शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा

बुधबार, २१ वैशाख २०७९, २१ : २९
बुधबार, २१ वैशाख २०७९

बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् । 

‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर उनी चुनावी प्रचारप्रसारमा होमिएका छन् ।  मेयरका प्रत्यासी अर्यालले आफूसँग स्पष्ट भिजन भएको दाबी गर्दै ढोरपाटनवासीले आफूलाई नै विजयी गराउने विश्वास व्यक्त गरे । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना छ । देशकै एकमात्र सिकार आरक्ष भएकाले पनि यहाँ स्थानीय र बाह्य पर्यटकहरू सिकार गर्न आउने गर्छन् ।

पर्यटनबाट नगरले ठूलो प्रगति गर्न सक्ने सम्भावना भएकाले देशकै उत्कृष्ट बनाउन आफूले उम्मेदवारी दिएको अर्यालले बताए । नगरभित्र रहेका उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीयका लागि दातृ निकायसँगको समन्वयमा सोलार हिटर प्लान्ट स्थापना गर्ने उनको योजना छ । धार्मिक पर्यटन, सिकार आरक्ष र ढोरपाटन उपत्यकाको विकास लागि आफू गुरुयोजनाको साथ आएको उनको भनाइ छ । उक्त गुरुयोजनामा नगरभित्र जडिबुटी, आलु र दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिने उनको प्रतिवद्धता छ ।

यस्तै ढोरपाटनको वनमा कुहिएर गएका काठ व्यवस्थापनका लागि मात्र चारवटा काठ उद्योग स्थापना गर्न सकिने उनको योजना छ । त्यसमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुई हजार जनालाई रोजगारी दिन सकिने अर्यालले बताए । 
आफू निर्वाचित भएका नगरमा रहेका ९ वडाका हरेकमा १० देखि १२ जना गरी १ सय जनालाई रोजगारी उपलब्ध गराउने उनको योजना छ । अघिल्लो सरकारले गर्न नसकेको नगरपालिकाको प्रशासकीय भवन पनि आफूले निर्माण गर्ने उनले बताए । 

उम्मेदवार चन्द्र अर्यालले आफ्नो घोषणापत्रमा स्नातक तहसम्मको अध्ययन निःशुल्क गर्ने घोषणा पनि गरेका छन् ।  नगरभित्रै रहेको निसीभुजी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्नेलाई निःशुल्क पठनपाठन गराउने योजना आफूले बनाएको बताए । अहिले विद्यालय तहमा निःशुल्क अध्ययन भनिए पनि त्यो पूर्णरुपमा पालना नभएको भन्दै उनले आफूहरुले त्यसलाई पूर्ण कार्यान्वयन गर्ने पनि उनको प्रतिवद्धता छ । परीक्षा शुल्क, अतिरिक्त शुल्कको नाममा लिइने शुल्कलाई पूर्णतः हटाउने बताए । यस्तै, अर्यालले प्राविधिक शिक्षालाई जोड दिने, विद्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप