आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

झापामा बहुरंगी गठबन्धन

शुक्रबार, २३ वैशाख २०७९, ०९ : ०१
शुक्रबार, २३ वैशाख २०७९

पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् ।

यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, “स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो ।”

कचनकबलमा काँग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बन्नुभएको छ । दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन् । सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बनेका छन् ।

यसैगरी कनकाई नगरपालिकामा काँग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ । काँग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए । एमालेले दुवैैलाई सोही पदमा दोहो-याएको छ ।

काँग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ । काँग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले काँग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाए ।थापाको गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ । गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन् । विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ । एमाले एक्लै चुनावी मैदानमा छ । दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् । एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । राप्रपासहितको गठबन्धनमा काँग्रेस र  माओवादी केन्द्र संलग्न छ । जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप