शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वर गाउँपालिकामा ११७ जना चुनावी मैदानमा, उम्मेदवार विकासको मुद्दामा केन्द्रित

बुधबार, २१ वैशाख २०७९, १८ : ३३
बुधबार, २१ वैशाख २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकामा कुल ११७ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सदस्य पदमा कुल ११७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । तारकेश्वरको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट अध्यक्षको उम्मेदवारमा नेपाली काँग्रेसका शिव अधिकारी प्रतिस्पर्धामा छन् भने एमालेबाट रमेश बहादुर वस्ती प्रतिस्पर्धामा रहेका छन् । यसअघि एमालेले जितेको यो गाउँपालिकामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । वस्ती र अधिकारीबाहेक अध्यक्ष पदमा दीपक अधिकारी, रेन्छेन तामाङ र सन्तलाल तामाङले पनि उम्मेदवारी दिएका छन् । 

यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका हरि प्रसाद रिमालले उम्मेदवारी दिएका छन् भने एमालेबाट कोपिला भट्टको उम्मेदवारी रहेको छ।  यस्तै उपाध्यक्षमा सुनमाया तामाङ, सुभद्रा रिमाल र टेकबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् । 

तारकेश्वरमा अघिल्लो निर्वाचनमा एमालेले जितेपनि यो पटक उसलाई रोक्ने रणनीतिका साथ गठबन्धन लागेको देखिन्छ भने एमाले पनि पुनः जित हासिल गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको छ । यहीबीचमा दुबै पक्षले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । 
यस्तै अन्य उम्मेदवारले पनि आ–आफ्नो ढंगले प्रचारप्रसार चलाइरहेका छन् । अघिल्लो निर्वाचनमा सो गाउँपालिकामा एमालेपछि काँग्रेस र तेस्रो स्थानमा माओवादीको मत आएको थियो । 

यसैबीच गाउँपालिकामा अध्यक्षका उम्मेदवार रहेका शिव अधिकारीले विकासको एजेण्डा अघि सारेका छन् । उनले आफूले विगतदेखि नै तारकेश्वरको विकास निर्माणमा योगदान दिएको र निर्वाचित भएमा पनि तारकेश्वरको मुहार फेर्नेगरी विकास निर्माणका कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । 
अधिकारीले भूकम्पपछिको परिस्थिति, कोरोना महामारी जस्ता समयमा सक्रियतापूर्वक सामाजिक अभियान चलाएका थिए । यस्तै स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यका साथै टोल सुधार समिति र क्लबहरुलाई गरेको सहयोगका कारण उनी स्थानीय स्तरमा लोकप्रिय रहेका छन् । 

‘सुखी, सुन्दर र समुन्नत तारकेश्वर’को सपना साकार बनाउन स्वास्थ्य, शिक्षा, सडक, कृषि, पर्यटन, सिँचाइ, खानेपानी, खेलकुद र अन्य पूर्वाधारका क्षेत्रमा ठूलो लगानी जुटाउनुपर्ने भन्दै अधिकारीले पर्यावरण र संस्कृतिको जगेर्ना गर्दै दिगो र गुणात्मक विकास गर्ने प्रतिबद्धता अघि सारेका छन् । 

स्रोतहरूको पहिचान गरी तारकेश्वरलाई आफ्नै खुट्टामा उभ्याउनेतर्फ आफूले जोड दिने पनि अधिकारीले बताएका छन् । उनले सरकारी स्रोतको एक पैसा पनि खेर जान नदिई उत्पादनशील क्षेत्रमा लगाउने प्रतिबद्धता पनि जनाएका छन्  । 
अध्यक्षका उम्मेदवार वस्तीले भने आफ्नो कार्यकालमा पूरा हुन नसकेका कार्यलाई निरन्तरता दिने तथा थप विकास निर्माणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप