कसरी बन्यो सर्वाधिक भाषामा प्रकाशन हुने एकमात्र पत्रिका गोरखापत्र ?
शिखर मोहन
३८ भाषामा समाचार पस्किने गोरखापत्र सम्भवतः विश्वकै एकमात्र पत्रिका हो । गोरखापत्र आज शनिबारबाट १२२औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा पत्रकारिताको जग विसं १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशनपछि सुरु भएको देखिन्छ । सुधारवादी भनेर चिनिएका श्री ३ देवशमशेरले सुरु गरेको यो पत्रिकाले यस अवधिमा सूचना मात्र प्रवाह मात्र गरेन नेपालको इतिहास, भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन र अभिलेखीकरण समेत गर्दै आएको छ ।
राणाकालीन समयमा स्थापना भएको गोरखापत्रले पञ्चायत, बहुदलीय व्यवस्था, गणतन्त्र जस्ता शासकीय प्रणाली भोग्दै र आफू परिष्कृत हुँदै आएको छ । यस क्रममा माओवादी आन्दोलन र त्यसले ल्याएको परिवर्तनबाट पनि यो अछुतो रहन सकेन । यो आन्दोलनले जातीय तथा भौगोलिक रूपमा पछाडि परेका जातजातिका हकअधिकारको आवाजहरू उठायो । प्रत्येक जातजातिहरू आफ्नो भाषा, संस्कृतिबारे सजग र सचेत हुँदै गए । हेपिएका र पछिपरेका जातजाति र भाषाभाषीलाई राज्यको मूलधारमा ल्याउने क्रममा गोरखापत्रले विसं २०६४ असोज १ गतेबाट विभिन्न राष्ट्र भाषामा नयाँ नेपाल बहुभाषिक पृष्ठ प्रकाशन सुरु गर्यो । पाँच भाषाबाट सुरु गरेको यसले अहिले यसले ३८ भाषाका सामग्री निरन्तर प्रकाशन गर्दै आएको छ । गोरखापत्रमा नयाँ नेपाल पृष्ठबारे यस क्षेत्रका सरोकारवालाहरूको विचार उनीहरूकै शब्दमा ः
मातृभाषा संरक्षणमा महत्त्वपूर्ण योगदान
भाषाविद् माधव पोखरेल
मैले ६९ वटा मातृभाषाका वर्ण निर्धारण गरेको छु । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा प्रकाशन हुने धेरैजसो भाषामा मैले निर्धारण गरेको शैली नै प्रयोग भएका छन् । नयाँ नेपाल पृष्ठमा नेपालका भाषाहरूलाई त्यहाँ स्थान दिएर ती भाषाको अभिलेखनमा निकै ठूलो सघाउ पुगेको छ । यसमा आफ्नो भाषा संस्कृतिप्रति चेतनाको कमी भएका कतिपय मातृभाषीहरूले नै पनि विरोध गरिरहेका छन् । तर धेरै मातृभाषीहरूलाई उत्साह बढाएको छ । किनभने ती पृष्ठका लागि लेख्नैपर्ने हुन्छ । त्यसका लागि थुप्रै लेखन सामग्रीको विकास भइरहेको छ ।
अलिखित अवस्थामा रहेको भाषालाई लिखितमा ल्याउन थोरै समयमा सामग्री जुटाउन धेरै गाह्रो काम हो । यस क्रममा कहिल्यै प्रयोग नभएका कतिपय नयाँ शब्दहरू त्यो भाषामा हाल्नुपर्छ । आफ्नो भाषा पढ्न सक्नेले नयाँ नेपाल पृष्ठ पढ्न पाउँदा खुसी हुन्छन् । पढ्न धेरै नसक्ने तर आफ्नो भाषा पनि त्यसमा आउँदैछ भन्दा खुसी मान्ने मान्छे ती समुदायमा धेरै छन् । तर हामीले पनि नबुझ्ने त्यस्तो पनि भाषा हुन्छ ? भनेर त्यो मातृभाषी समुदायकै केही व्यक्तिले पनि विरोध गरेको पनि भेटिन्छ ।
जे जस्तो आरोप आए पनि गोरखापत्रको नयाँ नेपाल पृष्ठहरुले मातृभाषा अनुसन्धानमा निकै ठूलो योगदान गरेको छ । ती बेग्लाबेग्लै मातृभाषामा केही लेखिँदै आएका छन् । केही न केही लेखन सामग्री तयार गरिरहेको छ, लेखिएका जति वर्णहरू छन्, तिनको प्रयोग बढ्न थालेको छ । मैले ६९ भाषाका वर्णहरू निर्धारण गरेँ तर तिनको प्रयोग भएनन् भने त बिर्सिन्छ । ती वर्णको प्रयोग पनि निरन्तर भइरहेको छ । प्रयोग भएको वर्णमा केही कमी छ भने पनि थाहा हुन्छ, त्यसमा परिष्कार गर्न सकिन्छ । यसरी नजानिँदो किसिमले एकातिर मातृभाषाको विकास भइरहेको छ ।
अर्कोतिर त्यो प्रयोग गर्नेले पनि लेख्छ, प्रस्तुत गर्छ । लेख रचना तयार गर्नेले पनि दुई तीन हप्तासम्म निकै ठूलो मिहिनेत गर्छ र सामग्री तयार पार्छ । तर जस पाउँदैन । त्यसरी दोहोरो मारमा मातृभाषी लेखकहरू पर्छन् । गोरखापत्र अहिले अनलाइन संस्करणमा पनि आएको हुँदा नेपालका मातृभाषाको विकास र विस्तार अन्तर्राष्ट्रिय स्तरमा समेत हुँदैछ ।
भाषा–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यः
ओम शर्मा, पूर्वकार्यकारी अध्यक्ष, गोरखापत्र
गोरखापत्र नेपाली पत्रपत्रिकाको विश्वविद्यालय भएकाले नेपालमा भएका परिवर्तनअनुसार यसलाई पनि परिवर्तन गर्नुपर्छ भनेर यो अभियान सुरु गरिएको हो । यो कार्यबाट लोप हुन लागेका धेरै भाषाहरूलाई केही मात्रामा जगेर्ना गर्न सकिन्छ । तर यसलाई जसरी अगाडि बढाउन सकिन्थ्यो, त्यसरी अझै गर्न सकिएको अवस्था छैन । मातृभाषाको जगेर्नासाथै गोरखापत्रको व्यापारमा पनि वृद्धि हुन्छ भन्ने उद्देश्य पनि थियो ।
हाम्रो देश नै बहुभाषिक, बहुसांस्कृतिक भएको हुनाले यी भाषा, संस्कृतिको जगेर्ना गर्नुपर्छ । यो कार्यले सबै जातजाति भाषाभाषीलाई एउटै झन्डामुनि गोलबद्ध गर्न सकिन्छ भन्ने उद्देश्यले बहुभाषिक पृष्ठ सुरु गरेका थियौँ । मातृभाषा बलियो भयो भने मात्र राष्ट्रिय भाषा बलियो हुन्छ भनेर गरेको सानो प्रयास हो यो । यो कार्यका लागि विशेष गरी माणिकलाल श्रेष्ठले झकझक्याइ रहनुभयो । उहाँकै प्रेरणा र प्रोत्साहनले यसको सुरुवात गरिएको थियो ।
बहुभाषिक पृष्ठ प्रकाशन सुरु गर्दाताका आर्थिक सहायता कतैबाट पाइएको थिएन । यस क्षेत्रमा लागेका साथीहरूको सहयोगबाटै सुरु गरिएको हो । त्यतिबेला लेख, रचनाबापत पारिश्रमिक दिने व्यवस्था गर्न पनि सकिएन । संयोजकहरूलाई आफैँ तयार गर्न भन्यौँ ।
भाषिक दृष्टिले गोरखापत्र चार जात छत्तीस वर्णको फूलबारी जस्तो भएको छ । यही भएर आदिवासी, जनजाति, मधेसी, पिछडा वर्गका भाषालाई पनि महत्त्व दिएको छ । यो कार्य राज्य मातहतको संस्थाले गर्नुपथ्र्यो, हामीले त्यो कार्यको थालनी गर्यौँ । यसमा खुशी लागेको छ । यसले निरन्तरता पाउनु पर्छ ।
५ भाषामा सुरु भई हाल ३८ भाषामा प्रकाशित
कुमार विवेकानन्द मिश्र, नयाँ नेपाल पृष्ठ संयोजक
२०६४ असोजमा प्रकाशन सुरु हुँदा पाँचवटा भाषामा प्रकाशित भएको थियो । भाषाको सङ्ख्या बढेर अहिले ३८ पुगेको छ । पहिले पहिले दैनिक दुईवटा भाषाको सामग्री प्रकाशित हुने गथ्र्यो । कोरोना महामारीका कारण दैनिक १ पेज मात्र प्रकाशित भयो । अहिले सकेसम्म दुई पेज नै प्रकाशित हुँदै आएको छ । यसले अधिकतम भाषाभाषीलाई समेट्ने प्रयास गर्दैछ ।
पारिश्रमिकका सम्बन्धमा ती भाषाभाषी पृष्ठका हरेक संयोजकलाई प्रतिपेज एकमुष्ट नौ हजार रुपियाँ प्रदान गरिँदै आएको छ । यसबाट संयोजकले नै लेख रचना लेखकलाई पनि दिने गरेका छन् । प्रकाशनका क्रममा कहिलेकाहीँ सामान्य समस्या पनि आउँछ । एउटा त सम्बन्धित भाषाको सामग्री तयार गर्नमै हुन्छ भने लिपिका कारण पनि छपाइमा समस्या हुने गरेको देखिएको छ ।
नयाँ नेपाल प्रकाशनका लागि आर्थिक तथा भौतिक स्रोत साधनको पनि समस्या छ । कुनै भाषामा प्रकाशन भयो तर त्यो पत्रिका सम्बन्धित समुदायसम्म पुर्याउन नसकिएको अवस्था पनि छ । १४, १५ वर्ष भइसक्दा पनि कतिलाई उनीहरूको भाषामा पत्रिका निस्किन्छ भन्ने पनि थाहा छैन ।
देश अहिले सङ्घीय संरचनामा गएको छ । सोअनुसार गोरखापत्रका दुई ठाउँमा प्रकाशन कार्यालय स्थापना भइसकेका छन् । त्यहाँबाट सम्बन्धित भाषाका पृष्ठहरू प्रकाशन गर्न कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । ३८ भाषाका अतिरिक्त थप केही भाषामा प्रकाशन गर्नका लागि निवेदनहरू आएका छन् । त्यो अहिले विचाराधीन अवस्थामा छ ।
यसका अतिरिक्त नयाँ नेपाल पृष्ठलाई अझ प्रभावकारी बनाउन कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा एउटा समिति पनि बनेको छ । त्यसमा भाषा आयोगका प्रतिनिधि, सञ्चार मन्त्रालयका प्रतिनिधि लगायतको प्रतिनिधित्व छ । यसले नयाँ नेपाल पृष्ठलाई कसरी राम्रो बनाउने, अधिक भाषाहरूलाई कसरी समावेश गराउने, अब कुन रूपमा अगाडि बढाउने भनेर अध्ययन गरिरहेको अवस्था छ ।
दक्षिण एसियामै सबैभन्दा पुरानो पत्रिकाका रूपमा चिनिएको गोरखापत्रलेले आरम्भदेखि अहिलेसम्म विभिन्न आरोह अवरोह पार गर्दै आएको छ । आरम्भमा प्रत्येक हप्ताको सोमबार प्रकाशित हुने गरेकोमा १९९१ वैशाख ९ देखि हरेक शुक्रबार प्रकाशन गर्न थालेको थियो । यसैगरी १९९८ भदौ १७ मा उदयाङ्क पहिलो विशेषाङ्क प्रकाशन, विसं २००० असोज २९ गतेदेखि हरेक साता मङ्गलबार र शुक्रबार गरी दुई पटक, २००३ पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भयो ।
त्यस्तै २०१७ फागुन ७ बाट गोरखापत्र दैनिक रुपमा प्रकाशन हुँदै आएको छ । यसले २०१९ असार ९ देखि शनिबारीय परिशिष्टाङ्क पनि प्रकाशित गर्दै आएको छ । २०१९ कात्तिक २ देखि २०२२ असोज २२ गतेसम्म बिहान र साँझ गरी दिनमा दुई पटक प्रकाशन पनि गरेको थियो । २०४५ भदौ महिनादेखि चार पेजको अतिरिक्त अङ्क रमाइलो शुक्रबार प्रकाशन आरम्भ गरेको थियो । यो अतिरिक्ताङ्क बेला बेला प्रकाशन हुँदै बन्द हुँदै आएको गोरखापत्रले २०५७ वैशाख २४ गतेको प्रकाशनसँगै एक शताब्दी पार गरेको थियो ।
यसै गरी नेपाली फोटो पत्रकारिताको जगतमा पनि यस पत्रिकाले इतिहास रचेको छ । १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो काटिरहेको तस्बिर गोरखापत्रमै पहिलो पटक प्रकाशित भयो । यही दिनको स्मरण गर्दै पत्रकारिता दिवस पनि मनाइँदै आएको छ । यो पत्रिका प्रकाशनको पहिलो दिनको सम्झनामा स्वरूप २०७२ सालबाट राष्ट्रिय पत्रकारिता दिवस पनि मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ