शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानिने

बुधबार, २१ वैशाख २०७९, १४ : १९
बुधबार, २१ वैशाख २०७९

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पुर्याइने गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताए । उनका अनुसार रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ । उनले भने, “सकेसम्म सवारी आवागमनमा कम असर पुगोस् भनेर ध्यान दिइएको छ ।” 

बिजुली, केबुल र इन्टरनेटको तारका कारण रथ तान्न समस्या हुनसक्ने उनले बताए। रथ तान्दा नगर प्रहरीले रथलाई अवरोध गर्ने खालका तार काटेपछि रथ अगाडि बढाइनेछ । उनले भने, “रथको सुरक्षा र त्यहाँभित्र रहेका मानिसको सुरक्षाका लागि पनि त्यहाँको अवरोध हटाउनुपर्छ ।” विगत दुई वर्ष कोभिडका कारणले जात्रा नियमित रुपमा सञ्चालन हुन नसकेको प्रमुख सुवेदीले बताए । 

सङ्क्रमणको जोखिमका कारण साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यो वर्ष विधिपूर्वक गर्न लागिएको हो । त्यसैले पनि स्थानीयवासी हर्षित र उत्साहित भएको प्रमुख सुवेदीले बताए । एकातिर सिङ्गो मुलुकमा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा ललितपुर महानगरपालिकामा भने जात्राको पनि रौनक छ । निर्वाचनकै दिनमा पनि रथ तान्नुपर्ने उनले बताए ।

उनले भने, ‘रथ यात्राका क्रममा कुनै झगडा नहोस् भनेर हामीले दलहरूसँग पनि समन्वय गरिरहेका छौँ ।’ चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो । आजै गाबलहालमा छोयलाबु गरिनेछ । भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पुर्याइनेछ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्ग लोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेव सँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भएपनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ । 

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथ चक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । पहिले पहिले काठमाडौंबासी र भक्तपुर पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ । 

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झण्डै ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायतका कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । रथ नियमित रुपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने सुवेदीले बताए । उनले भने ‘बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम पनि लाग्नसक्छ ।’ जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए । देवतालाई  पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् । 

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा हजुरबुबा नसक्ने हुँदै जाँदा सन्तानले त्यो जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए । जात्राका लागि विभिन्न किसिमका काठ, बाँस, बेतलगायतका कुरा आवश्यक पर्छ । कतिपय देशभित्रै पाइन्छ भने कति भारतबाट ल्याउनुपर्ने प्रमुख सुवेदीले बताए। देशभित्रै र विदेशबाट लोपोन्मुख जातका रुख, विरुवा ल्याउन समस्या पर्ने गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप