बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

शुक्रबार, २३ वैशाख २०७९, १६ : ५०
शुक्रबार, २३ वैशाख २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामकारवाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।  मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८–०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उनले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी, प्रतिफल आउने जनमुखी काम गर्न अपिल गरेका हुन् ।

उनले भने, ‘तपाईहरु जुन जुन जिम्मेवारीमा हुनुहुन्छ, म तपाईहरुलाई एउटा प्रश्न गर्न चाहान्छु, यो त्रैमासिक प्रगति समीक्षामा तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?, वास्तवमा मैले हेर्दाखेरि म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन, हामीले कार्य सम्पादनको निम्ति सम्झौता पनि गर्यौँ, तर त्यो सम्झौताअनुसार हाम्रा पाइला अगाडि बढेका छन् कि छैनन्, सम्झौताअनुसार काम भएको छ कि छैन, अब समीक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेछ ।” उनले टेलिकममा देखिएको टावर नटिप्ने समस्या जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिँदै इन्टरनेटको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता कार्कीले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताले विकास र समृद्धि चाहेको हुँदा तीव्र गतिमा काम गर्नेपर्ने उनको भनाइ छ । 

मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले विगतका आर्थिक वर्षको तुलनामा चालु आवमा प्रगति भएको देखिए पनि फछ्र्यौटलाई कम गर्दै लैजानुपर्ने बताए । उनले ‘डिजिटल आर्काइभ’ को कामलाई आगामी आर्थिक वर्षभित्रमा सक्नुपर्ने बताउँदै डिजिटल हस्ताक्षरको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लगायतका प्रतिनिधिले आ–आफ्नो कार्यालयको कार्य प्रगतिबारे प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप