शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

शुक्रबार, २३ वैशाख २०७९, २१ : ४९
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ ।  यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ । 

जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी कर्मचारी हुने छन् भने तीन स्वयंसेवक खटिने छन् । 

दाङका पाँच मतदान केन्द्रमा निर्वाचन गराउन महिलालाई मात्रै जिम्मेवारी दिइएको छ । पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिलालाई खटाइएको छ । घोराही–१६ को प्रावि सानी अम्बापुर ‘क’ मा मतदान अधिकृतका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारी, सहायक कर्मचारी ललिता यादव, रीता लामा र कार्यालय सहयोगीमा सरस्वती घर्तीमगरलाई तोकिएको छ । सोही विद्यालयको ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतमा महिला बालबालिका कार्यालयका मोतीकुमारी विश्वकर्मा, सहायक मतदान अधिकृतमा विमलाकुमारी पोखरेल, सहायक कर्मचारीमा मञ्जु देवकोटा, अनिता सुवेदी र सहयोगीमा विष्णुकुमारी चौधरी रहेका छन् । 

सोही विद्यालयको ‘ग’ केन्द्रमा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनी, सहायक कर्मचारीमा कालिका अधिकारी, देवा केसी र सहयोगीमा भुमा वली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमही–५ को खीमबहादुर मावि कोलही मतदान केन्द्रमा सम्झना शर्मा मतदान अधिकृत, प्रभारश्मी धिताल सहायक मतदान अधिकृत, सुशीला शाह, पूजा केसी सहायक कर्मचारी र विष्णुकुमारी चौधरी सहयोगी रहेका छन् ।
 
त्यस्तै तुलसीपुर–५ को अरनीको मैदान ‘घ’ मा मतदान अधिकृतमा माया श्रेष्ठ, सहायक मतदान अधिकृतमा सावित्राकुमारी गौतम, सहायक कर्मचारीमा झरना बुढामगर, कमला रावत र सहयोगीमा रीता रिजाल रहेको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । महिला कर्मचारी मात्रै भएका मतदानस्थलमा महिला प्रहरी मात्रै खटाउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

कर्मचारी र सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्री लिएर यही वैशाख २६ र २७ गते बेलुकासम्म मतदानस्थलमा पुग्ने छन् । भौगोलिक दूरीका हिसाबले टाढा रहेको स्थानमा २६ गते नै कर्मचारी पठाउने कार्यक्रम रहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ पुरुष र दुई तेस्रो लिङ्गी गरी चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप