ad
x

प्रेरक प्रसङ्ग : यसरी प्रसिद्धि पाएका थिए तेनालीरामले

person explore access_timeबैशाख २३, २०७९ chat_bubble_outline0

तेनालीराम लिङ्गाचार्यको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ तर उनी को थिए र किन विश्वप्रसिद्ध भए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । सोह्रौँ शताब्दीको सुरुतिर दक्षिण भारतको थुमलुरु गाउँको तेलगु ब्राह्मण परिवारमा जन्मेका तेनालीरामको वास्तविक नाम रामकृष्ण शर्मा थियो तर पछि गएर तेनालीरामको नामले विश्वविख्यात भए ।


उनको बाबुको नाम गरालपति थियो, जो सोही गाउँको मन्दिरमा पुजारीको काम गर्थे । उनी सानै छँदा बाबु गरालपतिले संसार छाडेर गएकाले उनको पालन पोषण गर्ने काम आमा लक्षम्यादेवीले गरेकी थिइन् । परिवार गरीव थियो तेनालीराम सानै थिए । त्यसमाथि पतिवियोगको पीडासमेत थपिँदा लक्षम्यादेवीलाई कस्तो भयो होला उनै जानून् । तैपनि उनले हिम्मत हारिनन् र हैसियत अनुसार छोरालाई पालन पोषण गरी शिक्षादीक्षा दिएकी थिइन् ।



तेनालीरामले कुनै पनि औपचारिक शिक्षा पाएका थिएनन् । आमाले नै साँवा अक्षर चिनाइ केही जान्नेसुन्ने बनाइन् । उनले जति जाने वा पाए आमाकै कारण पाए तर सानैदेखि कुशाग्र बुद्धिका भएकाले एकपटक सुनेको र देखेको कुरा तत्कालै टिपिहाल्थे र त्यसलाई पुनः दो-याउन पर्दैथ्यो । बालोचित नटखटमा पनि यति अघि थिए कि उनलाई छुन सक्ने कोही पनि थिएन । 



भनिन्छ, एकदिन खेल्दै जाँदा तेनालीरामको भेट एकजना ज्ञानी सन्तसँग भयो । उनको नटखट देखेर सन्तले खुसी भएर एउटा मन्त्र दिँदै भने–



‘बच्चा ! तिमीलाई एउटा मन्त्र दिँदैछु । काली माताको मन्दिरमा गएर लाख पटक जप गर्नू ।’



सन्तको कुरा सुनेर तेनालीरामले थप नटखट देखाउँदै भने–



‘मन्त्र जप्नु कुन ठूलो कुरा भयो र जपौँला नै तर पहिले यो त बताउनुस् कि जपेवापत मलाई के फाइदा हुन्छ ?’



‘यति बढी हतार ?’ सन्तले खिस्स हाँस्दै भने–



‘जपेर त हेर, जबाफ आफै पाउनेछौ ।’

यति भनेर सन्त कतै लागे । तेनालीराम तत्कालै काली माताको मन्दिरमा गएर मन्त्र जप गर्न लागे ।

जब जपसङ्ख्या पूरा भयो काली माता सयवटा मुख भएको डर लाग्दो रूप लिएर प्रकट भइन् । त्यतिबेला कालीको सयवटै मुखबाट आगोको कोइला जस्तो जिब्रो बाहिर निस्केर लपलप गरिरहेको थियो । उनको स्वरूप देख्नासाथ भक्तजनहरू डराएर भाग्न लागे तर तेनालीराम भने डराउनुको सट्टा जोरले हाँस्न थाले । उनी हाँसेको देखेर काली माताले सोधिन्–

‘बाबु तेनलीराम ! मलाई के देख्यौ र हाँस्न लाग्यौ ?’

तेनालीरामले बालसुलभ चञ्चलता देखाउँदै भने–

‘मेरो एउटा नाक र दुईवटा हात छन् । तैपनि रुघा लागेको बेला सिँगान पुछ्न नभ्याएर हैरान हुन्छु तर तपाईँको त सयवटा नाक र दुईवटा हात रहेछन् । यस्तो अवस्थामा रुघा लागेको बेला तपाईँलाई कति बढी हैरानी होला भन्ने लागेर हाँसेको हुँ ।’

तेनालीरामको भोलापन देखेर काली माताले हाँस्दै भनिन्–

‘बेटा ! ज्यादै चतुर रहेछौ । भविष्यमा ठूला कवि हुनेछौ । तिम्रो कुराले सबैलाई मनोरञ्जन दिनेछ ।’

‘त्यसको मलाई के काम ?’ आफ्नो विवशता देखाउँदै तेनालीरामले भने–

‘दिने नै भए यस्तो वरदान दिनुस् ताकि धनी हुन सकौँ ।’

‘किन तिमीसँग धन छैन र ?’ तेनालीरामको मनोभाव बुझ्न खोज्दै काली माताले भनिन्–

‘धन भनेको खान लगाउनका लागि हो । त्योभन्दा बढी धनले दुःख बाहेक केही दिँदैन । तैपनि तिमी किन धनी हुन खोज्दै छौ ?’

‘मेरी आमालाई कति दुःख छ ।’ तेनालीरामले फुर्तीसाथ भने–

‘मसँग धन भएको भए आमाले थोरै यति बढी दुःख भोग्नुपर्नेथ्यो ?’

त्यसपछि काली माताले हातमा दुईवटा कचौरा लिँदै भनिन्–

‘यी कचौराहरू एकमा धन र अर्कोमा ज्ञान छ । यीमध्ये एउटा पाउनेछौ । अब तिमी नै भन यिनमा कुन लिन चाहन्छौ ?’

काली माताको कुरा सुनेर तेनालीराम सोच्न लागे–

‘मलाई त यी दुवै आवश्यक छन् । धन पनि चाहिएको छ विद्या पनि तर काली माता एउटा दिन्छु भनिरहेकी छिन् । कसरी दुईवटै कचौरा हत्याउने होला ।’

उनी सोच्न लागेको देखेर काली माताले भनिन्–

‘तिमी त सोच्न पो लाग्यौ त, के मेरो कुरा मन परेन ?’

‘होइन माताजी ! त्यस्तो होइन ।’

‘के हो त ?’

‘यही कि हेर्दैनहेरी कुन लिने भनौँ ।’ तेनालीरामले चलाखीपूर्वक भने–

‘दुईवटै कचौरा पाए पो हेरेर छान्न सजिलो हुन्थ्यो ।’

त्यसपछि काली माताले दुवै कचौरा थमाइदिइन् । कचौरा हातमा पर्नु के थियो दुवैलाई मुखमा लगाउँदै भने–

‘माताजी ! क्षमा गर्नुहोला । मलाई दुवै आवश्यक थियो त्यसैले यसो गरेको हुँ ।’

उनको सादापन देखेर काली माताले मुस्कुराउँदै भनिन्–

‘बाबु तेनालीराम ! अप्ठ्यारो मान्नुपर्दैन । तिमीदेखि धेरै खुसी छु । दुवै वरदान दिएँ । तिमीलाई धन र विद्या, बुद्धिको अभाव हुने छैन । जीवनमा एकपछि अर्को सफलता पाउँदै जानेछौ । जस्तोसुके अप्ठ्यारो कुराको पनि सहज तरिकाले समाधान गर्न सक्नेछौ तर याद राख्नु तिम्रा जति मित्र हुनेछन् शत्रु पनि त्योभन्दा कम हुने छैनन् । त्यसबाट भने होसियार रहनू ।’

यति भनेर काली माता अन्तरध्यान भइन् । उनले खुसी हुँदै घरमा गएर आमालाई सबै कुरा बताए ।

नभन्दै पछि गएर उनी विजय नगरका राजा कृष्णदेव रायको मन्त्री र प्रमुख सल्लाहकार बने । यसका लागि उनले कम कठिनाइ झेल्नुपरेको थिएन । स्वयं राजगुरु नै उनको विपक्षमा थिए । तैपनि उनको चतुराइका अगाडि गुरुको दाल गलेन । दरबारमा उनले चाँडै नै आफूलाई अब्बल कवि र असल सल्लाहकार सावित मात्र गराएनन् स्वयं राजा कृष्णदेवको ख्याति र प्रतिष्ठा फैलाउने कामसमेत गरे । उनलाई धनको कहिल्यै कमी भएन तर काली माताले भनेजस्तै शत्रु पनि कम थिएनन् तर सबैलाई एकएक गरी परास्त गर्दै राजाको प्रियपात्र बनिरहन सफल भए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X