बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थारूहरूको थरसम्बन्धी मिथक

शनिबार, २४ वैशाख २०७९, ०८ : २३
शनिबार, २४ वैशाख २०७९

थारू जाति नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई तथा भित्री मधेसको भूभागमा सदियौंदेखि बसोवास गर्दै आएका छन् । हरेक जातजातिको आ–आफ्नै थर उपथर वा गोत्रसम्वन्धि किम्वदन्ती, मिथक रहेको हुन्छ । थारूहरूको पनि अन्य जातजाति जस्तै विभिन्न थर उपथर छ । तर आफ्नो थरको बारेमा धेरैलाई जानकारी छैन । किनकि थरबारे प्रश्न गर्दा धेरै अचम्मित हुन्छन् । आफ्नो थर भन्नुको सट्टा घरको नामबारे कथा भन्न थाल्छन् । थारूको थरभित्र लेखी, दहित, सत्गौवा, रत्गैंया, महतो लगायत सयौं थर रहेका छन् । यस आलेखमा सुर्खेत जिल्लाका थारू जातिको थरबारे मिथक प्रस्तुत गरिएको छ । 

१) गाँधी कुसुम्ह्या 

पहिलेको प्राचीन समयमा दुई वटा गुरुवा अर्थात् धामी थिए रे । दुबै गुरुवा तान्त्रिक विद्यामा निपूर्ण थिए । दुबै गुरुवाबिच तान्त्रिक ज्ञान विद्यामा प्रतिस्पर्धा हुने क्रममा एउटा गुरुवाले अर्को गुरुवाको खेतको धान विनाश गर्न मन्त्रद्वारा गाँधी किरा छाड्यो रे ।

उता अर्को गुरुवाले यो कुरा थाहा पाएर माछा बझाउने ढडियामा बल्झाइ छाडिएको गाँधी किरालाई बन्द गरिदियो रे । यसरी शत्रु गुरूवाको कपटी कार्यमा असफल गराई आफ्नो धान र सन्तानको रक्षा गरेकाले गाँधी कुसुम्ह्या थर भएको हो ।  (स्रोतः भुजिलाल थारू, वीनपा–२, लौवस्ता)

२) बसगोन्डर्या 

भर्खर बिहे गरेको दुलाहाले थारू चलनअनुसार दशैंमा आफ्नो ससुरालीमा मेजमानी गर्न गयो । ससुराली जाने क्रममा एउटा बाँसको गुन्द्री, ग्वानको गुन्द्री, जिउँदो भाले लिएर गयो रे । बाँसको गुन्द्री लिएर उपहार लिएर गएकाले बसगोन्डर्या थर भयो । (स्रोतः मौरङ्ग्या थारू, वीनपा–९, तिलपुर)

३) पूर्वी बाल कुसुम्ह्या 

थारू चलनअनुसार बिहे गर्नुभन्दा अगाडि टीकाटालोको रुपमा ठकौनी खाने चलन छ । यसै क्रममा एउटा केटोका परिवारले गाउँको अर्को घरमा केटी मागी बिहे गर्ने भनी पक्कापक्की गरे । तर अपशोच बिहे नहुँदै केटोको मृत्यु भएछ । भावविह्वल केटी सती गइन् रे । अकाल मृत्यु रोजेपछि केटाको घरकालाई सताउने, दुःख दिने कार्य हुन थाल्यो । जान्नेलाई हेराउँदा केटाको घरमा केटीले थान खोज्न थाल्यो भने । गुरुवाको सल्लाहअनुसार थान दिनुपर्ने बताएपछि थान दिएछछन् । यसरी बिहे नगर्दै कन्यामा नै सती गएकाले पूर्वी बाल कुसुम्ह्या थर रहन गएको हो । (स्रोतः कालुराम चौधरी, वीनपा–१०, बुदबुदी)

४) घनझर्वा कुसुम्ह्या 

पहिले प्राचीन समयमा एक थारू पूर्खाका वंशजलाई सर्वनास गर्न धानको घानमा दाइँ हाली गोरुले कुल्चाएर मार्ने योजना विपक्षीले बनाएछन् । पछि धानको घानको पराल अलग्याउँदा परालसँगै ती पूर्खाका सन्तान फटाफट जिउँदै निस्किएछन् । यसरी धानका घानमा कुल्चाउँदा समेत जीवित भएकाले घनझर्वा कुसुम्ह्या थर हुन गयो । (स्रोतः बेलौरी थरुनी, वीनपा–२, लौबस्ता)

५) नम्वा 

थारूहरूको चलनअनुसार गाउँलेहरु गन्यमान्यका साथ गुरुवा बसेर पूजाका लागि मैयादेवी बनाउँछन् । एक घरमा नयाँ कुल देउता बनाउँदै थिए रे । भोलि बिहान पूजापाठका लागि भाले, बोका तयार पारेछन् । बिहान गुरुवा केसौकाले गुरै विधि गरेछन् । अब बोका पुज्नु पर्यो भनेर बोका ल्याउन अह्राए तर राति चोरले बोका चोरेर बोका बाँधेको डोरीमा कुकुर बाँधिदिएछ  । अब के गर्ने पूजाविधि भइसक्यो, घरमा अरू बोका पनि थिएन । त्यसपछि गुरुवालाई यो कुरा जानकारी गराए । कुकुर मात्र छ भन्दा, अब त्यही कुकुरलाई नै चढाऊँ भन्ने सुझाव दिएछन् । तर पुज्दाखेरि लम्मा पुछिक झाबर कान, ठ्याप पारम क्याउँ ना करिस् (लामो पुच्छरको झ्यापुल्ले कान थ्याप्प हान्दा क्याउँ नगर्नु) भनेर गुरुवाले बली चढाउनु भनेछन् । यसरी पूजापाठ गरेकाले लम्मा लम्मा भन्दाभन्दै नम्वा थर भएको हो ।  (स्रोतः औसिंया थारु, वीनपा–२, खोलीगाउँ)

६) घेचकट्वा 

एक घरमा बिहान पूजापाठ गरेर पोलपाल गरेको भाले कुठ्ली (धान राख्ने माटाको भकारी) मा राखेछन् । भाले काटकुट पार्न हँसिया तथा भाँडाबर्तन खोज्न थालेछन् । तर भाले कुठ्लीमा राखेको कुरा बिर्सेछन् । साँझ त्यही पोलेको भाले खोज्दा भेटाएनछन् । पछि त्यो पोलेको भाले कुठ्लीभित्रबाट कुखुरी काँ गरेर बोलेपछि फेरि घाँटी काटेर खाए रे । यसरी घाँटी काट्ने अथाएत् घेचकट्वा थर रहन गएको हो । (स्रोतः वीर बहादुर चौधरी, वीनपा–९, टिक्रा पर्सेनी)                                       

७) पछलड्ग्या धमलह्वा 

एक घरको चुल्होमा धमला (खरी) रूख उम्रियो रे । त्यो रूख रातभरिमा घरको  धुरी छिरेर छानामा समेत प्वाल पारेर बाहिर निस्कियो अरे । त्यसैले धमला रुखबाट धमलह्वा थर कायम भएको हो ।

  हाम्रो थारू समाज र संस्कृति (२०७९) पुस्तकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप