कथा : छाता
परिवारमा चार जना थिए, बाबु, आमा, छोरो र बुहारी । देशको परिस्थितिले तिनीहरूलाई दासको रूपमा परिणत गरेको थियो । सात सालको क्रान्तिमा आफैले झन्डा बोकेको बाबु आफूलाई प्रजातन्त्रको संस्थापक ठान्थ्यो । सत्र सालमा प्रजातन्त्रमाथि पञ्चायतले धावा बोलेपछि बाबु बिदेसियो ।
एक्लो छोराको पालनपोषण गरेर बसेकी आमा समयको दौरानमा पञ्चनेतृ बन्न पुगी । बिस्तारै बढ्दै गएको छोरो आफ्नोे बाबुलाई अराष्ट्रिय तत्व घोषित गरेर विदेश लखेट्ने सरकारसित खुबै रिसाएको थियो । त्यसको बदला लिन सुरुमा ऊ विद्यार्थी सङ्गठनमा लाग्यो र त्यसको नेता बन्यो । तर उसको बाबुको गान्धीवादी विचार भने उसलाई पटक्कै मन परेन र ऊ कम्युनिस्ट बन्यो ।
तेत्तीस सालमा मेलमिलाप भएपछि सबै ठूला नेताहरूसँगै बाबु चाहिँ पनि स्वदेश फर्कियो । त्यसपछि उसको परिवाररूपी डुङ्गा जीवनरूपी शान्त तलाउमा बिस्तारै तैरन थाल्यो । भूमिगत रूपमा आमूल परिवर्तनकारी पार्टीमा लागेको भए पनि छोराको पढाइ चालू नै थियो । त्यसले विश्वविद्यालयको उपल्लो डिग्री लियो र कलेज पढाउन थाल्यो । त्यही बिचमा सहरकी एउटी रूपवती युवतीसित त्यसको विवाह भयो ।
सच्चालीस सालमा घरमा अलिकति खैलाबैला मच्चियो । बाबुले घरको छानामा चारतारे झन्डा गाड्यो । छोरो पनि के कम ? त्यसले छानाको अर्को छेउमा हँसिया हथौडावाला झन्डा ठड््यायो । ती बाबुछोराको फुर्ती देखेर आमा चाहिँलाई पनि निकै झ्वाँक चल्यो । ‘तिमीहरूभन्दा म के कम ?’ भन्दै उसले पनि एउटा लामो भाटामा राप्रपाको झन्डा घुसारेर ती दुईका बिचमा राखिन् ।
बेलुकी खाना खाने समयमा सबै एकै ठाउँमा जम्मा भए । बाबु, आमा, छोरा सबै एकअर्कासित रिसाएजस्ता । कसैसित कोही बोलेन । ती तीनजना एकअर्कासित नबोलेका र एकअर्काका शत्रुजस्ता देखिएका भए पनि बुहारी भने तिनीहरूलाई खानेकुराहरू थप्तै गर्दा निकै प्रफुल्ल देखिएकी थिई ।
“तिमी त आज निकै खुसी देखिन्छ्यौ । के हो कुरो प्यारी ?” राति ओछ्यानमा पल्टिएपछि छोरो चाहिँले दुलहीसित सोध्यो ।
“होला अब, कतै नपाएर !” दुलहीले पनि चेप्रे स्वरमा उत्तर दिई ।
बाउन्न सालमा जनयुद्ध सुरु भयो । त्यसपछि त्यो घर सेल्टरमा परिणत भयो । प्रजातन्त्रवादी बाबु, पञ्च आमा र आमूल परिवर्तनकारी छोरो, सबै चुपचाप सहमतिमा आए । त्यति बेलासम्म दुलहीसित राजनीतिका विषयमा कुरा नगरेको छोरोचाहिँले एक दिन दुलहीको मुखतिर हेर्दै आँखामा आँखा अड्याएर खुसुक्क सोध्यो–
“तिमी कता नि प्यारी ?”
“के कता ?” नबुझेर दुलही चाहिँले प्रतिप्रश्न गरी ।
“तिमी बुबातिर कि आमातिर, कि मतिर भनेको ?” उसले फेरि सोध्यो ।
“कतै न कतै । म मैतिर ।” यसपालि बुझेझैँ गरी । अर्थात् त्यसले अलिकति जर्खरिएको उत्तर दिई ।
“त्यसो होइन प्यारी, एकातिर नलागी त सुक्खै छैन अब ।” सम्झाउने लवजमा उसले भन्यो ।
“त्यसो भए हजुर जता, म पनि उतै । दुई जिउ भए पनि हामी एउटै रथका दुई पाङ्ग्रा होइनौँ र ?” दुलहीचाहिँले त्यसो भन्दा उसको घाँटी नै थिचिएजस्तो लाग्यो उसलाई । “मेरी बूढी त बडो दार्शनिकले जस्तो कुरा पो गर्छे त ।” त्यसले मनमनै भन्यो तर प्रकट रूपमा अर्कै किसिमले प्रस्तुत भयो ।
“त्यसो होइन प्यारी । यतिबेला हामी एउटा आँधीबिच पारिवारिक डुङ्गा लिएर बहेली खेलिरहेका छौँ । सानुतिनु धक्काले पनि यो डुब्न सक्छ । तसर्थ बुबा, आमा, म र तिमी मिलेर यसलाई यत्नपूर्वक चलाउनुपर्छ ।” त्यसले पनि एउटा दार्शनिकले नै झैँ स्वास्नीलाई सम्झायो । तर त्यो बिचरी भने अलमलमा परी ।
“आ, नदुखेको कपाल कसले डोरी लगाएर दुखाओस् ? म त कतै पनि लाग्दिनँ ।” त्यसले बेवास्तापूर्वक जबाफ दिई ।
“त्यसो होइन हेर । देश द्वन्द्वको भुमरीमा फसेको छ यतिबेला । भोलि के हुने हो, कसैलाई केही थाहा छैन । बुबा प्रजातन्त्रमा विश्वास राख्नुहुन्छ, त्यहीँ हुन दिऊँ । आमा सुरुदेखि नै राजभक्त प्रजातन्त्र पार्टीकी कार्यकर्ता हुनुहुन्छ । उहाँलाई पनि हामीले हस्तक्षेप गर्न राम्रो हुन्न । म क्रान्तिकारी हुँदै भएँ । तर तिमीले राजनीतिमा मेरोजस्तै सिद्धान्त लिए पनि हामी एउटै पार्टीमा भने हुनुहुन्न प्यारी । तिमी पनि बामपन्थी नै भयौ रे लौ तर मेरै पार्टीमा किन लाग्नुपर्यो ? तिमी त अलि नरमखाले पार्टीमा लाग्नुपर्छ क्या ! पानी परेको बेला छाता ओढ्नु परेन ?”
बुहारीलाई भित्र कोठामा बसेर छोराले सम्झाएको कुरा बाहिर बैठकमा बसेर मधुरो आवाजमा टिभी हेरिरहेका बाबुआमाले पनि सुनिरहेका थिए । छोराले परिस्थितिको राम्ररी विश्लेषण गरेको सुनेर बुढाबुढी निकै खुसी भए र मुखामुख गरेर फिसिक्क हाँसे ।
शान्ति प्रक्रिया सुरु भएपछि संविधानसभाको निर्वाचन भयो । निर्वाचनपछि नेपाली काङ्ग्रेसले प्रजातन्त्र सेनानी सङ्घको तर्फबाट बाबुलाई सभासद् बनाइयो । आमाचाहिँ राप्रपाको महिला कोटाबाट सभासद् भई । छोरो माओवादीको प्रतिनिधि भएर सांसद बन्यो । बुहारीलाई एमालेले महिला प्रतिनिधिका रूपमा मनोनयन गर्यो । यसरी परिवारका चारै जना समानुपातिकका सांसद बने । चुनावपछि बनेको सरकारमा छोरो चाहिँ मन्त्री भयो ।
परिवर्तनको त्यो विचित्र शृङ्खलाबाट गुज्रेकी बुहारीका भुइँमा खुट्टा थिएनन् । पहिले यदाकदा मात्र फेसबुक स्टाटस अपडेट गर्ने गरेकी त्यसले लोग्ने मन्त्री भएपछि उद्घाटन गरेको एउटा सार्वजनिक समारोहका विषयमा यसरी लेखी : “प्रसिद्ध साहित्यकार...द्वारा लिखित पुस्तकको माननीय मन्त्री...ज्यूबाट भव्य समारोहबिच विमोचन ।”
स्टाटस बक्समा यति लेखिसकेपछि त्यसले सेयर बक्समा क्रसर राखी र क्लिक गरी । बिजुलीतारका माध्यमले त्यो निमेष भरमा विश्वभर पैmलियो । त्यसपछि, आप्पा शेर्पाले सगरमाथा शिखरमा पुगेर सास फेरेको शैलीमा त्यसले पनि प्रफुल्ल मुद्रामा लामो सास तानी ।