हिटलरको खुइल्याइएको भाले र स्थानीय चुनाव
हिटलरसँग संसद् छिरेको कुखुराको भालेको प्रसंग जोडिएको कथा धेरैले सुनेको हुनुपर्छ । अहिले स्थानीय चुनावमा यो कथा सान्दर्भिक हुने भएकाले एक पटक दोहोर्याउन मन लाग्यो । एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखी च्यापी संसद छिरेछन् । सधैं तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हाँस्दै संसद छिरेको दृश्यले सांसदहरू मुखामुख गरेछन् । मान्छे सन्की भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि हाम्रो लागि चिकेन पार्टीको व्यवस्था गरेछन् भन्ने निष्कर्षसहित सांसदहरू ज्यादै खुशी भएछन् ।
संसद परिसरमा उत्सुक नजरमा हिटलरले एक राउण्ड टाउको घुमाएछन् ।
त्यहाँ गोयवल्स पनि थिए । ‘अनि के छ त गोयवल्स तिम्रो हालचाल ? सबै ठीकै त छ ?’–हिटलरबाट सोधनी भएछ ।
गोयवल्सले झुक्दै भनेछन्, ‘ठीकठीकै छ हजुर ।’
गोयवल्स हिटलरको सञ्चार मन्त्री थिए । कुनै पनि झुट कुरालाई एक सय पटक दोहोर्याएर भनियो भने मान्छेहरूले त्यसलाई सत्य ठान्न थाल्नेछन् भन्ने गोयवल्सको विश्वास थियो । त्यसैले उनी हरेक झुटलाई एक सय पटक दोहोर्याएर जनतामाझमा प्रचार प्रसार गर्थे ।
त्यही भएर पनि गोयवल्स हिटलरको प्रिय पात्र थिए । गोयवल्सको हालखवर सोध्नु भित्रको रहस्य पनि त्यही नै थियो । हिटलरले भालेलाई यसो नियाले । एकाएक उनको मुखाकृति वदलियो । उनले भालेलाई चटपटाउन नसक्ने गरी खुट्टा र पखेटामा च्याप्प समाते । अनि एकाएक दाह्रा किट्दै भालेको प्वाख उखेल्न थाले । भाले छटपटिदै कराउन थाल्यो । र, पनि उनको रफ्तार जारी रह्यो । हेर्दाहेर्दै भाले पुरै खुइलियो । उखेल्न बाँकी एउटै प्वाख नरहेपछि अधमरो भालेलाई फुत्त भुइतिर हुर्याए । भाले धुन्मुनिदै हिटलरको नजरबाट ओझेल पर्यो ।
हिटलरले कोटको खल्तीमा मकैका दाना बोकेका थिए । मकैको गेडा भुइँतिर फाल्दै हिटलरले जर्मन भाषामै तुर्रर्र आ तुर्रर आ भन्दै बोलाए । लुकेको ठाउँवाट भालेले यसो मुन्टो उठाएर हेर्यो । आफ्नो अन्नदाताप्रति भाले नतमस्तक भयो । अघि भर्खरै मात्र आफूलाई भुत्ल्याउने हिटलरले खसालेको दाना टिप्दै भाले पछि पछि लाग्यो । संसद हलमा हिटलर पुनः एक पटक मुस्कुराए । यो पटकको मुस्कानमा कुटिलता घोलिएको थियो । विदा हुनुपूर्व एक जोडदार मुट्ठी जाँतो घुमाएझैं घुमाउँदै उनी संसदबाट बाटो लागे ।
भुत्ल्याई सकिएकोलाई मात्र हैन, भुत्ल्याउन बाँकीहरूलाई पनि एक पटक भुत्ल्याएर फकाउन सकिन्छ, यदि आफूसँग आहरा छ भने । जाँतो घुमाएझैं मुट्ठी घुमाउने हिटलरको सन्देश यही नै थियो कि भुत्ल्याऔं, दुवै हातले भुत्ल्याऔं । अटेरीहरूलाई भुत्ल्याएरै काबुमा ल्याऔं र अन्तमा आहरा फ्याकेर फकाऔं ।
जर्मन सांसदहरूले कुरा वुझिहाले । भाले काटेर भोज खुवाउन हैन, जनता के हुन्, संसदलाई लेक्चर दिन आएका थिए हिटलर । कुखुरालाई प्रतिकात्मक विम्ब बनाएर वाहिरिए ।
निकै समय पहिले हिटलरले निर्दिष्ट गरिदिएको नेपाली राजनीतिको एउटा सजीव मोडेल, जुन अहिले चालू छ । हिटलरका नयाँ अवतारहरू चामलका पोका वोकेर यतिखेर वस्ति बस्ति डुलिरहेका छन्, ग्यासका सिलिण्डर बोकी भान्छा भान्छामा पुगिरहेका छन् । ओखतीका ट्याब्लेट बोकी विरामीको वेडसम्म पनि पुग्न भ्याएकै छन् । अझ कैंयौ त खेतका गरा गरा, बारीका पाटा पाटामा गएर सहयोग गरिरहेको जस्तो पनि देख्न सकिन्छ ।
पेशागत चर्मकारहरूलाई आजीवन छि छि दूर दूर गर्नेहरू चुनावको बेला चोकचोकमा बसेर जदौ गर्ने, आउने जानेहरूको जुत्ता पालिस गर्ने सम्मको गतिविधि पनि पहिले देखिएकै हो । हो, यी अधिकांश तिनै हुन्, जसले हिजोका दिनमा हिटलरले कुखुरा भुत्ल्याए झैं गरी नेपाली जनतालाई भुत्ल्याए ।
जसले रैती बन्न इन्कार गर्यो, उसले वारूद गोली खायो । आतंककारीको बिल्ला पायो । सोझो मुखले, शान्त भावले, भद्र तवरले असन्तुष्टि पोख्ने नागरिकको घर घर छिरेर डढेलो झोसियो । किलो शेरा टू र सर्च एण्ड डिष्ट्रोयको नाममा गोलीले भुट्ने काम गरियो । मैना सुनारहरू किन वलात्कृत हुँदै मारिए ? शान्ति वार्ताकै क्रममा दोरम्बामा १९ निहत्थाको कत्लेआम किन गरियो ? जिउँदै खाल्डो खन्दै र पुर्दै शिवपुरीको जंगल नागरिकका चिहानले किन भरिए ?
विश्वभर प्रचलित राज्यव्यवस्था ल्याउन संविधानसभाको चुनाव गरौं भन्दा भारतदेखि बेल्जियमसम्म, अमेरिकादेखि वेलायतसम्मको सैन्य सामग्री र हतियार, लजिष्टिक र बम बारूद बटुलेर आफ्ना नागरिकमाथि ट्रिगर कसले दाब्यो ? मान्छेले पाएको एकवारको जुनीमा रैतीवाट नागरिक बन्छु भन्न नपाउने ? मारिहाल्नु पर्ने ? मारिएका १७ हजारमध्ये १३ हजारको निर्मम हत्या कसले गर्यो, आँकडा बोलेको छैन र ? अनि उल्टै विद्रोही पक्षलाई हत्याराको बिल्ला भिराउने ? तत्कालीन सत्ताले तीन चौथाई भन्दा बढी मानिस मार्यो, ती सबै काखमा राखेर माया गर्दागर्दै मरेका हुन् त ? यस्ता असंख्य प्रश्नहरू अहिले पनि छन् ।
र, आजको यो व्यवस्थाले चाहे ती जतिसुकै उपल्लो स्तरका शासक, प्रशासक किन न होऊन्, प्रश्न गर्न सक्ने अधिकार दिलाएको छ । जवाफदेहिताको सुनिश्चितता प्रदान गरेको छ । तर हिटलरद्वारा परिचालित केही गोयवल्सहरू विभिन्न खालका भ्रम छर्दै हाम्रो यो अधिकारलाई लुट्न चाहिरहेका छन् । जुन व्यवस्थाले राज्यसत्ता विरूद्ध बोल्ने अधिकार दिएको छ, त्यही व्यवस्थाको विरुद्धमा खनिएका छन् । अनि अहिले घर घरमा पुगेर चामलका पोका बाँडेको स्वाङ रचिरहेका छन् ।
लिङ्देनहरू भन्दैछन्, यो व्यवस्था पुरानो भयो, नेता पुराना भए । तिनका शान सौकत राजा महाराजाको जस्तै विलासी भयो । पुराना फालौं, नयाँ रोजौं । दफन हुन बाँकी जडको दारूण चित्कार हो यो । यदि हामीले छानेका नेता राजा महाराजा भएछन् भने पाँच वर्षमा घाटमा सेलाउने हुति हामीसँगै छ, समाधान हामीसँगै छ । त्यसैले यो कुनै समस्या हैन तर तिनले जुन कूव्यवस्थाको वकालत गर्दै वर्तमान व्यवस्थामाथि प्रहार केन्द्रीत गरिरहेछन्, कुनै पनि मूल्यमा स्वीकार्य छैन ।
एक पूर्व पत्रकार, जो अहिले एक पार्टीको अगुवाइ गर्दै राजालाई बोकिरहेका छन् । उनको एउटा नारा छ, ‘दिन पाइयोस्, खान पाइयोस् ।’ यथार्थमा उनको मनसाय चैं ‘माग्न पाइयोस्, खान पाइयोस्’ भन्ने नै हो । वास्तवमा यो नारा भित्र दरिद्रताको चरम प्यास उर्लिएको छ । हात थाप्ने र थपाउने भन्दा परको सोच नै छैन । प्राकृतिक न्यायको सिद्दान्तले प्रदत्त अधिकारले भन्दा पनि दान दक्षिणा चन्दा भेटीले जिन्दगी गुजार्नेबाहेक परको सोच छैन । आफू दिने ठाउँमा र अरू हात थाप्ने ठाउँमा रहिदिनु यसभित्रको उत्कट अभिलाषा हो । हो, यही अभिलाषाले अघाएकाहरूले समृद्ध नेपाल र सुखी नेपाली नागरिकलाई देखि सहन्न ।
जब दासहरू बाँकी रहन्नन्, तब मालिकहरूलाई आफ्नो अस्तित्वको चिन्ता रहन्छ । के यी कथित मालिकहरुका लागि हाम्रा आमाहरूले थप दासहरू जन्माउन सक्छन् ? चमर हल्लाउँदै सेवामा हाजिर हुने सेवक र सुसारेहरू जन्माउन सक्छन् ? अवश्य सक्दैनन् । एक्काइसौं शताब्दीका नेपाली जनता हिटलरको भाले बन्न कदाचित मन्जुर छैनन् । त्यसैले आफ्नो आहरा खल्तीमै राख, पछि आफैलाई काम आउँछ ।