शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा गठबन्धन, एमाले र राप्रपामा कसले मार्ला बाजी ?

यस्ता छन् चुनावी एजेन्डा
बिहीबार, २२ वैशाख २०७९, २१ : ४४
बिहीबार, २२ वैशाख २०७९

हेटौंडा उपमहानगरपालिकाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू चुनावी अभियान अन्तर्गत मत माग्न घरदैलो कार्यक्रममा केन्द्रित छन् ।

दल र स्वतन्त्र उम्मेदवारहरू उपमहानगरको विकासका लागि आफ्ना योजनासहित जनताको घरदैलोमा पुगेका छन् । हेटौंडा उपमहानगरपालिकाको सेवा प्रवाह, सुशासन, विकास र आम जनताको आधारभूत आवश्यकतालाई उनीहरुले आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।

शिक्षा स्वास्थ्य, रोजगारी लगायतका विषय उम्मेदवारहरूको मुख्य योजना बनेका छन् । हेटौंडालाई व्यवस्थित र आधुनिक सहरको रुपमा विकास गर्दै औद्योगिक क्रान्तिमा आफूहरु लागिपर्ने उनीहरुको मुख्य एजेन्डा छ ।

हेटौंडा उपमहानगरमा विगतमा नेकपा एमालेले मेयर र उपमेयर दुवै पद जिते पनि अहिले एमाले विभाजन भएकाले तुलनात्मक रुपमा केही कमजोर देखिएको छ । यहाँ सत्तारुढ गठबन्धनले तालमेलका आधारमा मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसबाट उम्मेदवार खडा गरेको छ । अर्कोतिर राप्रपाले पनि हेटौंडामा आफ्नो जनमत राम्रो रहेको दाबी गर्दै आएको छ ।

हेटौंडा उपमहानगरको मेयरमा १८ जनाले उम्मेदवारी दिए पनि मुख्य रुपमा यिनै तीन पक्षबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

सत्तारुढ गठबन्धनका उम्मेदवारको एजेन्डा

५ वर्ष हेटौंडाको उपमेयर भएर काम गरेकी नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ को वडा अध्यक्ष भएर काम गरिसकेका नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् ।

हेटौंडालाई समृद्ध नगरका रूपमा विकास गर्ने आफूहरुको योजना रहेको उनीहरु बताउँछन् । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि नगर क्षेत्रका नागरिकलाई मासिक १२ हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्ने, न्यूनतम ३०० युनिट विद्युत् महसुल निःशुल्क गर्ने, सबै वडामा स्वास्थ्य चौकी निर्माण गरी डाक्टरसहितको सेवा उपलब्ध गराउने, चिकित्सा स्वास्थ्य अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने योजना अघि सारेका छन् ।

उनीहरुले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्रत्येक वडामा मिनी रङ्गशाला, कभर्डहल, व्यायामशाला र पुस्तकालय निर्माण गर्ने, फुटबल खेलको विकासका लागि वार्षिक १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने उल्लेख छ ।

हेटौंडाको साँघुरा सडक फराकिलो बनाउने विषय संघीय सरकारसँग समन्वय गरी बजारवासीको चित्त बुझाएर हल गर्ने, ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै स्वास्थ्य सेवा दिइने, ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने, न्यून मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने उनीहरुले घोषणापत्रमा उल्लेख गरेका छन् ।

नगर क्षेत्रका सम्पूर्ण विकास पूर्वाधारका काम सञ्चालन गरिने, दीर्घकालीन योजना र वृहत प्रकारका योजना कार्यान्वयनका लागि हेटौंडा विकास प्राधिकरण गठन गरिने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्क निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि गठबन्धनका उम्मेदवारले अघि सारेका छन् ।

नगरमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन गर्ने, भोकाहरुको लागि खानाको व्यवस्थापन गर्ने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवर्द्धन र विकासका कार्यक्रम गर्न प्रतिवद्ध रहेको सत्तारुढ गठबन्धनले जनाएको छ ।

महिलालाई स्वरोजगार बनाउने, युवा उद्यमशीलतालाई विकास गर्ने, सहुलियत कर्जाको व्यवस्था गर्ने, रोजगारी सिर्जनाका लागि हेटौंडा औद्योगिक क्षेत्र र मयुरधाप औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि पहल गर्नेजस्ता योजना पनि गठबन्धनले अघि सारेको छ ।

यस्तै, सुत्केरी महिलाका लागि ३ महिनासम्म मासिक ५ हजार रुपैयाँको दरले पोषण कार्यक्रम अन्तर्गत भत्ता वितरण गर्ने, विपद् व्यवस्थापनका लागि आवश्यक योजनाहरुमा काम गर्ने, फोहोरमैला व्यवस्थापनमा वैज्ञानिक प्रविधिको प्रयोग गर्ने, हेटौंडालाई व्यवस्थित सहरका रुपमा विकास गरी पर्यटकीय रुपमा अघि बढाउने जस्ता योजना गठबन्धनका उम्मेदवारले अघि सारेका छन् ।

एमालेका एजेन्डा

नेकपा एमालेबाट हेटौंडाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले हेटौंडालाई ‘आहा’ भन्ने सहरका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारेका छन् । हेटौंडाको साँघुरा सडक विस्तार गर्ने, अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्ने उनीहरुको मुख्य योजना छ ।

हेटौंडा औद्योगिक नगरी पनि भएकाले हेटौंडा–१४, मयूरधापमा निर्माण हुन लागेको नयाँ औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याएर उद्योग स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्ने, खानेपानी र विद्युत् सेवा निःशुल्क उपलब्ध गराउनेजस्ता योजना उनीहरुको घोषणापत्रमा उल्लेख छ ।

बालबालिका, युवा र महिला लक्षित योजना सञ्चालन गर्ने, नगरभित्रका हरेक घरमा मासिक १० हजार लिटर निःशुल्क खानेपानी वितरण गर्ने, हेटौंडाको परिचय तथा परम्परागत संस्कृति झल्काउने गरी हिडिम्बा टावर निर्माण गर्ने, दीर्घकालीन सोचसहित योजनावद्ध विकास, पूर्वाधार तथा सहरी विकास, आर्थिक विकास, सामाजिक सांस्कृतिक विकासलाई एमालेले एजेन्डा बनाएको छ । यस्तै वन, वातावरणको संरक्षण तथा विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास तथा राजस्व, खर्च, बाह्य स्रोत र सहकार्य लगायतका योजना एमालेका उम्मेदवारले अघि सारेका छन् ।

समयसमयमा रणनीतिक परामर्शका लागि सबै पक्ष समेटेर नगर विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मूल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरु योजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने, नगर यातायात गुरुयोजना तयार गर्ने लगायतका योजना एमाले हेटौंडा उपमहानगरपालिकाको चुनावी प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यातायात व्यवस्थापन तथा संघीय सरकारको निर्देशन अनुसार २५ मिटर सडक विस्तार गर्ने अथवा वैकल्पिक सडक निर्माणको काम गर्ने भन्ने विषयलाई पनि कार्यान्वयन गर्ने, नगरभित्रका अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने लगायतका योजना पनि एमालेले अघि सारेको छ ।

राप्रपाका एजेन्डा यस्ता छन्

राप्रपाबाट मेयरमा दीपकबहादुर सिंह र उपमेयरमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दिएका छन् । राप्रपाले हेटौंडालाई सुशासन र भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिवद्धता जनाएको छ ।

हाल उपमहानगरमा नक्सा पास गर्दा भ्रष्टाचार हुने गरेकाले त्यसलाई तत्काल सुधार्न गर्ने, हेटौंडाका साँघुरा सडकलाई स्तरोन्नति र विस्तार गर्ने, हेटौंडामा चक्रपथ निर्माण गर्ने योजना राप्रपाका उम्मेदवारले अघि सारेका छन् ।

उपमहानगरले विभिन्न बहानामा लिने गरेको करमा ५० प्रतिशतसम्म कटौती गरी करको दायरालाई वृद्धि गर्ने, राज्यले ज्येष्ठ नागरिकलाई दिएको वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाउने, सरकारबाट पाउने तलब भत्ता, सुविधा रकममा आफूले दोब्बर थप गरी वडाहरूमा स्वास्थ्य तथा शिक्षाका लागि कमजोर वर्गको उत्थान गर्ने, भूमिहीन सुकुमवासीहरूका लागि तत्काल लालपूर्जा वितरणको व्यवस्था मिलाउने प्रतिवद्धता पनि राप्रपाले जनाएको छ ।

१२ कक्षासम्म निःशुल्क शिक्षा, अनिवार्य कम्प्युटर शिक्षा, छात्राहरूलाई निःशुल्क गुणस्तरीय सेनेटरी प्याड वितरण गर्ने, विपन्न तथा अल्पसंख्यक प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष एक–एक जनालाई इन्जिनियरिङ्ग र चिकित्साशास्त्रको स्नातक तहमा पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने, प्राथमिक तहसम्म मातृभाषामा शिक्षा तत्काल कार्यान्वयन गर्ने योजना पनि राप्रपाका उम्मेदवारले अघि सारेका छन् ।

हेटौंडाका नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बीमा गर्ने, सबै स्वास्थ्य चौकीमा निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, सुत्केरीहरूलाई पोषण भत्ताबापत प्रत्येक महिना ३ हजारका दरले ३ महिनासम्म उपलब्ध गराउने, किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाउने, गाई, भैंसी, बाख्रामा कृत्रिम गर्भधान सेवा पूर्ण रूपमा निःशुल्क गर्ने राप्रपाको घोषणा छ ।

यस्तै, किसानको खेतखेतमा बिजुली तथा सिंचाईको व्यवस्था गर्ने, कृषिजन्य व्यवसायमा अनुदानको व्यवस्था गर्ने, घरायसी प्रयोजनमा प्रयोग हुने पिउने पानीको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने, रोजगारमूलक उद्योग सञ्चालन गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा दश वर्षसम्म स्थानीय कर छुटको व्यवस्था गर्ने, सामाजिक कुरीति, दुर्व्यसन, अन्धविश्वास, विभेद र असमानताविरुद्ध युवा परिचालन गर्ने, स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षणलाई उच्चस्तरीय प्रशिक्षण र प्रोत्साहन गर्ने पनि राप्रपाको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सिप सिकेका युवालाई बिना धितो ऋणको व्यवस्था गर्ने, मुख्य मुख्य सार्वजनिक स्थानमा सार्वजनिक शौचालयको व्यवस्था गर्ने, अति विपन्न परिवारका लागि परिचयपत्र र सुपथ मूल्यको पसलको व्यवस्थापन गर्ने, स्थानीय तहबाट उत्सर्जन हुने फोहोरमैला प्रदुषण तथा ढल निकासको उचित व्यवस्थापन गर्ने लगायतका योजना राप्रपाका उम्मेदवारले अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप