मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बिहीबार, २२ वैशाख २०७९, २३ : १६
बिहीबार, २२ वैशाख २०७९

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । अन्तरिम आदेशबारे भनिएको छ, ‘निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धिरज प्रताप सिंहले काम शुरु समेत गरिसकेको भन्ने देखियो। निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरोपण हुने नै हुँदा हाल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन।’

यस्तै आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदन प्रहरी प्रशासनको प्रमुख प्रहरी महानिरीक्षकको पदमा गरिएको बढुवा नियुक्ति कानून बमोजिमको प्रकृयाबाट नभएको भन्ने सम्वेदनशील प्रश्नसँग सम्बन्धित भएको र निवेदकको सेवा अवधि मिति २०७९।४।२० सम्म मात्र भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनको सुनुवाई छिटो छरितो रुपमा हुन आवश्यक देखिएकोले लिखित जवाफ पेश गर्न म्याद नथामिने गरी र दुवै पक्षका तर्फबाट पेशी समेत स्थगित नहुने पूर्व जनाउ दुवै पक्षलाई दिई पूर्ण सुनवाइको लागि मिति २०७९।२।१७ गतेको पेशी तोकी निवेदक र विपक्षी धिरज प्रताप सिंहको व्यक्तिगत फाइल र निवेदनमा उल्लेखित मिति २०७९।१।१८ को प्रस्ताव सहितको निर्णय मिसिल समेत झिकाई नियमबमोजिम पेश गर्नुहोला।’

योसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई नियमित कामकाज गर्ने बाटो खुलेको छ । अब यो मुद्दाको बाँकी सुनुवाइ जेठ १७ पछि मात्र हुने हुँदा उक्त मुद्दाको अन्तिम किनारा लाग्न समय लाग्नेछ । साउन २० गते भित्र उक्त मुद्दाको फैसला नभएमा एआईजी विश्वराज पोखरेल ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

आईजीपी नियुक्तिमा असहमति जनाउँदै  एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए । 

सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । उता पोखरेल पक्षमा वकिलहरु मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप