शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई चुनावी तयारीबारे ब्रिफिङ

बुधबार, २१ वैशाख २०७९, १८ : ०४
बुधबार, २१ वैशाख २०७९

निर्वाचन आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । 

उक्त अवसरमा राष्ट्रपतिले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिइन् । उनले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाधरुपमा मतदान गर्न पाउने हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन पनि जोड दिइन् । 

‘आवधिक निर्वाचन सम्पन्न गर्ने आयोगको संवैधानिक कार्य भएको हुँदा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न आयोग सदैव क्रियाशील रहनुपर्ने साथै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूलाई जसरी पनि निर्वाचन जित्न पाए हुन्थ्यो भन्ने भावना भएपनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूति सहित निर्वाचन सम्पन्न गर्ने तथा मत परिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो’, भेटपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भेटका क्रममा प्रमुख आयुक्त सहित आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर र सगुनसम्शेर जबराको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप