शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनको घरदैलो : सेल्फी खिच्ने, टिकटक बनाउनेको होड (भिडियो)

मझधारका मतदातालाई छोराछोरीको प्रेसर
बिहीबार, २२ वैशाख २०७९, १५ : ५५
बिहीबार, २२ वैशाख २०७९

पुरानै भेषमा सजिएका छन् बालेन साह । कालो चस्मा, टिसर्टमाथि कालो कोट पाइन्ट, जुत्ता अनि अनि काँधमा नेपालको झण्डा र हातमा लौरो लिएर आफ्नै गतिमा दौडिरहेका छन् साह । घर, पसल, बार्दली अनि सडकका दायाँ बायाँ किनारमा बसेका मतदातालाई नमस्कार गर्दै आफ्नो चुनावी घोषणा पत्र थमाउँदैमा उनी व्यस्त छन् ।

‘भ्रष्टाचारीलाई चोटै चोट, बालेन साहलाई भोटै भोट । युवा अघि सर्छ, देश अघि बढ्छ,’ बुधबार साँझ काठमाडौँ महानगरपालिका–७ सिफल क्षेत्रमा घरदैलो कार्यक्रममा भेटिएका बालेनका अघि पछि गुञ्जिएका नारा हुन् यी । लौरो चुनाव चिन्ह अङ्कित झण्डासँगै गुञ्जिएका नारामा युवाको जोश थियो, मेयर बनेर महानगरको कायापलट गर्छु भन्ने आत्मविश्वास बालेनमा देखिन्थ्यो । तर, उनका साथमा सिफलबासी मतदाताभन्दा उनका फ्यान फलोअर्सको क्रेज उच्च थियो । सिफल चौतारा नजिकैबाट सुरु भएको बालेनको घरदैलो अभियानमा साथ दिइरहेका थिए कलाकार निर्मल शर्मा (गैँडा), स्वप्निल शर्मा आदि । सिफल क्षेत्र कलाकार शर्माको आफ्नै बसोबासको क्षेत्र पनि हो, त्यसैले बालेनलाई सहजीकरण गर्न उनको उपस्थिति त्यहाँ अर्थपूर्ण थियो ।

सुरुमा १५/२० जना भेला भएर सिफल चौतारा नजिकैबाट सुरु भएको घरदैलो अभियानमा त्यसको १५/२० मिनेट पछि सय/डेढ सयको उपस्थिति पुग्यो । तर, त्यहाँ बालेनका मतदाताभन्दा उनीसँग सेल्फी खिच्न, टिकटक बनाउन रुचाउनेको उपस्थिति बाक्लिँदै गएको भान हुन्थ्यो । अझ भनौँ सामाजिक सञ्जालबाट बालेनलाई चिन्नेहरूको भीड त्यहाँ बढ्दै थियो । 

रातोपाटी टिम बालेनको चुनावी घरदैलो कार्यक्रममा करिब १ घण्टा सँगसँगै रह्यो । अन्य राजनीतिक दल वा दलका उम्मेदवार भन्दा उनको अभियान केही भिन्न देखिन्थ्यो । उनी नमस्कार गर्ने, लौरोमा भोट माग्ने अनि घोषणापत्र तथा नमुना मतपत्र हात हातमा थमाएर महानगरका सबै घरमा पुग्ने अभियानमा थिए ।

​आफ्नो घरको मूल गेटमा बालेनलाई देख्नासाथ सिफलका स्थानीय एलपी प्रसाईले खुसी हुँदै खादा र रुद्राक्षको माला लगाएर जितको अग्रिम शुभकामना दिए । उनको स्वागतपछि प्रसाईले रातोपाटीसँग भने, ‘हामी शान्ति र विकास सँगसँगै चाहन्छौं । अनि, यसका लागि रूपान्तरणको बलियो आधार भनेको बालेन साहमा देख्छौँ । मुलुकको दिगो विकास र रूपान्तरणका लागि उहाँजस्तो होनहार युवाको खाँचो छ ।’ प्रसाईले बालेनको प्रतिज्ञापत्र पढेका छैनन् तर उनको अन्तर्वार्ता, अन्तरक्रिया खुबै चासोका साथ हेरेकाले पनि रूपान्तरणका लागि सक्षम उम्मेदवार बालेनमा देखिरहेको बताए । 

यस्तै अर्का स्थानीय मतदाता मोहन ढकाल आफू अन्य राजनीतिक दलसँग आबद्ध भए पनि यस पटक बालेनलाई नै मतदान गर्ने मुडमा छन् । ‘दलभित्र नातावाद, कृपावाद झाँगिँदै गएको छ । टिकट बाँड्ने विषय पनि त्यस्तै देखिन्छ । फेरि दलहरूलाई हामीले धेरै हेर्‍यौँ , नातागोता पोस्ने, सम्पत्ति आर्जन गर्ने प्रवृत्ति मात्र देखियो,’, ढकाल थप्छन्,‘बालेन एउटा इन्जिनियर पनि हुन् । त्यसैले नगरको विकास उहाँले गर्नुहोला भन्ने आश छ ।’ सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट चिनेका मतदाता उनको पक्षमा छन्, निर्वाचनमा मत खसाउलान्, नखसाउलान् तर रातोपाटीको प्रश्नमा उनीहरूले बालेनको पक्षमा देखिए । 

अर्कोतर्फ दलीय राजनीतिक चेत भएका मतदाता भने बालेनका लागि मझधारमा देखिन्छन् । अर्थात् स्थानीय तहको सरकारका लागि दलभन्दा माथि उठ्नुपर्छ भन्ने चेत धेरैमा छ तर स्वतन्त्रलाई मत हाल्ने नहाल्नेमा द्विविधा मतदाता देखिन्छन् । सिफलकै धेरै स्थानीयको भनाइ छ, ‘केटाकेटीले बालेनलाई भोट हाल्नु पर्छ है भन्दै उफ्रिरहेका हुन्छन्, हेरौँ यो पटक के हुन्छ !’ 

‘पुरातन सोच र यथास्थितिवादीहरू पनि यसपालि परिवर्तन आवश्यक छ भनेर अघि बढ्नु भएको छ, बालेनलाई भोट हाल्नेको सङ्ख्या बढ्दो छ,’ बालेनको घरदैलो अभियानमा जोडिएका कालाकार निर्मला शर्मा भन्छन्, ‘एउटा पढेको मान्छे, भिजन भएको युवा, कुनै पनि पार्टीको टिकट नबोकी नेपालको झण्डा बोकेर मैदानमा होमिएको छ । पुराना पार्टीलाई मात्रै भोट दिएर त परिवर्तन असम्भव छ । त्यसैले बारम्बार त्यो गल्ती दोहोर्‍याउनु भन्दा यसपालि बालेनलाई मत दिएर काम गर्न दिऊँ भन्ने मेरो आग्रह हो ।’

कलाकार शर्मा आफू व्यक्तिको पक्षमा नभएर परिवर्तनको पक्षमा रहेको प्रस्ट्याउँदै थप्छन्,‘उसलाई मत दिएर उसको काम गर्ने शैली त हेरौँ । पछि उसको काम चित्त बुझेन भने फेरी उसको पनि विरोध गरौँला, र्‍याली निकालौँला तर अहिले चाँहि काठमाडौँलाई जुन हिसाबले काम गर्छु भनेर लागेको छ त्यो गर्न दिऊँ । 

सिफल नजिकै पन्नाहिटी मार्गका स्थानीय मतदाता बालेनको चुनाव चिन्हमाथि बहस गर्दै थिए । क्यामेरा अगाडि बोल्न नचाहेका उनीहरू राजनीतिक दललाई छाडेर लौरोमा पनि मत हाल्न सक्छौँ भन्दै देखिन्थे । बालेनको घरदैलो अभियानअघि बढ्दै गर्दा युवाको उच्च क्रेज देखेका अधिकांश मतदाता बालेनप्रति उत्सुक देखिन्छन् । 

बालेन आफूले अपेक्षा गरेको भन्दा धेरै मत पाउनेमा आशावादी छन् । निर्वाचन चिन्ह नपाउँदै ९० हजार माथि मत पाउने दाबी गर्दै आएका बालेन त्यो सङ्ख्या निकै माथि पुग्ने दाबी गर्छन् । सिफलकै चुनावी घरदैलो कार्यक्रमका बीचमा रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘मतदातासमक्ष धेरै मिहिनेत गर्नु परको छैन । भेट्न आउनुहोस् हामी भोट दिन्छौँ भन्ने धेरै हुनुहुन्छ । भेट्न जान नसके पनि भोट दिनुहुन्छ भन्नेमा आशावादी छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप