बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

को हुन् भारतद्वारा नेपालका लागि प्रस्तावित नयाँ राजदूत ?

बुधबार, २१ वैशाख २०७९, २२ : ५५
बुधबार, २१ वैशाख २०७९

भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा कुटनीतिज्ञ नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको भारतीय अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले स्रोतलाई उल्लेख गर्दै लेखेको छ। 

भारतीय अनलाइन पोर्टल ‘ब्युरोक्रेट्स इण्डिया’का अनुसार श्रीवास्तव सन् १९९३ मा आईएफएस अफिसरको रूपमा भारतीय विदेश मन्त्रालय प्रवेश गरेका थिए । हाल उनी अतिरिक्त सचिवका रूपमा पूर्वी एसिया डेस्कको नेतृत्व गरिरहेका छन्। श्रीवास्तवले पूर्वी एसियाको डेस्कको नेतृत्वका रूपमा भारत र चीनबीच जारी शृङ्खलाबद्ध कूटनीतिक तथा सैन्य वार्तामा प्रमुख भूमिका निभाएको टाइम्सले लेखेको छ।

सन् २०२० जुन १५ को मध्य रात भारत–चीनको सिमाना ‘लाईन अफ कन्ट्रोल’मा भएको भिडन्तमा २० भारतीय सेना र ४ चिनियाँ सेनाको मृत्यु भएपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ। सम्बन्ध सुधार्न कयौँ चरणको वार्ता भइसकेको छ। 

श्रीवास्तवले नेपालका लागि भारतका निवर्तमान राजदूत विनय क्वात्राको ठाउँ लिन लागेका हुन् । क्वात्रा अहिले भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका छन्। श्रीवास्तवलाई राजदूत प्रस्ताव गर्दै पठाइएको पत्र नेपालको विदेश मन्त्रालयले पाइसकेको छ र केही दिनभित्रै नेपाली पक्षले स्वीकृति दिने अपेक्षा रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी नेपाल भ्रमणअघि नै श्रीवास्तवले पदभार ग्रहण गर्ने अपेक्षा भारतीय पक्षको रहेको छ। उच्च स्रोतहरूका अनुसार जेठ २ परेको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा संयुक्त रूपमा लुम्बिनी भ्रमण गर्दैछन् । मोदी लुम्बिनी भ्रमण छोटो हुनेछ। उनी नेपालको राजधानी नगई स्वदेश फर्किने मिडियाहरूले तिनका स्रोतलाई उल्लेख गर्दै लेखेका छन्। तथापि मोदीको लुम्बिनी भ्रमणको विषयमा औपचारिक निर्णय नभइसकेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप