शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धन भरतपुर केन्द्रित, चुनाव जित्ने एमालेको ४ दाबी

बिहीबार, २२ वैशाख २०७९, २२ : ४१
बिहीबार, २२ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ । आजका मुख्य समाचारमा चुनावी विषय नै रहेका छन् । बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आमसभा भएको छ भने एमाले अध्यक्ष केपी ओली पनि आमसभाकै लागि कैलाली पुगेका छन् । यता एमालेकै महासचिवले चुनावी अपिलमार्फत पार्टीले चुनाव जित्ने ४ आधारसहितको दाबी प्रस्तुत गरेका छन् । यसैगरी आईजीपी नियुक्ति विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकारलगायतका समाचारले पनि आज दिनभर महत्व पायो ।

१. गठबन्धन भरतपुर केन्द्रित

सत्ता गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आमसभा गरेको छ।  आमसभामा सहभागी हुन गठबन्धनका शीर्ष नेताहरु भरतपुर पुगेका छन् । भरतपुरमा माओवादीबाट मेयरको उम्मेदवार रहेका छन् भने उपमेयर काँग्रेसको भागमा परेको छ । भरतपुरमा काँग्रेसबाट जगन्नाथ पौडेलको बागी उम्मेदवारी परेपछि चुनावी माहोल पेचिलो बनेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताएका छन् । प्रचण्डले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने बताए ।

​यसैगरी कलाकार सन्दीप क्षत्रीले पनि भरतपुर महानगरपालिकामा रेनु दाहालको पक्षमा भोट मागेका छन् ।

​गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी छन् । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गरेकी हुन् ।

​नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताएका छन् ।  बिहीबार सत्ता गठबन्धनले भरतपुरमा आयोजना चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताए । उनले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेणु दाहालका लागि भोट मागेका छन् । बिहीबार भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेणुलाई मेयर छाडेको बताएका हुन् ।

​२. निर्वाचन आयोगको निर्णय

स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो ।

​३. चुनाव जित्ने एमालेको ४ दाबी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा एमालेले चुनाव जित्ने चारवटा आधार रहेको दावी गरेका छन् । उनले पाँच दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा हुन गइरहेको भन्दै अबको चुनावले नेपालको राजनीति स्पस्ट दुई ध्रुवमा बाँडिनुपर्ने पनि बताए ।

त्यसक्रममा उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति आवस्यक भएको भन्दै जति धेरै राजनीतिक दल रहन्छन् त्यति धेरै विचलन बढ्ने र बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने बताए । महासचिव पोखरेलले अहिलेको ध्रुवीकरणले एमाले राष्ट्रिय शक्तिका रुपमा अघि बढ्दै गएको समेत बताए ।

थप समाचार
४. बागीमाथि एक्सन

नेपाली काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । बिहीबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।

​५. उम्मेदवार अनसनमा

स्थानीय तहको चुनावमा मतदान गर्ने समय आउन मात्र एकसाता बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकाहरूलाई घरदैलो गर्न भ्याई नभ्याई छ । झन्डै डेढ लाख हाराहारी उम्मेदवारहरू भोट माग्ने चटारोमा रहेका बेला काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले भने आमरण अनसन थालेका छन् । उनको आमरण अनसनको एकसुत्रीय माग छ–‘सरकारले हेलिकोप्टर खरिद गर्नुपर्ने ।

६. अर्थतन्त्रमा कुन प्रदेशको हिस्सा कति ?

केही दिनअघि मात्र मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ३० करोड हाराहारी पुगेको घोषणा गरेको तथ्याङ्क विभागले बिहीबार प्रदेशस्तरीय योगदानको समेत तथ्याङ्क सार्वजनिक गरेको छ ।

विभागका अनुसार प्रदेशगत राष्ट्रिय उत्पादनसँगै आर्थिक वृद्धिदरमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको नै छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष यस प्रदेशको पर्फमेन्समा केहीँ ह्रास आएको छ ।

गत आर्थिक वर्ष २०७७–७८ मा नै कुल गार्हस्थ उत्पादनमा ३७.७ प्रतिशतको योगदान रहेको बागमती प्रदेशको यो वर्ष घटेर ३६.९ प्रतिशतमा झरेको छ । यद्यपि, समग्रमा प्रदेशको आर्थिक गतिविधि बढेपनि यस वर्ष अन्य प्रदेशको योगदान बढ्दा बागमती प्रदेशको केही कम देखिन गएको हो ।

७. विश्वराजको पक्षमा आएन आदेश

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । अन्तरिम आदेशबारे भनिएको छ, ‘निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धिरजप्रताप सिंहले काम शुरु समेत गरिसकेको भन्ने देखियो। निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरूपण हुने नै हुँदा हाल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन।’

​८. कैलालीमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोइकराइ गरेपछि सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्न पाएको बताएका छन् ।

कैलालीको बौनियामा आयोजित एमालेको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै ओलीले काँग्रेसले सातै प्रदेशमा आयोजना हुने चुनावी सभामा प्रचण्ड र माधव नेपाललाई बोल्न नदिने तयारी गरेपछि बालुवाटारमा गएर उनीहरुले रोइकराइ गरेपछि बल्ल भरतपुरमा बोल्ने मौका पाएको बताए ।

९. सेयर बजार र अमेरिकी सहयोग

बिहीबार पनि नेप्सेमा ३७ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेर २२ सय ७५ अंकमा झरेको नेप्से सूचक बिहीबार थप ३७‍.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको हो ।

​यसैगरी अमेरिकाले नेपाललाई एमसीसीभन्दा पनि ठूलो आर्थिक सहयोग दिने भएको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का  प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

​१०. यो पनि...

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्।  गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।

​जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको बताए। 

​प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले काँग्रेसको मेयर नभएको ठाउँमा पैसा नपाउने बताएकी छिन् । बिहिबार डडेल्धुरामा भएको कार्यक्रममा बोल्दै उनले हरुवा पार्टीलाई भोट नहाल्न पनि आग्रह गरिन् ।  राणाले भनिन्– ‘जहाँ काँग्रेसको मेयर नै हुँदैन त किन हामी पैसा पठाउँछौँ । यो कुरालाई पनि ध्यान दिएर यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’

​पालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

​जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप