अभिभावकका यी पाँच गल्ती जसले बच्चालाई बिगार्न सक्छ
आमा–बुवाले बच्चालाई माया–प्रेम दिएर हुर्कारहेका छन् भने यसलाई प्रशंसा गर्नैपर्छ तर उनीहरुलाई हुर्काउँदै गर्दा तपाईंले बच्चाका केही कुरा पनि बुझ्न आवश्यक छ । यसो गर्दा तपाईंको बच्चा भविष्यमा राम्रो व्यक्ति बन्न सक्नेछन् । कतिपटक बच्चालाई असाध्यै पुल्पुल्याउँदा बच्चा बिग्रन थाल्छन् । उनीहरु आफ्नो सबै कुरामा जिद्दी गर्न थाल्छन् र आफूले भनेको कुरा पूरा नहुँदा चिच्याउने, रिसाउने गर्न थाल्छन् । कतिपय अवस्थामा बच्चाहरु घरमा आउने आफन्तप्रति पनि खराब व्यवहार देखाउने गर्छन्, दिनभरी टिभी हेरिरहन्छन् र रिमोट नपाउँदा केही पनि भनेको मान्दैनन् । यदि तपाईंको बच्चालाई पनि यस्तै कुराको बानी परिसकेको छ भने तपाईंले आफ्नो बच्चामाथि गर्ने व्यवहारमाथि केही परिवर्तन ल्याउनुहोस् । यी टिप्सले तपाईंलाई मद्दत गर्नसक्छ ।
१. बच्चाको हरेक जिद्दी पूरा नगर्नुहोस्ः
अभिभावकले आफ्ना बच्चालाई उनीहरुले भनेको सबै कुरा पूरा गर्न सकिँदैन भनेर सम्झाउनुपर्छ । बच्चाहरुले केही कुरामा जिद्दी गरिरहेका छन् भने उनीहरुलाई शान्त स्थानमा लैजानुहोस् र उनीहरुको चुप गराउन कोसिस गर्नुहोस् । उनीहरुले जुन कुराका लागि जिद्दी गरिरहेका थिए, त्यो उनीहरुका लागि राम्रो होइन भनेर सम्झाउनुहोस् । तपाईंले उनीहरुलाई बाल्यकालदेखि नै केही सीमा निश्चित गरिदिनुहोस् जस्तै उनीहरुको पढ्ने–खेल्ने समय निर्धारण गरिदिनुहोस् ।
२. अरुलाई अनादर नगर भनेर सम्झाउनुहोस्ः
बच्चाले अरु व्यक्तिहरुको अनादर त गरिरहेका छैनन् भन्ने कुरामा ध्यान दिनुहोस् । यदि बच्चाले यस्तो गरिरहेका छन् भने खराब व्यवहार गर्नु राम्रो कुरा होइन भनेर राम्रोसँग सम्झाउनुहोस् । गलत तरिकाले कुरा गर्दा वरिपरिका मानिसलाई समस्या पुर्याउन सक्छ । अभिभावकले आफ्नो बच्चालाई राम्रोसँग बोल्न र व्यवहार गर्न सिकाउनुपर्छ ।
३. पैसा माग्दा आवश्यकता बुझ्नुहोस्, अनिमात्रै दिनुहोस्
धेरैजसो अभिभावकले बच्चालाई असाध्यै माया गर्ने नाममा उनीहरुलाई जति माग्यो त्यति पैसा दिने गर्छन् । यसो गर्दा बच्चामा पैसाको खराब बानी लाग्न सक्छ । यस्तो भएको खण्डमा बच्चाहरुले पैसाको सम्मान गर्दैनन् र त्यसबाट किनेको सामान एक वा दुई पटक मात्रै प्रयोग गर्छन् वा फ्याँकिदिन्छन् । तपाईंहरुले बच्चाको हातमा पैसा नदिएर उनीहरुलाई आफैँले सामान किनेर दिनुहोस् र ती सामानलाई राम्रोसँग प्रयोग गर भनेर सम्झाउनुहोस् ।
४. जिस्क्याउनेहरुसँग कुरा गर्नुहोस्ः
यदि तपाईंको बच्चालाई कसैले दुःख दिइरहेको छ भने अभिभावकले आफ्नो बच्चासँग कुरा गरेर उनीहरुलाई कसले दुःख दिइरहेको छ भनेर सोध्नुहोस् । तर यदि तपाईंको बच्चाले नै कसैलाई दुःख दिइरहेको छ भनेर कसैले भन्यो भने आफ्नो बच्चासँग तुरुन्त कुरा गर्नुहोस् र ‘यस्तो गर्दा तिमीलाई पनि नराम्रो लाग्छ भने अरुलाई पनि त्यस्तै नराम्रो लाग्छ’ भनेर सम्झाउनुहोस् ।
तपाईं आफ्नो बच्चाले यस्तो व्यवहार गर्नुको पछाडिको कारण जान्ने कोसिस गर्नुहोस् । साथै, उनीहरुलाई राम्रो बानीको विकास गर्नुहोस् । अरुलाई मद्दत गर्नुपर्छ भन्ने भाव पैदा गराउनुहोस् ।
५. झुटो नबोल्न भन्नुहोस्ः
यदि तपाईंको बच्चालाई झुटो बोल्ने बानी परेको छ भने तपाईंले बच्चाको व्यवहार परिवर्तन गर्नुहोस् । बच्चाका साथी कस्ता छन्, साथीहरुले पनि झुटो बोल्छन् कि भन्ने कुरा विचार गर्नुहोस् । यसबाहेक कतै उनीहरुले गलत काम त गरिरहेका छैनन् भन्ने कुरालाई पनि नियाल्नुहोस् । अभिभावकले यस्तो स्थितिमा बच्चालाई गाली नगर्नुहोस् । यसो गर्दा उनीहरुले आफ्नो कुरा लुकाउने गर्छन् । उनीहरुलाई यस्तो बानीले भविष्यमा हानी पुर्याउन सक्छ भनेर बुझाउनुहोस् । तपाईंले उनीहरुलाई झुटो बोल्दाको दुस्परिणामसँग सम्बन्धित कथा कहानी पनि सुनाउन सक्नुहुन्छ ।
बच्चाहरुमा राम्रो व्यवहार विकसित गर्नु अभिभावकको जिम्मेवारी हुन्छ । यस्तोमा यी टिप्सले तपाईंलाई केही हदसम्म सहयोग गर्नेछ ।