शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह

शुक्रबार, २३ वैशाख २०७९, ०८ : १३
शुक्रबार, २३ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । काँग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार काँग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । “जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्”, महामन्त्री शर्माले भने ।

अहिलेको समयमा काँग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पु¥याएर मतदान गर्न उनले मतदातासामु आग्रह गरे । तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उनले प्रशंसा गरे । तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताए । “जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन्”, उनले भने । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताए । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि काँग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गरिन् ।

काँग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्ने बाहेक अन्य केही काम नगरेको बताए । कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो । 

प्रदेशसभा सदस्य रमा अर्यालले महिलाका समस्या समाधान गर्न नेतृत्वमा महिला आउनुपर्ने बताए । काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार एवं काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवार बनेको धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप