बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

क्युबा : चर्चित पाँचतारे होटलमा भीषण विस्फोट; गर्भवती, बच्चासहित १८ को मृत्यु

शनिबार, २४ वैशाख २०७९, ०८ : ३२
शनिबार, २४ वैशाख २०७९

क्युवाको चर्चित पाँचतारे होटलमा भएको भीषण विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको थियो । ग्यास चुहावटका कारण उक्त विस्फोट भएको बताइएको छ ।

होटल ऐतिहासिक महत्वको पाँच तले भवन थियो जुन महामारीको समयमा बन्द गरिएको थियो । अबको चार दिनमा यसलाई खोल्ने तयारी थियो ।

दुर्घटनाका कारण भवन पुरै भत्किएको छ र यो भग्नावशेषजस्तै देखिएको छ  । होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ ।

भग्नावशेषमा फसेका मानिसहरुको उद्दारका लागि राहत तथा उद्धार कार्य जारी रहेको छ ।

दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्, उनीहरुलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।

क्युवाली राष्ट्रपतिले मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको बताएका छन् ।

होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले  विष्फोट  अत्यन्तै डरलाग्दो भएको र आफूलाई भूकम्प गएको अनुभूति भएको बताइन् ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

होटलको पछाडि विद्यालय पनि छ । दुर्घटनामा त्यसलाई कुनै क्षति भने भएको छैन । स्थानीय अधिकारीहरूले सबै बालबालिकालाई विद्यालयबाट सुरक्षित रूपमा बाहिर निकालिएको पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप