सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

बुधबार, २१ वैशाख २०७९, २० : ३६
बुधबार, २१ वैशाख २०७९

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपीललाई बुधबार अस्वीकार गरेको छ । गत हप्ता सुनाइएको भ्रष्टाचारको आरोपमा पाँच वर्षको सजायको विरुद्धमा सैनिक बलमा पदच्युत गरिएकी नेत्री आङ सान सुकीले अपिल गरेकी थिइन् । 

उक्त फैसलाको विरुद्ध सुकीको कानुनी टोलीले दायर गरेको अपीलमा नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । ७६ वर्षीया नेत्रीलाई सैनिकविरुद्ध उक्साहट दिएको अभियोगमा यसअघि नै छ वर्षको जेल सजाय सुनाइसकिएको छ । उनले कोभिड–१९ नियम उल्लंघन गर्दै दूरसञ्चार ऐन तोडफोड गरेको अदालतले ठहर गरेको हो ।

यो अवधिमा उनी राजधानी न्यापितस्थित कुनै अज्ञात स्थानमा नजरबन्दमा रहने पनि बताइएको छ । उनलाई राज्यको गोपनियता भङ्ग गरेको, विभिन्न बिषयमा भ्रष्टाचार गरेको र चुनावी ठगीका थुप्रै अभियोगहरू उल्लंघन गरेको आरोप लगाइएको छ । यदि उनीमाथि लगाइएका सबै अभियोगमा दोषी ठहरिएमा उनलाई १०० वर्षभन्दा बढी जेल सजाय हुनेछ ।

पत्रकारहरुलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिलहरूलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ । म्यानमारको मानव अधिकार अनुगमन समूहका अनुसार म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएका प्रदर्शन, विरोध र सरकार विरोधी अभियान सञ्चालनका क्रममा भएका झडपहरूमा कम्तीमा एक हजार ८०० भन्दा बढी मानिसहरू मारिएका छन् र १३ हजारभन्दा बढी गिरफ्तार भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप