शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘आयातमा गरिएको कडाइले मूल्यबृद्धि भयो’

बुधबार, २१ वैशाख २०७९, २१ : १४
बुधबार, २१ वैशाख २०७९

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महँगीको धेरै कारणमध्ये आयातमा गरिएको कडाई एक प्रमुख कारण रहेको बताएका छन् । संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्य बृद्धि तथा बजार अनुगमन विषयक सचेतनामूलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताएका हुन् ।

उनले अनुगमनले मात्र मूल्यबृद्धि नियन्त्रण नहुने जिकिर गरे । उनले जिल्ला प्रशासन कार्यालयसँग बजार नै अनुगमन गर्न छुट्टै जनशक्ति नभएकाले प्रभावकारी अनुगमनमा समस्या श्रृजना भएको बताए  ।

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले साप्ताहिक रुपमा दुईवटा अनुगमन भैरहेको जानकारी दिए । उनले रसिया र युक्रेनको युद्ध तर्फ संकेत गर्दै अहिलेको बजार अन्तराष्ट्रिय घटना परिघटनाबाट प्रभावित रहेको बताए । उनले नेपालको सन्दर्भमा दक्षिण एसियाकै महंगो ढुवानी  भएको तथा हालको इन्धनको बढ्दो मूल्यले समेत बजारको मूल्यबृद्धिमा थप बल थपेको बताए । 

यस्तै कार्यक्रममा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि वस्तु तथा सेवाको मूल्यबृद्धिमा बिभिन्न पक्षको भूमिका रहने उल्लेख गर्दै विश्वका कुनैपनि संयन्त्रले मुल्य बृद्धि रोक्न नसक्ने बताए । उनले बाणिज्य विभागसँग मूल्यबृद्धि रोक्ने कुनै अधिकार नभएको कुरा प्रष्ट पारे । उनले वाणिज्य विभागको कार्य बजार अनुगमन तथा बजारमा सुव्यवस्था कायम गराउने मात्र रहेको उल्लेख गर्दै उक्त कार्यमा विभाग क्रियाशिल रहेको जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जताततै मुल्य बढेको र हाल आम सर्वसाधरणको स्थिती नाजुक हुँदै भएको उल्लेख गरे । उनले व्यवसायी व्यापारीहरूको दादागिरीले चरम सिमा पार गर्दै प्रशासनलाई टेर्न छोडेको कुरा उल्लेख गरे । उनले हाल  व्यवसायी राजनीतिक नेतृत्वसँग नजिक हुँदै अराजक हुदै गएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप