सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निबन्ध : बङ्लङ बङ्लङ

शनिबार, २४ वैशाख २०७९, ०८ : ४१
शनिबार, २४ वैशाख २०७९

सडकमा बेलगाम बङ्लङ बङ्बङ हिँडिरहेको छु म । आजका दिनसम्म कुनै सवारी साधन चलाउन सिकेको छैन । मैले न साईकल चलाउन सिकेँ, न मोटरसाइकल हाँक्न सिकेँ, न स्कुटर कुदाउन सिकेँ । केही पनि सिकिनँ । एकाधचोटि सिक्ने लेठो नगरेको होइन । तर जतिचोटि सिक्न कोसिस गरेँ, त्यति नै पटक धुलोमा चिताङ खाएपछि साधन सिक्ने रहर नौनारीबाट मरेर आयो । पुनः पुनः कोसिस गरेको भए सिक्नलाई के असम्भव थियो होला र ? तर, मलाई नसिक्नको लागि बस् एक बहाना चाहिएको थियो । निहुँ चाहिएको थियो । त्यो एकाधचोटि लड्दा मलाई निहुँ मिलिहाल्यो । 

मान्छे चोटपटक लागेर नराम्रोसित घायल भएर पनि सिक्नलाई खिटिम दिएको र आखिरमा सवारी साधन सिकेरै छाडेको दृश्य देखेको छु । तर म त्यति ज्याद्रो पाराले खिटिम गर्नेतिर लागिनँ । सिक्नुको लेठो भन्दा हिँड्नुको रम रम स्वादले जित्यो मलाई । र, त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

बेला मौकामा मित्र मण्डलीका साधन पछाडि लेपासिन पाएकै छु । जेनतेन काम चलिरहेकै छ । अड्को पड्को तेलको धुप धँुवाउन पाइरहेकै छु । फेरि कसैकामा लिफ्ट नपाउँदाको घडी आफ्नै खुट्टा जिन्दावाद छँदैछन् । अनि किन धुलो चाटेर सिकी रहूँ ? यो प्रश्नले भित्रबाट निर्देश गरिरहन्छ । फेरि बङ्लङ बङ्लङ बङ्लङ बङ्लङ हिँड्नुमा नै एक अपार आनन्दले छोयो मलाई । हिँड्दा जीवनका सूक्ष्म दृश्यहरु मजाले नियाल्न पाउँछु । माटोको मीठो स्पर्शले जीवनलाई मोहनी लगाउँछ । र, त  बङ्लङ् बङ्लङ हिँडिरहेको  छु । 

जीवनमा एकाधचोटि विमानको यात्रा पनि गरी टोपलेको छु । रेलको यात्रा पनि गरेको छु । गाडी  र गोरुगाडाको यात्रा पनि गरेको छु । बिना साधनको पैदल यात्रा पनि दिनदिनै गरिआएको छु । मैले पैदल यात्रामा जीवन जगत्का जे जति रुपरङ, दृश्य, ध्वनितरङ्ग र स्वादका आयामहरु छुन पाउँछु । त्यसभन्दा द्रुत गतिमा हुँइकिने साधनमा बस्दा त्यो गहिराइ छुन पाउदिनँ । यात्रा जति द्रुततर बन्छ, जीवनको अवलोकन त्यति नै सतही हुन्छ । यात्रा जति त्वरित वेगमा बग्छ । प्रकृति परीवेक्षण त्यति नै ख्याल ख्याल, खेलाँची र बोक्रे बन्छ । हिँड्दा जीवनको गुदी देख्न सकिन्छ तर साधनमा हँुइकिँदा जीवनको बोक्रो देख्न पनि गाह्रो–गाह्रो पर्छ । त्यसैले हुँइकिनु भन्दा हिँड्नुमा जीवनको रस पलाउँछ । र, त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

पत्रकार भैरव रिसाल पचासी छयासी वर्षमा पनि बङ्लङ बङ्लङ हिँडिरहेका छन् । सय काटेका संस्कृतिविद् सत्यमोहन जोशी बङ्लङ बङ्लङ हिँडिरहेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायामाझीको एक अन्तरवार्ता पढें, दिनको चार हजार पाईला पुर्याउन उनीपनि बङ्लङ बङ्लङ हिँडिरहेका छन् अरे । भारतको कुनै एक धनाढ्य अम्बानीपुत्र आफ्नो शरीरको तौल घटाउन दिनको एक्काइस घण्टा बङ्लङ बङ्लङ हिँडिरहेका छन् अरे । सिनेजगत्की चर्चित नायिका मनिषा कोइराला क्यान्सर आक्रमणपछि दिनै बङ्लङ बङ्लङ हिँडिरहेकी छन् अरे । यी मान्छेहरुका हिँडाइले पनि मेरो अचेतन मनमा बङ्लङ बङ्लङ हिँड्नमा अनुपम प्रेरणा भर्छन् । मेरो उत्साहको दियोमा तेल सकिएर जीवनज्योति मधुरो बनेको बेला मेरो मनमा तेल थप्ने काम यिनै व्यक्तिहरुले गर्छन् । अनि एक अतिरिक्त आन्तरिक प्रेरणाले धप्प बल्ने गर्छु र त बङ्लङ बङ्लङ हिँडिरहेको छु म ।

अर्को मलाई उदेक पार्ने कुरा यो हुन्छ, केही मान्छेलाई देख्छु जो दिनभरि कारमा हुँइकिरहेका हुन्छन् । बाइकमा दौडिरहेका हुन्छन् । तर प्रातःकालीन भोरभोरमै फोक्सोबाट श्वास ह्वारह्वार फालेर बङ्लङ बङ्लङ दौडिरहेका देख्छु । सायद उनीहरुको दौडाइ स्वस्थताको निम्ति करकापको दौडाइ पो हो कि ? रोग निवृत्तिको निम्ति बाध्यताको हिँडाइ पो हो कि ? कुन अभिप्रेरणाले उनीहरु बङ्लङ बङ्लङ कुदिरहेका छन् ? थाहा छैन । तर उनीहरुको हिँडाइले, उनीहरुको दौडाइले पनि निश्चय नै मभित्र एक उत्तेजना उमार्दछ र त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

एकदिन कसैले कन्ना पछाडिबाट टिप्पणी गरेको सुनेँ, ए फलानो ? फलानोले हिँडेको त मोटरसाइकल किन्नका लोभले पो हिँडेका हो त । मोटरसाइकल किन्नलाई लाख लाखका बिटा खर्च गर्नुपर्छ । फेरि त्यो पानीले चल्दैन । महँगो पेट्रोल हाल्नुपर्छ । यो त खर्चालु काम हो । अर्काले जवाफ दिएछ, लु लोभले चाहिँ हैन । लोभले भए घरमा पत्नीलाई स्कुटर किनिदिएको छ । छोरालाई अपाचे किनिदिएको छ । हाँक्न नजानेको कारण नचढेको हो । यसरी सवारी साधन प्रयोग नगर्दा अनेकौँ टिकाटिप्पणी, आक्षेप, आरोप, शंका सन्देह, खिसीटिउरी र दिलग्गीका स्वरहरु बाक्लै सुन्ने सुअवसर मिल्छ । अरुले जे भनून् भनिरहून् । कुत्ता भुके हजार हात्ती लम्के बजार भनेझैँ म आफ्नै धुनमा हिँड्ने मान्छेलाई कसैको नाटीकुटीले केही असर गर्दैन । उनीहरुका अनावश्यक चासोले कुनै प्रभाव पार्दैन । हिँड्नुको एक अकारण आनन्द आभाले बेर्छ र त  बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

मेरा पिताजी पनि नब्बे एकानब्बे वर्षसम्म बङ्लङ बङ्लङ हिँडिरहनु भयो । अब नहिँड्नु बा ! भन्यो भने नाथु खुट्टा कुँजिन्छन् । खुट्टा सधाउनुपर्छ !! खुट्टाको काम के छ ? नहिँडेर हुन्छ ? हिँड्ने खु्ट्टालाई हिँडाएन भने कुँजो पो भइन्छ त । हिँड्नै पर्छ । भोलि थलै परियो । खुट्टाले काम गरेन भने दोस्रो कुरा हो । हात पाउ चलुन्जेल सय पाइला भएपनि हिँड्नुपर्छ, भन्नुहुन्थ्यो ।

 पिताजीका ती आप्तवचन अहिले पनि मनमा गुन्जिरहन्छ । बजारमा देख्छु, बोक्सेको पूर्वछाने बूढो पन्चानब्बे वर्षको उमेरमा पनि ठमठमी हिँडिरहेको देख्छु । दिनमा एकचोटि उसले सडकमा हिँड्नैपर्छ अरे । हप्ताको एकचोटि हटिया झर्नैपर्छ अरे । पच्चीस तीस वर्ष अघि स्कुल पढ्दा बावरीकी एक सर्किनी बूढी निरन्तर हिँडिरहेको देख्थेँ । उसको नामै हिँड्डुई बूढी राखिएको थियो । बिहान, दिउँसो, मध्यघाम, मध्यझरी डोको बोकेर निरन्तर बजारदेखि घर, घरदेखि बजार हिँडिरहेकी हुन्थिन् । तिनले पनि हिँडाइको आनन्द बुझेकी थिइन् क्यारे । हिँडाइको राज थाहा पाएकी थिइन् क्यारे । यस्ता हिँडुवा मान्छेहरुको लागि हिँड्नु एक ध्यानको विषय हुन्छ क्यारे । हिँड्नु समाधिको सप्तद्वार बन्छ क्यारे । हिँड्नुको ध्यानले खिचेरै मपनि बङ्लङ बङ्लङ हिँडिरहेको छु । 

जुन दिन चार खुट्टा टेकेर हिँड्ने वनमानुष दुई खुट्टा टेकेर उभिन थाल्यो र टुकुटुकु पाइला चाल्न थाल्यो । त्यसपछि मानव हिँडाइको गरिमा सुरु भयो । दुई खुट्टाले हिँड्न थालेपछि मानव सभ्यताको नयाँ क्षितिज खुल्यो । त्यस अघिको युग त चौखुट्टे पशुको समकक्षतामै आवद्ध भएर बित्यो । दुई खुट्टा टेकेर हिँड्नु अगाडिको समयमा मान्छे पनि चौपाया थियो । अहिले हामीसँग मौजूद हात त्यस समयमा अगाडिका खुट्टा बनेर जमिनमा टेकिएका थिए । हातको रुपमा पूर्ण विकास भएको थिएन । समतलीय रुपमा तेर्सो रहेको मेरुदण्ड लम्बीय रुपमा ठडिएको थिएन । त्यसैले चेतनाको ऊध्र्वगमन हुन सकेको थिएन । 

जब मान्छेले दुई खुट्टा टेक्यो । त्यसपछि उसको मेरुदण्ड सिधा भयो । शीरो भाग उच्च बन्यो र आकाशतर्फ उचालियो । दुई खुट्टा चालेर हिँड्नुमा एक अभिनव क्रान्ति घटित भयो । अब बल्ल त्यो चारखुट्टे जीव जनावर कित्ताबाट मानव कित्तामा आरोहण गर्यो । यो सानो घटना थिएन । यो चानचुने घटना थिएन । मानव विकासको इतिहासमा यो घटना एक युगान्तकारी घटना थियो । दुई खुट्टाले हिँड्नुमात्र पनि एक अपूर्व क्रान्ति थियो । त्यसपछि बल्ल उसले अरु जनावरहरुलाई आफू अनुकूल कज्याउन सिक्यो । 

दुई खुट्टा टेकेर उभिने बित्तिकै उसको चेतनाले गुणात्मक फड्को मार्यो । उसको बुद्धि, सोचाइ, कल्पना सबका सब ऊध्र्वगामी बन्यो । हिजो घोडा सँगसँगै चारखुट्टा टेकेर हिँडेको मान्छे त्यसैलाई चढेर लगाम कसेर दौडाउन सक्ने बन्यो । गोरु सँगसँगै चार खुट्टा टेकेर हिँडेको मान्छे काँधमा जुवा नारेर त्यसलाई जोत्न सक्ने भयो । गाईलाई दुहेर ‘तर’ खान सक्ने भयो । गधालाई भारी बोकाउन सक्ने भयो । भैँसी पगारेर दही जमाउन सक्ने भयो । दुई खुट्टा टेकेर हिँड्न नजानेको भए यो सबै सम्भव थियो ? कदापि सम्भव थिएन । न त गोरु जोत्थ्यो, न त गाई दुहुन्थ्यो, न त घोडा चढ्थ्यो । उसको गति त तिनैसित चार खुट्टा टेकेर घस्रिरहनुमा सीमित हुन्थ्यो । 
दुुई खुट्टा टेकेर हिँड्नुले नै मान्छे, मान्छे भयो । चार खुट्टा टेकेर घस्रिनुले जनावर, जनावर भयो । हिँड्ने कुरा मान्छेको स्वत्वसित गाँसिएको रहेछ । हिँड्ने कुरा मान्छेको अस्तित्वसित अकाट्य रुपमा जोडिएको रहेछ । र, त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

एक अखबारले बङ्लङ बङ्लङ हिँडिरहेका नामहरुको सूचीमा केही ठूला मान्छेहरुको नाम छाप्यो । प्राज्ञिक र राजनीतिक वृत्तका यी नामहरु हेर्दा साधन किन्न र त्यसका सवार हुन नसक्ने नाम कदापि हैनन् । तर उनीहरुमा पनि बङ्लङ बङ्लङ सडकमा फुक्काफाल हिँड्नुको रसले घर गरेको रहेछ । यस सन्दर्भले म थप हर्षित पनि बनेँ, चकित पनि बनेँ । किनकि प्रख्यात समाजशास्त्री चैतन्य मिश्र बङ्लङ बङ्लङ हिँड्दा रहेछन् । चावहिलदेखि कीर्तिपुर सम्मको बङ्लङ बङ्लङ यात्रा कति रोमाञ्चकारी होला । भौतिकशास्त्री उदयराज खनाल पनि बङ्लङ बङ्लङ हिँड्दा रहेछन् । शिक्षाशास्त्री विद्यानाथ कोइरालादेखि लालदेउसा राईसम्म, नारायण वाग्लेदेखि खगेन्द्र सँग्रौलासम्म, कृष्ण भट्टचनदेखि सूर्यराज आचार्य सम्मका प्राज्ञिक व्यक्तित्वहरुपनि बङ्लङ बङ्लङ हिँड्दा रहेछन् । राजनीतिक वृत्तका नेताहरु चित्रबहादुर केसीदेखि लालबावु पण्डितसम्म, रघु पन्तदेखि अमृत बोहोरासम्मका व्यक्तित्वहरु पनि बङ्लङ बङ्लङ हिँड्दा रहेछन् । 

माथि चर्चा गरिएकाहरुको हिँडाइको पदचापमा समाजको निम्ति एक सन्देश छ, एक शिक्षा सान्निहित छ । त्यो पदचापमा निहीत ध्वनि सुन्ने कर्णविवर छ हामीसित ? निश्चय नै छैन । अरु कुरा जेसुकै होस्, यिनीहरुको हिँडाइले मलाई पनि हिँड्न प्रेरित गर्दछ । र, त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

बङ्लङ बङ्लङ हिँडाइले म भित्र एक लयको सिर्जना गर्छ । एक ताल र सुरको सिर्जन गर्छ । यस लयबाट एक अन्तरसंगीत उद्भव हुन्छ । त्यो संगीतले मलाई आनन्दित पार्छ । विचारका विरोधाभासहरु मेट्छ । आन्तरिक समत्वमा पुग्न हिँडाइले मलाई एक बाटो बनाइदिन्छ । त्यस घडी बाहिर बाटोमा मात्र हिँडिरहेको हुन्न म ।  भित्री बाटोमा पनि पयर उचालिरहेको हुन्छु । कदम मिलाइरहेको हुन्छु । लयबद्ध हिँडाइले भित्र पनि नव नव लयका तहहरु थप्दै जान्छ । नव नव संगतिका शृङ्खला उन्दै जान्छ । त्यही आन्तरिक संगतिमा पुग्नको लागि पनि म बङ्लङ बङ्लङ हिँडिरहेको छु । 

बङ्लङ बङ्लङ हिँडाइले सुललित मनको सिर्जना मात्र होइन, शरीरको काफी कसरत पनि गराउँछ । शरीरको अतिरिक्त ऊर्जा जलाउँछ यसले । सन्दुकमा पैसाको सञ्चिती राम्रो कुरा हो, सुखद कुरा हो । तर शरीरमा अतिरिक्त ऊर्जा र शक्तिको सञ्चिती दुष्कर कुरा हो । आवश्यकता भन्दा बढीको ऊर्जा र पोषण बोसो बनेर थुप्रिँदोे रहेछ । त्यसैले भाँती भाँतीका रोग र क्लेशहरु थप्दो रहेछ । त्यसैले स्वास्थ्य विज्ञानले भन्छ, शरीरको अतिरिक्त ऊर्जा काम गरेर, कसरत गरेर, योगा गरेर, खेलेर, पसिना झारेर, हिँडेर, दौडेर त्यसलाई जलाउनुपर्छ । त्यसलाई शरीरबाट खँलास गर्नुपर्छ । त्यसलाई पसिना निकालेर फाल्नुपर्छ । शारीरिक श्रम नगर्ने मान्छेहरु यसै हेतुले बङ्लङ बङ्लङ हिँडिरहेका हुन्छन् । हिँडाइमा शरीरको एक कसरत चलिरहेको हुन्छ । यसले अतिरिक्त ऊर्जालाई सखाप पारिरहेको हुन्छ । र, त बङ्लङ बङ्लङ हिँडिरहेको छु म । 

उपनिषदले पनि चरैवेती चरैवेती त्यसै भनेको होइन रहेछ । यसको नेपाली भावार्थ हिँडिरहू हिँडिरहू हुँदो रहेछ । निरन्तर हिँड, गतिमा बग । जीवन गतिशील छ । अविराम हिँडिराख । हिँड्न छोडेर गतिहीन भयो भने जान्नू तिम्रो अस्तित्वको अवसान भयो । तिम्रो अस्तित्वको समाप्ति भयो । जुन अभिप्राय र आशयमा उपनिषदले चरैवेती भनेपनि जीवनको यात्रालाई, सिर्जनको यात्रालाई विराम दिनु हुन्न । निरन्तर जारी राख्नु पर्छ भन्ने कुरा बुझ्दछु म । 

जुन दिन हाम्रो हिँडाइमा विराम लाग्छ, त्यो दिन हामी मर्छौँ । त्यो दिन जीवनको सम्पूर्ण यात्रा समापन हुन्छ । हिँडाइ बन्द भएको दिन खुट्टाको चालमात्र बन्द हुँदैन । मुटु बन्द हुन्छ, फोक्सो बन्द हुन्छ । शरीरका तमाम अवयवहरुको कार्यप्रक्रिया बन्द हुन्छ  । हिँड्नु र जीवित हुनु एकअर्काका पर्याय हुन् । जुन दिन म बङ्लङ बङ्लङ हिँड्न नसक्ने हुन्छु त्यो घडी बरु मृत्यु होस् । एक घडी बङ्लङ बङ्लङ नहिँडी बाँच्न नपरोस् । जय बङ्लङ बङ्लङ !!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप