०१२ मा, जोनी डेपले मलाई पहिलो पटक आक्रमण गरे जब म उनको हातमा ट्याटु देखेर हाँसेकी थिएँ । उनले अभिनेत्री विनोना राइडरको नामको ट्याटु आफ्नो पाखुरामा खोपेका थिए जोसँग उनको पहिले सम्बन्ध थियो । उनले मसँग ठट्टा गरेका होलान् भनेर म हासेकी थिएँ तर उनले मलाई थप्पड हाने ।

जोनी डेप एक यस्तो व्यक्ति हुन् जसले असाध्यै सद्भावनाको साथ व्यवहार गर्छन् तर रक्सी र ड्रग्सको प्रभाव पछि उनी अत्यधिक रिसाउँछन् । उनले मेरो अरु कोहीसँग सम्बन्ध छ भन्ने शंका पनि गरे ।

जोनी डेपले आफ्नो कोकेन र रक्सीको लत लत लुकाउने प्रयास गरे । उनले मलाई कुट्थे र त्यसपछि गायब हुन्थे । फर्केर आएपछि उनले मसँग  असाध्यै प्रेमपूर्वक कुरा गर्दथे र सबैकुरा ठिक हुन्छ भनेर माफी माग्थे । सन् २०१३ आउँदा आउँदै म आफूलाई विभाजित महसुुस गर्थेँ । म जोनीलाई असाध्यै प्रेम गर्दथे तर उनी मेरो जीवनको निकै खराब हिस्सा पनि हुन् । ’

आफ्नो बयानको क्रममा एम्बरले एउटा घटनाको बारेमा बताइन् । त्यतिबेला उनी र जोनी छुट्टी मनाउन गएका थिए । उनले भनिन्, ‘अचानक एउटी महिला आइन्, मतिर झुकेर मेरो काँधमा टाउको राखिन् । मलाई लाग्यो उनी रक्सीको नशामा थिइन् । यसपछि जोनी रिसाए र कराउन थाले  । महिलासँग बेस्सरी झगडा गरे । जब हामी फर्कियौं, जोनीले ड्रग्स खोज्न थाले र मेरो अन्डरवियर पनि च्यातिदिए ।’

(जोनी डेपले कुटपिटको आरोप अस्वीकार गर्दै आएका छन् । )

बयानका क्रममा जोनी डेपको आरोप

‘यस्तो लाग्छ कि एम्बर हर्डलाई हिंसा र झगडाको बानी र आवश्यकता थियो । एम्बरले प्रायः मविरुद्ध अपमानजनक, दुव्र्यवहार, हिंस्रक शब्दहरू  प्रयोग गर्थिन् । कहिले काँही कुरा थप्पडसम्म पुग्थ्यो र कहिलेकाँही उनले मेरो टाउको टिभीको रिमोटले हान्ने गर्थिन् त कहिले अनुहारमा वाइनको गिलास फ्याँकिदिने गर्थिन् । यदि मैले कसैलाई नराम्रो व्यवहार गरेको छु भने त्यो मैले आफैँमाथि गरिरहेको हुन्छु । एक पटक म ओछ्यानबाट उठ्दा मैले मेरो छेउमा एउटा अनौठो चीज भेट्टाएँ, जुन मानव मल थियो ।’

(सन् २०१८ मा यूकेमा चलेको एउटा मुद्दामा एम्बर हर्डले यो आरोप अस्वीकार गरिसकेकी छिन् ।)

जोनी डेपका वकिलहरू भन्छन् कि आक्रामकता र आक्रोश एम्बरबाट आएको हो र उनले आफ्नो करियरलाई अघि बढाउन पीडित भएको नाटक गरिरहेकी छिन् ।

जोनी डेपको ड्रग केस

मुद्दाको सुनुवाइका क्रममा जोनी डेपले पिठ्यूँमा लागेको चोटका लागि औषधी खाँदा उनलाई दिइने ओपियोइड्सको लत लागेको बताए । उनले आरोप लगाए – आफूले लागूपदार्थको लत छोड्ने प्रयास गर्दै गर्दा एम्बर हर्डले उनलाई औषधि लिन अनुमति दिइनन् जसले उनलाई ‘विड्रल सिम्पटम’ सँग जुध्न मद्दत गर्न सक्थ्यो ।

मुद्दासँग सम्बन्धित अन्य तथ्य र गवाहीः

सन् २०१३ मा जोनी डेपले बेलायती अभिनेतालाई पठाएको टेक्स्ट म्यासेजमाथि पनि अदालतमा सुनुवाइ भएको थियो । उक्त मेसेज उनले बेलायती अभिनेतालाई पठाएका थिए – उनको अनुहार जलाउनेछौँ, जलाउनुअघि नै डुबाइदिनेछौँ । जब जोनी डेपलाई अदालतमा यस मेसेज बारे सोधियो, उनले यो फिल्म मोन्टी पथिनसँग सम्बन्धित भएको बताए,  जसमा बोक्सीहरूलाई जलाउने र डुबाउने बारेमा कुरा गरिएको थियो । उनले १० वर्षको उमेरदेखि नै यो चलचित्र हेर्दै आएको र यो ठट्टा मात्र भएको बताए ।

जूरीमा रहेकाहरूले जोनी डेप र एम्बर बीचको अडियो रेकर्डिङ पनि सुने, जसमा जोनी डेपले अपमानजनक भाषा प्रयोग गरेको सुन्न सकिन्छ । एक बिन्दुमा एम्बर हर्डले जोनी डेपमाथि  चिच्याउँछिन् र जोनी डेपले एम्बरलाई उनको तौलको बारेमा अपमानजनक कुराहरू भनेको सुन्न सकिन्छ ।

जूरीले पूर्व दम्पतीका चिकित्सकहरूबाट बयान पनि सुने । उनीहरुले जोनी र एम्बरले एकअर्कालाई दुव्र्यवहार गरिरहेको बताएका थिए । जोनी डेपको उपचार गर्ने मेडिकल स्टाफले पनि उनी लागूऔषधको लत छोड्ने प्रयास गरिरहेको बयान दिएका थिए ।

मनोवैज्ञानिकको बयान – एक फोरेन्सिक मनोवैज्ञानिकले एम्बर हर्डको टोलीको तर्फबाट बयान दिएका छन् । उनीहरुले  एम्बरमाथि घरेलु हिंसा भएको आफूलाई विश्वास भएको बताएका थिए । जबकी जोनी डेपले बोलाएका मनोवैज्ञानिकले एम्बरलाई दुई प्रकारका पर्सनालिटी डिसअर्डर भएको बताएका थिए ।

लाइभ ट्राइलः

यस मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण भइरहेको छ र यसमा एलन मस्क र अभिनेता जेम्स फ्रान्कोसहित धेरै उच्च प्रोफाइल व्यक्तिहरूले बयान दिनेछन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप