शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा गठबन्धनको घोषणापत्र : अब मेयर–उपमेयरको बजेट होइन, जनताको बजेट !

बिहीबार, २२ वैशाख २०७९, ०९ : ०८
बिहीबार, २२ वैशाख २०७९

जीतपुर सिमरा उपमहानगरका सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार राजन पौडेलले अगामी दिनमा उपमहानगरभित्र मेयर–उपमेयरको हितभन्दा पनि जनताको हितमा बजेट बन्ने  प्रतिबद्धता जनाएका छन् । स्थानीय निर्वाचन–२०७९ संयुक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गर्दै प्रमुखका उम्मेदवार पौडेलले विगतमा बन्दै आएको मेयर–उपमेयर बजेट खारेज गरेर अव जनताको बजेट बन्ने जनाएका हुन् । 

यसअघि प्रमुख/उपप्रमुखले भागबण्डामा आफूअन्तर्गत करोडौँ रुपैयाँ बजेट छुट्टाउने र आफू अनुकूल कार्यान्वयन गर्दै आएको बताउँदै पौडेलले सार्वजनिक जग्गा संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर मालपोतले सार्वजनिक घोषणा गरेका जग्गाहरू नगरको हितमा प्रयोगमा ल्याउने  बताए । बुधबार साँझ ५ दलिए संयुक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी निर्वाचित भएर जाँदै गर्दा सार्वजनिक जग्गा संरक्षणका लागि व्यवहारिक हिसाबले पहलकदमी लिइन्छ यसलाई कार्यान्वयन पनि गरिन्छ यसमा मेरो प्रतिबद्धता छ ।’ 

जीतपुर सिमरा उपमहानगरभित्र मात्रै सयौँ बिगाहा सार्वजनिक जग्गा भू–माफियाको कब्जामा छ । विगतमा मालपोत कार्यालय सिमराले सार्वजनिक घोषणा गरिसकेका जग्गाहरू उपमहानगरले संरक्षणमा चासो नदेखाउँदा ती जग्गाहरू अलपत्र अवस्थामा छन् । 

पौडेलले विगतमा संविधान र कानुन सम्बद्ध काम गर्न नसक्दा नगरसभा पङ्गु अवस्थामा पुगेको टिप्पणी गरेका छन् । ‘हामी निर्वाचित भएपछि उपमहानगरमा निर्वाचित भएर आएका १२५ जना जनप्रतिनिधिहरू ठिक ठिक ढङ्गले परिचालन हुन्छन्, नगरमा रहेका समस्याहरू सुन्ने मुख्य थलोको रूपमा नगरसभालाई बनाउँछौ,’ उनले भने, ‘नगरसभालाई वास्तविक नगरसभा बनाएर हामी अगाडी बढ्छौँ ।’ 

निर्वाचन केन्द्रित संयुक्त गठबन्धनको प्रतिबद्धता पत्रमा उपमहानगरले चालु आर्थिक वर्षमा बढाएको हजार प्रतिशत सम्पत्ति कर खारेज गर्ने,उपमहानगर भित्र २ सय शय्याको श्रम अस्पताल निर्माण गर्ने शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटक प्रवर्द्धनका लागि समन्वय गर्ने,  उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने जवाफदेहिता, पारदर्शितालाई कडाइका साथ कार्यान्वयन गरी कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार र सम्मानको व्यवस्था गर्ने लगायतका विषय घोषणा पत्रमा उल्लेख गरिएको छ । 

साथै कृषि क्षेत्रमा किसानको खेत गोठमा उपमहानगरपालिकाको विशेष ध्यान केन्द्रित हुने, निःशुल्क कृषि बिउ विजनको व्यवस्था गरिने,कृषि तरकारी बजार तथा कृषि उत्पादन खरिद बिक्री केन्द्र तथा अन्न शीतभण्डार निर्माण गरिने, रासायनिक मलको उपलब्धतालाई सरल बनाई मलमा अनुदानको व्यवस्था गर्ने, व्यावसायिक कृषि उत्पादन तथा पशुपालन कार्यक्रमलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । साथै प्रतिबद्धता पत्रमा युवा, खेलकुद तथा रोजगारीका विषय, सूचना प्रविधि,वन तथा पर्यटन,शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाइ, बाटोघाटो तथा सडक सञ्जाल,औद्योगिक करिडोर व्यवस्थापन, गरिब तथा भूमिहीन व्यवस्थापन,सहकारी तथा संघ संस्था व्यवस्थापन, महिला बालबालिकाको विषयमा छुट्टाछुटै समावेश गरिएको छ । विगतमा संविधान र कानुनले दिएको अधिकार विपरीत नगरप्रमुखको काम उपप्रमुख र कर्मचारीले गर्दै हिँड्ने, उपप्रमुखको काम वडाध्यक्षले गर्दै हिँडेकोले विगतका उपमहानगर असफल भएको पौडेलले टिप्पणी गरेका छन् । 

गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार मेघा शाहीले उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘उपमहानगरको अहिलेको आवश्यकता भनेकै घुसरहित बनाउने हो, कुनै प्रकारको घुस, कमिसन लिएर वा दिएर हामी पनि कुनै काम गर्ने छैनौ र कुनै कर्मचारीमार्फत यस्तो काम गर्न दिने छैनौँ, यो हाम्रो प्रतिबद्धता हो,’ उपप्रमुखकी उम्मेदवार शाहीले भनिन् । उनले विगतमा उठ्न बाँकी राजस्वहरू आफू विजयी भए लगत्तै उठाउने बताएकी छिन् । जीतपुर सिमरा उपमहानगरमा २ वर्ष पुरानो ८ करोड २० लाख ५१ हजार खोलाजन्य पदार्थको राजस्व उठ्न बाँकी छ भने कवाडी कर,सार्वजनिक सटर भाडा लगायतका करहरू विगत ३ वर्षदेखि उठ्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप