बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिपुरको रोचक चुनावी भिडन्त : एमालेको अन्तर्विरोधले भोट बढ्ने विपक्षीको आश

बिहीबार, २२ वैशाख २०७९, ०९ : ५९
बिहीबार, २२ वैशाख २०७९

त्रिभुवन विश्वविद्यालय माथिको ऐतिहासिक सहर कीर्तिपुर बजारमा दिउँसोको समयमा यात्रा गर्ने हो भने चुनाव आएको छ र ? भन्ने प्रश्न उठ्न सक्छ । 

बजारभित्र सडकका पोल, घर, बाटो घाटोमा पार्टीका झण्डा ब्यानर बिरलै भेटिन्छ । दिउँसो दलको दलबल र प्रचार जुलुस पनि देखिँदैन । उम्मेदवार तथा कार्यकर्ताहरूले बिहान र साँझको समयमा मात्र घरदैलो कार्यक्रम गर्ने गरेका छन् । बिहान १० बजेपछि कार्यालय जानुपर्ने भएकोले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेपछि घरदैलो कार्यक्रम राख्ने गरिएको माओवादी केन्द्रका स्थानीय नेताले बताए ।  

बुधबार दिउँसो पनि कीर्तिपुरको वातावरण अघिपछि झैँ सामान्य थियो । बजारभित्र स्थानीयहरू आफ्नो काममा व्यस्त थिए । राजनीतिक दलको कार्यालयमा मात्र झण्डा ब्यानर राख्ने दलहरूबीचको भद्र सहमतिका कारण बजार छरपस्ट रूपमा चुनाव चिन्ह तथा पार्टीको झण्डा थिएन । 

यद्यपि प्रत्येक वडा–वडामा भने एमाले, काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा लगायतका दलहरूले झण्डा ब्यानर सहित पार्टीको सम्पर्क कार्यालय खोलेका छन् । 

स्थानीय तहको चुनावका लागि सत्तापक्ष दलले देशभर गठबन्धन बनाउन खोजेपनि त्यसको प्रभावकारी कार्यान्वयन भएन । जुन अवस्था कीर्तिपुरमा पनि देखिएको छ । यहाँ काँग्रेससँग उपेन्द्र यादवको जनता समाजवादी पार्टीले तालमेल गरेको भनिए पनि सो दलको तर्फबाट रुख चिन्ह लिएर उपमेयरका पदका लागि उम्मेदवारी परेको छ । यसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेको उम्मेदवारको प्यानल पनि १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति बनाएर निर्वाचनमा होमिएको छ । 

एमालेको अन्तर्विरोधले भोट बढ्ने आशमा विपक्षी 

कीर्तिपुर नगरपालिमा एमालेबाट मेयरको टिकट वितरणमा देखिएको अन्तर्विरोध र पार्टीभित्रको अन्तर्विरोधका कारण आफूलाई फाइदा पुग्नेमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आश गरेका छन् । एमालेमा लामो समय काम गरेका नेताले कीर्तिपुरमा टिकट नपाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट भएका कारण मेयरका लागि केशरत्न बज्राचार्यले टिकट पाएकाले एमालेभित्र अन्तर्विरोध रहेको विपक्षी दलको बुझाइ रहेको छ । 

एमाले उम्मेदवार बज्राचार्य २०६० देखि ६२ सालसम्म राजाको शासनकालमा कीर्तिपुर नगरपालिकाका मेयरको सचिवको भूमिका निर्वाह गरेको उनका प्रतिस्पर्धी दलका एक नेताले बताए । २०६२/०६३ को जनआन्दोलन सफल भएपछि उनले तत्कालीन माओवादीबाट राजनीति अघि बढाएका थिए । माओवादी फुटेपछि उनी २०७० सालतिर डा.बाबुराम भट्टराईको नयाँ शक्तिमा आबद्ध भएका थिए । 

२०७४ सालको स्थानीय तहमा उनी नयाँ शक्तिबाट कीर्तिपुर वडा नम्बर १० को वडा अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए । २०७४ सालको प्रदेश सभा चुनावमा पनि उनले नयाँ शक्तिबाटै प्रदेश सभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका थिए । सो चुनावमा पनि पराजय भोगेपछि उनी एमाले प्रवेश गरेका थिए । राधिका शाक्यसँग बज्राचार्यको पनि नाता जोडिएकोले बालकोटको आशीर्वादमा कीर्तिपुरका पुराना एमाले नेताहरूलाई पछि पार्दै उनले मेयरको टिकट हात पारेको स्थानीय नेताहरूको दाबी छ । 

उता काँग्रेसको प्यानलबाट उपमेयर बनेकी सुनिता शाक्य महर्जनको पृष्ठभूमि माओवादी रहेको छ । पहिले माओवादीबाट राजनीति गरेकी उनी पनि बाबुराम भट्टराईको नयाँ शक्तिमा गएकी थिइन् । हाल जसपामा रहेकी उनले रुख चुनाव चिन्हमै उपमेयर लड्न लागेकी हुन् । 

पुरानो एमाले छँदा कीर्तिपुर एमालेमा केपी शर्मा ओली पक्ष कमजोर र माधव कुमार नेपाल पक्ष बलियो रहेको र पार्टी फुटपछि थोरै सङ्ख्याका कार्यकर्ता मात्र एकीकृत समाजवादीमा गएका एमालेका एक स्थानीय नेताले बताए । 

माधव पक्षका कार्यकर्ताहरू पनि हाल एमालेमै रहेकाले उनीहरूको भोट एमालेमा नगई आफूलाई आउनेमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसका उम्मेदवारको आश रहेको छ । 

यता काँग्रेसमा पनि नगर प्रमुखको उम्मेदवार चयनमा भएको असन्तुष्टि र पार्टीभित्रको गुट र असन्तुष्ट पक्षको भोट आफूले पाउने माओवादी केन्द्रको विश्वास छ । काँग्रेस मतदाताको राम्रो उपस्थिति भए पनि २०७४ सालको स्थानीय तहको चुनावमा बागी उम्मेदवार उठेका कारण काँग्रेसले पराजय भोग्नु परेको थियो । अहिले बागी उम्मेदवार नभए पनि सुरुमा कीर्तिपुर नगर सभापति कृष्णमान डंगोलले मेयरको टिकट पाउने भनेर प्रचार गरिए पनि अन्तिम समयमा आएर काठमाडौँ जिल्ला उपसभापति राजकुमार नकर्मीले नगरप्रमुखको टिकट हात पारेका थिए । 

यता नेकपा एकीकृत समाजवादी आफ्नो मत सर्वेक्षणकै लागि भए पनि गठबन्धन नगरी चुनावमा होमिएको एक नेताले बताए । आफ्नो मतदाता कति छन् भन्ने पनि थाहा हुने र एमालेभित्र रहेका माधव नेपाल पक्षधरको भोट पनि आफूले पाउन सक्ने भएकोले जित्न सकिने समाजवादीका उम्मेदवारहरूको विश्वास रहेको छ । 

सामाजिक सञ्जालको प्रचारले गलत बुझाई भयो : एमाले मेयरका उम्मेदवार बज्राचार्य

कीर्तिपुर एमालेका मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले भने विपक्षीको उक्त आशा पुरा नहुने बताएका छन् । सामाजिक सञ्जालमा प्रचार भएकोले गलत बुझाई भएको र एमालेको पुरै टिम निर्वाचनमा होमिएको उनले बताए । 

रातोपाटीसँगको कुराकानीमा उनले भने–‘हामीले काँग्रेसको गठबन्धनको पनि हिसाब किताब गरेका छौँ । उनीहरूको गठबन्धनको नाममा गठबन्धन मात्रै छ । हाम्रो योजना देखेर कीर्तिपुरवासीमा जुन उत्साह आएको छ त्यसले हामीलाई गौरवान्वित बनाएको छ । सबै दल मिलेर गठबन्धन बनाएर आए पनि एमालेले एक्लै लडेर देखाइदिने भनेरै लागेको हो । पार्टी अध्यक्ष  केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल भन्ने सिद्धान्तबाट प्रभावित भएर हामी पनि सुखी कीर्तिपुरवासी, समृद्ध कीर्तिपुर बनाउन लागिपरेका छौँ ।’

उनले मेयरका लागि कीर्तिपुरमा एमालेबाट ५ जनाको दाबी रहेकोमा हालका मेयर रमेश महर्जन, केशरत्न बज्राचार्य र लक्ष्मी कुमार महर्जनको नाम सिफारिस भए पनि आफ्नो नाममा सहमति जुटेर मेयरको टिकट पाएको बताए । उनले पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै रमेश महर्जनको नेतृत्वमा १ हजार १ जना निर्वाचन परिचालन समिति बनाएर चुनावमा होमिएको बताए । 

उनले भने–‘हाम्रो बारेमा पहिले भ्रम छरिएको थियो, अहिले त्यो भ्रम हामीले चिरिसकेका छौँ । एमाले प्रदेश सदस्य एवं यहाँका मेयर रमेश महर्जनकै नेतृत्वमा १ हजार १ जना निर्वाचन परिचालन समिति बनाएर हामी अघि बढेका छौँ । उपप्रमुख सरस्वती खड्का निर्वाचन परिचालन समितिको सहसंयोजक हुनुहुन्छ । ७ जनाको आर्थिक समिति, निर्वाचन प्रचार प्रसार समिति, जनवर्गीय संगठन सबै एकजुट भएर एमालेलाई विजयी गराउन चुनावमा होमिएका छौँ ।’

उनले आफू पहिले प्रचण्डको पार्टीमा, बाबुराम भट्टराईको पार्टीमा रहेर ती पार्टीका कामको पनि अनुभव हासिल गरेको बताउँदै अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व एमालेले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । उनले आफू विगतमा कुन पार्टीमा थिएँ भन्ने कुराले प्रभाव नपार्ने बताउँदै नेपालमा कम्युनिष्टहरुको मूल घर नै एमाले रहेको उल्लेख गरे । 

उनले कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक, धार्मिक र भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय नगरीको रूपमा विकास गर्ने बताए । कीर्तिपुर बासीका लागि स्वच्छ खानेपानीको व्यवस्था, सरसफाइको व्यवस्था, सबै नागरिक आत्मनिर्भर हुने योजना अघि सारेको, स्वास्थ्य, शिक्षा, खेलकुद क्षेत्रको विकास गर्ने उल्लेख गरे । 

कुन दलबाट को–को छन्, कीर्तिपुरमा उम्मेदवार ?

कीर्तिपुर नगरपालिकामा प्रमुखमा एमालेका तर्फबाट केश रत्न बज्राचार्य, उपमेयरमा विन्दु महर्जन उम्मेदवार हरेका छन् । काँग्रेसबाट प्रमुखका लागि राजकुमार नकर्मी, उपप्रमुखका लागि जनता समाजवादीबाट सुनिता शाक्य उम्मेदवार रहेकी छिन् । उनले रुख चिन्हबाटै चुनाव लड्ने भएकी छिन् । 

यस्तै माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा.शिर शरण महर्जनलाई प्रमुख पदका लागि उम्मेदवार बनाएको छ भने उपप्रमुखमा सुशीला बस्नेतलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले वटुकृष्ण थापालाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपमेयरमा कमला महर्जनलाई उम्मेदवार बनाएको छ । 

यस्तै नेपाल मजदुर किसान पार्टीले श्रीकृष्ण महर्जनलाई प्रमुखको उम्मेदवार बनाएको छ भने सर्जु महर्जनलाई उपमेयरको उम्मेदवार बनाएको छ । राप्रपाले जित बहादुर विष्टलाई प्रमुख र सम्झना पौडेललाई उपप्रमुखको उम्मेदवार बनाएको छ । 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी बनेको थियो । प्रमुखमा रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा सरस्वती रिजालले ६ हजार ८१० मत ल्याएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप