पुस्तक समीक्षा

उपन्यास जस्तो आत्मकथा : मेरी उनी र म

person explore access_timeबैशाख २४, २०७९ chat_bubble_outline0

 रामप्रसाद कोइरालाद्वारा लिखित ‘मेरी उनी र म’ नामक पुस्तक हालै सार्वजनिक भएको छ । लेखकको आफ्नै हजुरआमा कुविजादेवी कोइरालाको विचारलाई युनिसेफको कार्यक्षेत्रसित समन्वय गरी पुस्तक लेखिएको छ । मैले रामप्रसाद कोइलालाई चिनेको ४० को दशकको उत्तरार्धदेखि नै हो । उहाँका ससुराबाबा पूर्वसचिव स्व. विनोप्रसाद धिताल मेरा सर्वाधिक हितैषीमा पर्नुहुन्छ । म आफू जहाँ छु, उहाँकै कारण सम्भव भएको हो भन्न गर्व लाग्छ अहिले पनि मलाई । रातदिन मन, वचन र कर्मद्वारा कसैको हित चाहने कोही हुन्छन् भने भगवान् नै हुन्छन् भन्ने सुनेको छु गुरुहरूबाट । यसमा अलिकति पनि सत्यता छ भने उहाँ पनि भगवान्भन्दा कम हुनुहुन्न मेरा निम्ति । उहाँमार्फत् नै चिनजान भएको हो मेरो राम दाइसँग तर जतिबेलादेखि चिनजान भयो, त्यतिबेलादेखि घनिष्ठ मित्र जस्तै हुन पुगेका छौँ हामी दुई भाइ ।  


राम दाइले आपूmले हजुरआमाबाट पाएको स्नेह र मार्गदर्शनले अहिलेसम्म पनि पछ्याउँदै आएकाले उहाँको सम्झनामा केही लेख्ने विचार गरेको छु भन्नुभएको थियो केही वर्ष अघिको एउटा भेटमा । त्यतिबेला उहाँको कुरा सुन्दा मन रसाएको मात्र थिएन, तत्कालीन झण्डै औँठा छापे गृहिणीको विचारलाई युनिसेफ जस्तो विश्वसंस्थाले समेत पछ्याउँदै आएको पाउँदा आश्चर्य चकितसमेत भएको थिएँ । ओहो ! दाइ ! यस्तो कुरा त सबैले थाहा पाउनुपर्छ भनेर बिट मारेका थियौँ, त्यस दिनको सङ्क्षिप्त भेटलाई हामीले । त्यसपछि बेलाबेलामा म्यासेन्जरमा कुराकानी भए पनि लेखाइबारे खासै कुरा भएन । उहाँले पनि भन्नुभएन, आफूले कोट्याउन उपयुक्त ठानिन । झण्डै बिस्मृतिमै पुगिसकेका थिएँ । पुस्तक प्रकाशित भएको देख्दा खुसी लाग्यो, राम दाइ त्यत्तिकै बस्नुभएको रहेनछ ।



यतिबेला रामायणका जबरजस्त पात्र कुम्भकर्णको सम्झना भइरहेछ मलाई । रामायणका प्रमुख खलपात्र दाजु रावणजस्तै उनी पनि खलपात्रकै रूपमा चिनिएका छन् समाजमा । त्यसैले हुनुपर्छ, रावण र कुम्भकर्णको नामसम्म कसैले राखेका छैनन् अहिलेसम्म पनि । रामबहादुर र लक्ष्मणप्रसाद नाम लेख्ने धेरै छन् तर रावणबहादुर र कुम्भकर्णप्रसाद लेख्ने कोही छैनन् । बरू कसैलाई गाली गर्नुृपर्यो वा खराब व्यक्तिसँग तुलनामा गर्नुपर्यो भने चाहिँ उनीहरूका नाम आउने गर्छ । इतिहास पनि जित्नेकै पछि लाग्दो रहेछ क्यारे सायद । यदि रामको सट्टा रावणले जितेका भए पक्कै इतिहास यसरी लेखिँदैनथ्यो होला । जे होस् कुम्भकर्ण आफैँमा खलपात्र चाहिँ होइनन् र हामीले सुन्दै आएजस्तो सुताहा पनि होइनन् । बरू त्यस्ता अथक साधक र आदिम वैज्ञानिक हुन्, जसले विमान र वायुयानका साथै आग्नेयास्त्र, वायेव्यास्त्र र पर्जन्यास्त्रजस्ता हातहतियार आविष्कार गरेर वैदिक सनातन संस्कृतिलाई ज्ञान र विज्ञानले समन्वित गराएका थिए ।



दाजु रावण उनलाई भित्रभित्रै अनकन्टार स्थानमा राखेर वैज्ञानिक उपकरण आविष्कार लगाउँथे तर बाहिरफेर भने गोपनीयता भङ्ग नहोस् भनेर छ महिनासम्म सुत्छ भन्ने हल्ला फिँजाउँथे । त्यसैको छाप परेकाले समाजमा अहिलेसम्म पनि धेरै सुत्ने व्यक्तिको नाम लिनुपर्यो भने उनको नाम लिने गरिएको छ । वास्तवमा उनी न अल्छी थिए, न सुताहा नै । उनी त ज्ञान र विज्ञानको त्यस्ता आविष्कारक थिए, जसको उपयोग रामायणकै युद्धमा भएको थियो ।

साहित्य साधनामा रामदाइको अवस्था पनि त्यस्तै अनुभूत गरेको छु मैले । सोचेको थिएँ पुस्तक लेख्नेबारे उहाँले कुरा मात्र गर्नुभएको होला, कुशल प्राविधिक बनेर विश्वसंस्था हाँक्ने मानिसबाट पुस्तक लेखनजस्तो झन्झटिलो काम कसरी सम्भव होला र ? तर उहाँले लेखेको पुस्तक ‘मेरी उनी र म’ पढेपछि पो थाहा पाएँ, रामदाइ प्राकृतिक स्रोतसाधन सम्पन्न अन्तर्राष्ट्रिय संस्थाको जानेमाने विशेषज्ञ मात्र नभएर साहित्य लेखनको कुशल हस्ती पनि हुनुहुँदो रहेछ ।

उहाँको यस पुस्तकमा आन्मवृत्तान्तसँगै परमात्मा वृतान्त पनि छ । त्योभन्दा बढी समग्र मानव जातिको जीवनवृत्तान्त जस्तो लाग्यो मलाई । पुस्तकको भाषा र शैली जति रोचक छ, अनि छ विषयवस्तुको गुम्फन त्यस्तै छ । र, त पढ्न सुरू गरेपछि नसकी रोक्ने ठाउँ भेटिन्न कतै पनि । प्रसङ्गहरू एकपछि अर्को आफैँ यसरी तानिँदै आउँछन् कि अब के होला भन्ने उत्सुकता जागिरहन्छ अन्तिमसम्म नै ।

पुस्तकमा महाभारतका जबरजस्त पात्र कुन्ती र कर्णको जीवनगाथासित मेल खाने प्रसङ्ग पनि भेटिन्छ । आमा–छोरा कुन्ती र कर्णको सम्बन्ध त्यति सुखद थिएन भन्ने कुरा पाठकहरू अनभिज्ञ हुनुहुन्न । आफैँले जन्माएको छोरालाई न कुन्तीले आफ्नो छोरा भन्न सकेकी थिइन्, न कर्णले नै मेरी आमा को हुन् भनेर चिन्ने अवसर पाएका थिए । परिवन्द पनि कस्तो, सानैदेखि छोरा कर्णको पराक्रम देखेर र सुनेर माता कुन्ती दिनमै तीनपटक मूर्छा पर्थिन् रे । तैपनि ‘आऊ प्यारे !’ भन्दै अँगालोमा बेर्ने छुट नियतिले दिएको थिएन उनलाई ।

उता कर्णको बेथा पनि त्योभन्दा कम छैन । लामो समयसम्म आमालाई चिन्ने अवसर नै पाएका थिएनन् उनले । जीवनको उत्तरार्द्धतिर भगवान् कृष्णमार्फत् चिन्ने अवसर त पाए तर त्यतिबेलासम्म यमुना नदीमा यति पानी बगिसकेको थियो कि ‘मेरी आमा !’ भन्दै काखमा बसेर रुने सम्मको समय थिएन उनीसँग । व्यास कथाका यस रोमाञ्चक प्रसङ्गसित के कति सत्यता छ त्यो त थाहा छैन  । तर, यस प्रसङ्गसित जस्ताको तस्तै मेल खाने राम दाइको जीवनकथा सम्बन्धि प्रसङ्ग पढ्दा जो कोही पाठक भावुक बन्न पुग्छन् भन्ने मेरो ठम्याइ छ ।     

मूलतः प्रस्तुत पुस्तक आत्मवृतान्त हो, उपन्यास होइन । उपन्यास कल्पना प्रधान हुन्छ आत्मकथा घटना प्रधान । तर यो पुस्तक कुनै पनि उत्कृष्ट उपन्यासभन्दा कम छ जस्तो लाग्दैन । आत्मकथा हुँदाहुँदै पनि औपन्यासिक बनोटको शैली भेटिन्छ पुस्तकमा । एकपछि अर्को गरी बग्दै आउने उपशीर्षकहरूले उपन्यास लेखनका आधुनिक बान्कीलाई राम्रैसँग पछ्याएको छ पुस्तकले । अन्त्यमा यति भन्न चाहेँ, यति बढी रोचक पुस्तक लेख्न सक्ने राम दाइमा त्यस्तै किसिमको उपन्यास लेख्ने खुबी पनि उत्तिकै छ । त्यसैले आगामी दिनमा उहाँको ध्यान यसतर्फ पनि जाओस् भन्ने कामना गर्दछु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।