बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरु विजयी

शनिबार, २४ वैशाख २०७९, ०६ : ५७
शनिबार, २४ वैशाख २०७९

बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा  नेपाली मूलका  उमेद्वारहरु सहभागी भएका थिए । विशेषगरी लेबर पार्टी र कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका नेपालीहरूको नतिजा भने मिश्रित आएको छ ।  दश जनाले दिएको उम्मेदवारीमा पाँच जनाको जीत सुनिश्चित भएको  हो । जसमा तीन जना लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कन्जरभेटिभ पार्टीका छन् । यसपटकको निर्वाचनमा  विष्णुबहादुर गुरुङ, लक्ष्यबहादुर गुरुङ,  जीत रानाभाट र भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ विजय बनेका छन् भने डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भए पनि काउन्सिलरमा निर्वाचित बन्न सफल  भएका छन् ।

यसैगरी वकिङ बरोका पूर्व गोर्खा मेजर चित्रबहादुर राना, रश्मोर बरोको चेरीउड वडामा कञ्जरभेटिभ पार्टीकी उम्मेदवार सुमन पुन, बेडवर्थ एण्ड ननिटन बरोका पूर्व गोर्खा भीम सारु, स्वीण्डनको मेनिंगटन एण्ड वेस्टर्नका पूर्व गोर्खा ज्ञानप्रसाद गुरुङ र लन्डनको वाटफोर्डबाट सञ्जय पन्त  पराजित भएका छन् ।

मेयर विष्णुबहादुर गुरुङ

लन्डनको हन्सलो बरोबाट  मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बनेका छन्  । लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । सोहि वडाकै अर्को काउन्सिलरमा लेबर पार्टीकै उम्मेदवार विजयी भएकी छन्। पराजित सत्तारुढ कञ्जरभेटिभ उम्मेदवारले विजयी गुरुङले भन्दा २ सय ६८ मत कम अर्थात् ७ सय ६९ मत मात्रै पाएका छन् । 

सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित भएका थिए । उनले डेपुटी मेयर र मेयरका रुपमा समेत एकएक कार्यकाल काम गरिसकेका छन् । दुई दशक बेलायती सेनामा काम गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि बेलायतमा बस्दै आएका हुन् । पेशाले उनि बस चालक हुन् ।

पूर्व उपमेयर लक्ष्य गुरुङ

लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्य बहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् । 

दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भएका हुन्। उनीसंग पराजित उम्मेदवारसंग उनको मात्र ४२ मतको फरक छ । 

भूतपूर्व गोर्खा गुरुङ यसअघि सोही बरोको उपमेयर भइसकेका छन् । कञ्जरभेटिभ पार्टीबाट आगामी मेयरका प्रमुख दाबेदार रहेका उनलाई बरोमा लेबर पार्टीको बहुमत आएपछि भने धक्का लागेको छ । 

जीत रानाभाट

बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन् । रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन्। उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् । 

मत परिणामअनुसार रानाभाटले २ हजार तीन सय १९ मतसहित मत प्राप्त गरेका छन्। उनीसँगै विजयी हुने अन्य दुई लेबर उम्मेदवारले २४ सत बढी मत पाएका छन् । पराजित उम्मेद्वारमध्ये एकबाहेक अरु कसैले पनि ५ सय मत पनि कटाएका छैनन् । 

बेलायतमा पछिल्लो केहि वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपाली मूलका उम्मेदवारहरु निर्वाचित हुंदै आएका छन् । तर लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपाली मूलबाट निर्वाचित हुने रानाभाट नै पहिलो बनेका छन् । 

डा. जगन्नाथ शर्मा

इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्। कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए। उनले ५ सय ५१ मत प्राप्त गरेका थिए । ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका छन् ।  

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए । बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन्। शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचारप्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए । 

नर्थ योर्कसायर इंग्ल्याण्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए । अन्य नेपाली काउन्टी भन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।

कमल गुरुङ

लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्। लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे । सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए । पराजित कञ्जरभेटिभ पार्टीका दुई उम्मेदवारहरुले भने आधा थोरै ९ सय ६२ र ८ सय ६१ मत मात्रै प्राप्त गरे । 

इंग्ल्याण्डका १४६  काउन्सिलहरूमा ४ हजार भन्दा बढी काउन्सिलरहरु निर्वाचनमा उठेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप