बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मुसलमान मुद्दामा किन केही बोल्दैनन् अरविन्द केजरीवाल ?

बुधबार, २१ वैशाख २०७९, २१ : १९
बुधबार, २१ वैशाख २०७९

भ्रष्टाचाविरोधी आन्दोलनबाट चर्चामा आएका अरविन्द केजरीवालपछि राजनीतिक व्यवस्थालाई सफा गर्ने र विकास केन्द्रीत राजनीतिलाई अघि बढाउने वाचा गर्दै राजनीतिमा प्रवेश गरे । 

भ्रष्टाचार विरोधी आन्दोलन भएको दुई वर्षमै उनी दिल्लीको मुख्यमन्त्रीको कुर्सीसम्म पुगे । बीचमा केही समय सत्ता बाहिर रहे पनि सन् २०१३ देखि उनी लगातार दिल्लीका मुख्यमन्त्री पदमा आसिन छन् । 

केजरीवाल र उनको आम आदमी पार्टीले यस अवधिमा दिल्लीका सरकारी स्कुलमा व्यापक सुधार गर्यो । सस्तो टोलछिमेक क्लिनिक सुरु गर्यो भने बिजुली र पानी निःशुल्क प्रदान गरिरहेको छ ।  आम आदमी पार्टीले केही समयअघि पन्जाव विधानसभा चुनावमा ऐतिहासिक जित हासिल गर्यो । योसँगै पार्टीले दिल्लीबाहिर प्रभाव विस्तार गरेको छ । 

अरविन्द केजरीवालले सुरुवाती दिनमा उनको पार्टीले सबै धर्मलाई समान मान्ने बताएका थिए । तत्कालीन समयमा धेरैले केजरीवालको यो भनाइको सराहना गरेका थिए । 

तर पछिल्लो समय दिल्लीको जहानगीरपुरीमा हिन्दू र मुसलमानबीच भएको दंगापछि अरविन्द केजरीवालको ‘सबै धर्मलाई समान मान्ने’ भनाइमा प्रश्न उठ्न थालेको छ ।  दंगापछि केजरीवालले मुसलमानहरूको पक्षमा केही नबोलेको भन्दै उनको आलोचना भयो ।   

जहानगीरपुरीमा भएको धार्मिक दंगापछि केन्द्र सरकारको मातहत रहने दिल्ली प्रहरीले मुख्यत मुसलमानहरूलाई निशाना बनाउँदै पक्राउ तिब्र बनायो । जगबाहेक कुरा हो कि, भारतको केन्द्रमा अहिले हिन्दुत्वको मुद्दा लिएको भारतीय जनता पार्टीको सरकार छ । 

त्यस्तै दंगा भएको ठाउँ रहेको स्थानीय नजर निगममा पनि भाजपाकै प्रतिनिधि थिए । सो नगर निगमले दंगापछि जहानगीरपुरी क्षेत्रका अवैध अतिक्रमित संरचना भत्काउन भन्दै ‘बुलडोजर’ को प्रयोग गर्यो । 

अतिक्रमण हटाउने अभियान चलिरहेकै समयमा भारतको सर्वोच्च अदालतले सो कार्य तत्काल रोक्न आदेश दियो । 

तर जहानगिरपुरीको घटनाले धेरैलाई चकित बनाएन । केही वर्षदेखि भारतमा मुसलमानहरुविरुद्ध हिंसाको घटनामा उल्लेख्य वृद्धि भएकोले यो समुदाय विरुद्धको हिंसालाई धेरैले सामान्य लिन थालेका छन् । भाजपाको शासन रहेको राज्यमा प्रशासनले मुसलमानलाई लक्षित गरेर एक पछि अर्को कदम चालेको देखिन्छ ।  

भाजपा त देखिने गरी नै हिन्दूत्ववादी राजनीति गरिरहेको छ । तर ‘सबै धर्म समान’ मान्ने बताउने केजरीवालले उनकै शासन रहेको दिल्लीमा भएको घटनाप्रति किन विभेद गरे ।  केजरीवालले दंगापछि ‘हिन्दूको जुलुसमाथि आक्रमण गर्नेहरु’को आलोचना गरे भने हतियार लिएर भड्काउपूर्ण नारा लगाउँदै र्याली निकाल्नेहरूको आलोचना गरेनन् । 

घटना अप्रिल १६ मा भएको थियो र त्यसयता केजरीवालले जहानगीरपुरी गएका छैनन् । केजरीवालको यो एकपक्षीय व्यवहारप्रति कैयौंले प्रश्न उठाएका छन् । 

वरिष्ठ पत्रकार तथा आम आदमी पार्टीका पूर्व नेता आशुतोषले भने, ‘सबै नागरिकको पक्षमा उभिनु राज्यको जिम्मेवारी हुन्छ । तर केजरीवाल भने हिन्दूको मात्र मुख्यमन्त्री भएजस्तो गरिरहेका छन् ।’

आशुतोषको विश्वासमा मुसलमान वस्तीमा बुलडोजर चलाएको कुराको विरोध गरे भने मानिसले आफूलाई मुसलमान समर्थक सोच्छन् भन्ने केजरीवालको डर हुनसक्छ । अर्थात समाजमा बहुसंख्यक (८० प्रतिशत हिन्दू) समुदाय भएकाले केजरीवाल पनि बहुंख्यकवादी राजनीति गरिरहेका छन् । 

जहानगीरपुरी घटनाको विरोधमा विपक्षी दलहरुले जति कठोर अभिव्यक्ति दिएका छन्, केजरीवालको अभिव्यक्ति त्यति कठोर आएन । माक्र्सवादी कम्युनिष्ट पार्टीका नेता बृन्दा करातको अभिव्यक्तिले राम्रो तारिक भयो । किनकि बुलडोजर चलाउने घटनाविरुद्ध सर्वोच्च अदालतले रोक लगाएको लगतै उनी घटनास्थल पुगेकी थिइन् । 

तर यो मुद्दामा केजरीवाल र उनको सरकारले समाजिक सञ्जालमा आलोचना भएपछि मात्र आम आदमी पार्टीले एक दिनपछि दुई विधायकहरू पवन शर्मा र अब्दूल रहमानलाई घटनास्थल पठायो ।  दिल्लीमा दंगा भएर तोडफोड भइरहँदा केजरीवालको दिल्ली सरकार मूकदर्शक मात्र बनेको वरिष्ठ पत्रकार राकेश दीक्षितको आरोप लगाउँछन् । यस्तो शैलीले केजरीवालको राजनीतिक स्वार्थ पुरा हुने पनि उनको आरोप छ । 

‘केजरीवालको राजनीतिक विचारधारा मुसलमानलाई नचिढ्याउने भएपनि कन्जरभेटिभ देखिन्छ । सन् २०२० को चुनाव जितेपछि उनीहरुले हिन्दू धर्म प्रतिको आस्था खुला रुपमै देखाउन थालेका छन् ।’

केजरीवालले मुसलमानमाथि आक्रमण हुँदा मौन बसेको यो पहिलो पटक भने होइन । पत्रकार दीक्षितका अनुसार यसअघि नागरिक संशोधन कानुन र सन् २०२० को दिल्ली दंगाको समयमा पनि उनी बोलेका थिएनन् । सन् २०१९ मा मुस्लिम बहुल राज्य जम्मू कश्मीरलाई भारतीय संविधानको अनुच्छेद ३७० हटाइँदा सबैभन्दा सुरुमा समर्थन जनाउने व्यक्तिमा अरविन्द केजरीवाल पनि एक थिए । 

‘केजरीवाल आफ्नो विचारधारा कुनै खास समय र स्थानमा के कुराले फाईदा हुन्छ भन्ने आधारमा तय गर्छन् । अहिले गुजरात र हिमाञ्चल प्रदेशमा चुनाव नजिकिँदैछ । ती राज्यमा मुसलमानहरूको जनसंख्या कम छ । त्यहाँको समाज पहिलेदेखि नै विभाजित छ । त्यसैले केजरीवाल अहिले मुसलमानको मुद्दामा दुरी कायम गरेर देखाउने प्रयास गरिरहेका छन् । उनी हिन्दू मतदाता रुष्ट नहुन् भन्नेमा सचेत देखिन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप