शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको गृहनगर दमकमा एमालेलाई गठबन्धनको चुनौती कति ?

एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारी भन्छिन्, ‘गठबन्धनको प्रभाव शून्य छ’
बुधबार, २१ वैशाख २०७९, १४ : २७
बुधबार, २१ वैशाख २०७९

एमालेको गढ मानिने झापाको दमक नगरपालिकामा यस पटकको स्थानीय तहको निर्वाचनमा उति सहज देखिँदैन । २०७४ सालको निर्वाचनबाट उपमेयरमा निर्वाचित भई पाँच वर्ष कार्यभार सम्हालेकी गीता अधिकारीलाई यस पटक एमालेले मेयरका लागि मैदानमा उठाएको छ । तर, पाँच दलीय गठबन्धनका बीचमा राप्रपाको चुनावी तालमेल गरेसँग दमकमा एमालेलाई सकस देखिन्छ । 

तर, एमालेका तर्फबाट मेयरकी उम्मेदवार अधिकारी दमक नगरपालिकामा एमालेको जीत निश्चित रहेको दाबी गर्छिन् । रातोपाटीसँगको संवादमा अधिकारीले भनिन्, ‘आत्मलाई साक्षी राखेर निष्ठापूर्वक पूरा समय दिएर अघिल्लो कार्यकालमा काम गरेका छौँ । त्यसैले सबै मतदाताले हामीलाई अब पनि विश्वास गर्नु हुनेछ । दमकको समृद्धिका लागि अपूरा काम धेरै छन् तिनलाई पूरा गर्नुछ ।’

अधिकारी दमकमा अहिलेको गठबन्धनसँगको प्रतिस्पर्धालाई चुनौती भन्दा पनि अवसरका रूपमा लिएकी बताउँछिन् । भन्छिन्, ‘दमक नगरपालिकामा नेकपा एमालेले एउटा ऐतिहासिक निर्णय गर्दै महिला उम्मेदवार अघि सारेको छ । देशकै नजर परेको नगरपालिकामा एमालेले महिला अघि सार्नु नै एउटा ठुलो अवसर हो, यो सम्पूर्ण नगरवासी महिलाहरूको ठुलो उपलब्धि पनि हो।’ 

दमक नगरपालिकामा स्थानीय निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित ८ वटा वडा जितेको थियो। बाँकी दुईवटा वडामा राप्रपा विजेता बनेको थियो। प्रमुख पदमा एमालेका रोमनाथ ओली  १० हजार ८ सय ६ मत ल्याएर विजेता बन्दा उनका  निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापा ७ हजार ६ सय ५५ मत ल्याएर दोस्रो भएका थिए। तर, यस पटकको स्थानीय तहको निर्वाचनमा राप्रपाका राम थापा मेयरको उम्मेदवार बनिरहँदा उनको साथमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितको संयुक्त मत रहेको छ । 

तर दलहरूको चुनावी तालमेललाई सहज ढङ्गले सामना गर्ने दाबी गर्छिन् अधिकारी, ‘गणितीय हिसाब त हामीले गरेका छैनौँ । तर, दमकमा गठबन्धनलाई हामीले एकदमै सहज ढङ्गले लिएका छौँ । कुनै पनि विकासका गतिविधि भनौँ, शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरा, अझ भनौँ दमक नगरलाई समृद्ध बनाउने कुरामा हामी कटिबद्ध छौँ।’

​अधिकारी उदाहरण दिँदै भन्छिन्, ‘ हामी उदाहरणका रूपमा लिन सक्छौँ कि, रवि चिसापानी सडकको कुरा, भयो, प्रशासनिक सेवालगायतमा धेरै काम गर्नु छ । आम व्यवसायीहरूले अझै पनि दुःख पाइरहनु भएको छ । घरेलु तथा साना मझौला उद्योगका कार्यक्रमहरू नगरभित्रै ल्याउनु छ । यातायात कार्यालय दमक नगरमै ल्याएर सेवा प्रवाह गर्नु छ । त्यसैले हिजो जसरी एमालेको स्थानीय सरकारले ‘सिस्टम’मा ल्याएर काम गरिरहेको छ र आम जनता पनि एमालेकै सरकारले यो काम गर्न सक्छ भन्नेमा विश्वस्त हुनुहुन्छ । त्यसैले गठबन्धन केका लागि, किन भन्नुभन्दा दमकको समृद्धिका लागि नेकपा एमालेको स्थानीय सरकार नै आवश्यक छ ।’

दमक नगरमा गठबन्धनको प्रभाव चाहिँ कति देख्नु भएको छ त ! भन्ने प्रश्नमा अधिकारी भन्छिन्, ‘प्रभाव शून्य छ, किन भने पूर्व प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्वकालमा दमक नगरका जनप्रतिनिधिले लगेका हरेक भिजनहरू कार्यान्वयन गर्नका लागि बडो चासोका साथ साथ–सहयोग दिनुभएको छ । त्यही कारण दमकमा राष्ट्रिय गौरवका आयोजनाहरू चलिरहेका छन्’, अधिकारी थप्छिन् , ‘नगरपालिका प्रदेश र सङ्घीय सरकार गरी तीनै तहको राज्य संरचनासँग मिलेर हामीले दमकमा धेरै काम सुरु गरेका छौँ र यी  सबै काम सम्पन्न गर्नका लागि एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीको दायित्व रहन्छ । त्यस अर्थमा पनि मतदातामा गठबन्धनको प्रभाव शून्य छ ।

यी र यस्तै प्रसङ्गमा रहेर ओलीको पकड क्षेत्र मानिएको उनकै गृह नगर झापाको दमक नगरपालिकाकी नेकपा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीसँग रातोपाटीका लागि मनोज न्यौपानेले गरेको विशेष संवाद भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप