शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगर : ३० वर्षे विरासत जोगाउन एमालेलाई कमल थापाको साथ

एमालेको मत काट्ने गठबन्धनको रणनीति
बिहीबार, २२ वैशाख २०७९, १३ : १४
बिहीबार, २२ वैशाख २०७९

स्थानीय तहको निर्वाचन आउन ९ दिन बाँकी छ । दशैभर चुनावी माहौल बनेको छ । उम्मेदवारहरू मतदातालाई भेट्दै मत माग्न व्यस्त छन् ।

बागमती प्रदेशको राजधानी हेटौँडामा पनि चुनावी माहौल तातेको छ । हेटौँडा उपमहानगरपालिकाको हरेक चोक निर्वाचनमय बनेको छ । उम्मेदवार तथा विभिन्न दलका कार्यकर्ता चुनावी अभियानका क्रियाशील देखिन्छन् ।

साविकका चुरियामाई, पदमपोखरी, हटिया, हर्नामाडी र बसामाडी गाउँ विकास समितिसमेतलाई हेटौँडा नगरपालिकामा गाभेर २०७१ मङ्सिर १८ गते उपमहानगरपालिका बनाइएको हो । उपमहानगरमा १९ वडा छन् ।

नगरपालिका रहँदादेखि नै यहाँ नेकपा एमालेको प्रभाव थियो । विगत ३० वर्षदेखि हेटौँडामा नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । २०४९ देखि २०७४ सालसम्मको स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् ।

२०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा हेटौँडाको मेयर र उपमेयरमा एमालेका डोरमणि पौडेल र हरिबहादुर महतले विजय प्राप्त गरेका थिए । उनीहरूले २ कार्यकाल नै हेटौँडाको नेतृत्व लिएर विकासको काममा सक्रिय भूमिका खेलेको एमालेको दाबी छ । त्यसैले पनि हेटौँडामा एमालेको बलियो पकड रहेको एमालेका नेताहरू बताउँछन् ।

२०७४ सालको निर्वाचनमा हेटौँडाको मेयर र उपमेयरमा एमालेका हरिबहादुर महत र मीनाकुमारी लामा विजयी भए । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबीच पनि एमालेका उम्मेदवारहरूले हेटौँडाको नेतृत्वमा जित हासिल गरे ।

३० वर्षे विरासत जोगाउन एमालेलाई चुनौती

विगत ३० वर्षदेखि हेटौँडा उपमहानगरपालिकाको नेतृत्व लिँदै आएको एमालेलाई आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुने देखिएको छ । एमालेले हेटौँडामा जितको ‘ह्याट्रिक’ गरिसकेको छ । त्यसलाई निरन्तरता दिन चुनौतीका बीच सत्तारुढ गठबन्धन विरुद्ध भिड्दै छ ।

हेटौँडामा एमाले विरुद्ध सत्तारुढ दल एक ढिक्का बनेर निर्वाचनमा होमिएका छन् । एमालेलाई हराउन काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकताबद्ध भएर निर्वाचनको तयारीमा जुटेका छन् ।

विभाजनको असर भोगेको एमाले हेटौँडामा कमजोर भएको र त्यसकै फाइदा उठाउने गठबन्धनका दलहरूको योजना छ । एमाले विभाजन भइसकेका कारण पनि हेटौँडाको चुनावी परिणाम विगतको तुलनामा पृथक हुने सत्तारुढ गठबन्धनको दाबी छ ।

यता एमाले विगत ३० वर्षको विरासत जोगाउन प्रयासरत छ । आफ्नो वर्चस्व जोगाउने उद्देश्य अनुसार हेटौँडाको मेयरमा एमालेले ‘हेभिवेट’ नेतालाई मैदानमा उतारेको छ ।

एमालेले हेटौँडाको मेयर पदमा मकवानपुरका पुराना नेता अनन्त पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

एमालेको मत काट्ने गठबन्धनको रणनीति

एमाले विरुद्ध एक ढिक्का बनेर अघि बढेको सत्तारुढ गठबन्धन एमालेको मत काट्ने रणनीतिमा जुटेको छ । जसका लागि सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेसले आफ्नो भागमा सहज रूपमा परेको हेटौँडाको मेयर पद एकीकृत समाजवादीलाई जिम्मा लगाएको छ । यहाँ नेकपा एकीकृत समाजवादीलाई मेयर र काँग्रेसले उपमेयरमा उम्मेदवारी दिएको छ ।

एकीकृत समाजवादीले हेटौँडाको मेयर पदमा निवर्तमान उपमेयर मीनाकुमारी लामालाई टिकट दिएको छ । उपमेयरका रूपमा एक कार्यकाल पूरा गरिसकेको र लामो समय एमालेको राजनीतिमा रहेकी लामाले अहिले पनि एमालेको मत काट्ने गठबन्धन घटकको विश्वास छ ।

एमालेभित्र लामालाई रुचाउने कार्यकर्ता र मतदाता रहेकाले पनि उनलाई मेयर पदमा उठाएको गठबन्धन घटककै नेताहरू बताउँछन् । लामाले आफ्नो पार्टीको संगठित मतसहित एमालेको ३÷४ हजार मत काट्ने अनुमान गरिएको छ ।

कमल थापाको साथबाट एमालेलाई राहत

आगामी निर्वाचनमा हेटौँडामा एमालेलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गरेको छ । राप्रपाबाट छुट्टिएर राप्रपा नेपाल ब्यूँताएका थापाको हेटौँडामा निकै कम प्रभाव देखिएको छ । आफ्नो दलबाट कुनै पनि उम्मेदवार नदिइ थापाले एमालेलाई मत हाल्न आफ्ना कार्यकर्तालाई उर्दी जारी गरिसकेका छन् ।

यता, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हेटौँडाको मेयर–उपमेयरसहित सबै वडामा उम्मेदवार खडा गरेको छ । थापाले आफ्नै गृहनगरमा पार्टीलाई उम्मेदवारविहीन बनाएर एमालेलाई सघाउने निर्णय गरे पनि राप्रपा भने टिमसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको हो । २०७४ सालको निर्वाचनमा राप्रपाबाट हेटौँडाको मेयर पदमा मधुकर प्रसाद अधिकारी उम्मेदवार थिए । उनले करिव ७ हजार मत पाएका थिए ।

यस्तो छ चुनावी आँकडा

एमालेका पौडेललाई पनि आगामी निर्वाचन भारी पर्ने देखिएको छ । २०७४ सालको निर्वाचन परिणामअनुसार हेटौँडाको १९ वटा वडामा एमालेको २३ हजार ५०० मत छ । जुन २०७४ सालमा एमालेका हरिबहादुर महतले पाएका थिए ।

एमाले विभाजनपछि मकवानपुरमा बलियो पकड बनाएका बहालवाला स्वास्थ्य मन्त्री विरोध खतिवडा एकीकृत समाजवादीमा आवद्ध छन् । उनीसँगै उनकी पत्नी मुनु सिग्देलसहित प्रभावशाली नेताहरू एकीकृत समाजवादीमा लागेका छन् । हेटौंडाका थुप्रै एमाले कार्यकर्ता पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हेटौँडा उपमहानगरमा १ लाख ४ हजार ४७३ मतदाता छन् । जसमध्ये करिव ३१ प्रतिशत मतदाता जनजाति, ३९ प्रतिशत ब्राह्मण, क्षेत्री छन् । अन्य ३० प्रतिशत छन् । गठबन्धनकी साझा उम्मेदवार लामाले जातीय मत पनि आफूतिर तान्ने देखिन्छ ।

एमालेलाई विगतको मत जोगाउनु पर्ने चुनौतीका बीच हेटौँडामा थपिएका २० हजार ८७८ नयाँ मतदातामध्ये एमालेलाई कतिले विश्वास गर्छन् भन्ने कुराले पनि चुनावी परिणाम निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप