दुईवटा हत्यामा संलग्नलाई पक्राउपछि सार्वजनिक

इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी दुईवटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए । किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको बताइएको छ । मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।
मृतक काफ्लेका श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनीहरुको चार वर्षीय एक छोरी रहेको बताइएको छ । मृतक र अभियुक्तबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । काफ्ले यही वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ ।
यता इलाम देउमाई नगरपालिका–७ का सन्तोषवालाको हत्या अभियोगमा सोही स्थानका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही १७ गते शुक्रबार देउमाई–७ चुलीगाउँस्थित पूर्णबहादुर दाहालको भिरालो जमिनमा सन्तोषवालाको शव फेला परेको थियो । खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा संलग्न भएको भन्दै भूपेन र चन्द राई दाजुभाइलाई पक्राउ गरेको छ । उनीहरूलाई पनि आज नै सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषवालाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषवालाको भूपेन र चन्द्रले ढुङ्गा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई व्यक्तिसहित हत्यामा प्रयोग भएको ढुङ्गासमेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।
मृतककी श्रीमती सीता राईले यही वैशाख १६ गतेको घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । दुवै घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर