मैले चुनावलाई चुनौतीको रुपमै लिएको छैन : राजन पौडेल
जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार छन् । पौडेल यसअघि मेयरमा पराजित भएका थिए भने चौधरी निवर्तमान उपमेयर हुन् ।
उम्मेदवारहरू स्थानीय तहको आसन्न निर्वाचनका लागि मत माग्न जनताको घरदैलो पुगिरहेका छन् । सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका पौडेल पनि चुनावी अभियानमा होमिएका छन् ।
उनी २०७४ सालको निर्वाचनमा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण नै मतदाताले स्वाभाविक रुपमा विकल्प खोज्ने बताउँछन् । उनीसँग चुनावी एजेण्डा र उपमहानगरको चुनावी माहोलका बारेमा रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
जीतपुर सिमरा उपमहानगरमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र तेस्रो शक्ति हो । गठबन्धन भए पनि चुनाव जित्न कति चुनौतीपूर्ण देख्नु भएको छ ?
मैले धेरै चुनौतीपूर्ण रुपमा लिएको छैन । विगतको भन्दा अहिले माओवादीको संगठन धेरै नै मजबुत भइसकेको छ । त्यसमा काँग्रेस सहित एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा लगायत दलहरुले समर्थन गरेका छन् । यसअघिको निर्वाचनलाई हेर्दा गठबन्धनको पल्ला भारी नै छ, कम छैन । एमाले अहिले पहिलेको अवस्थामा छैन ।
पार्टी विभाजन भएर छिन्नभिन्न अवस्थामा छ । पहिलेजस्तो बलियो अवस्थामा छैन एमाले । एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीले मलाई समर्थन गरेको छ । खास भन्नुपर्दा मैले चुनावलाई चुनौतीको रुपमै लिएको छैन । सहज र भारी मत अन्तरले विजयी हुने स्थिति देखेको छु ।
यसअघि निर्वाचनमा माओवादीबाट प्रतिस्पर्धा गरेको हुनाले मलाई माया गर्नु हुने धेरै मतदाता हुनुहुन्छ । चुनावमा पराजित भए पनि जनताकै बिचमा काम गरिराखेको छु । जनताको सुख, दुःखमा खटेर काम गरेकाले नगरवासीले भावी मेयरको रुपमा स्वीकार गरिसक्नु भएको छ । यी सबै परिस्थितिलाई हेर्दा सहज र भारी मत अन्तरले विजयी हुने स्थिति बन्दै गएको छ ।
यसअघिको निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेको थियो, अहिले गठबन्धनबाट उम्मेदवारी दिएपछि बलियो छु भन्ने लागेको हो तपाईलाई ?
सोचेको भन्दा बढी मतान्तरले हामी विजयी हुन्छौं । यहाँको माहोल हेरेको छु । एमालेले सञ्चालन गरेको उपमहानगर हेरेको छु । एमाले नेतृत्वले सञ्चालन गरेपछि उपमहानगरको अवस्था कस्तो भयो भन्ने मैले हेरेको छु । यहाँका उपमहानगरवासीले पनि एमालेको नेतृत्व हेरेका छन् । एमालेले जितेपछि उपमहानगर कस्तो भयो भन्ने कुरा नगरवासीमा घाम जत्तिकै छर्लङ्ग छ । उनीहरुले गरेका नराम्रा कार्यहरु जनताको मन मनमा बसेको छ । त्यसो भएको हुनाले उहाँहरु यो चुनावलाई फेस गर्ने स्थितिमा हुनुहुन्न ।
मधेसको क्षेत्रबाट तपाई उठ्नु भएको छ, त्यो फ्याक्टरले असर गर्छ कि गर्दैन ?
यो फ्याक्टरले असर गर्दैन । जात, क्षेत्र भन्ने जस्ता मनोविज्ञान यहाँ छैन । विगतका चुनावहरूलाई केलाउँदा पनि त्यो अवस्था छैन । अहिले पनि त्यो खालको मनोविज्ञान देखिदैन । यहाँ मिश्रित खालको बसोबास छ । खस आर्यहरू यस्तै १९÷२० प्रतिशत छन् ।
तामाङ, मुस्लिम, थारु १४÷१५ प्रतिशत, मधेसी १७/१८ प्रतिशत बसोबास छ । त्यस कारणले जात र क्षेत्र वा अन्य कुनै खालको एजेण्डा यहाँ बन्दैन । जनताको काम गर्नेलाई मन पराउने स्थिति छ । जनताले काम गर, भोट लैजाउँ भनिरहेका छन् । यहाँ गफ गर्ने होइन, काम गर्ने जनप्रनिधि चाहिएको छ ।
यस उपमहानगरको प्रमुख समस्या के के हुन् ? कस्ता खालका एजेण्डा अघि सार्नु भएको छ ?
यो उपमहानगरमा जसले नेतृत्व गर्नुभयो, यसलाई असफल उपमहानगरको रुपमा दर्ज गराउनुभयो । सुशासन नाम मात्रको भयो । सबै कामहरु कागजमा सीमित भए । उपमहानगरको बेरुजुको हालत उस्तै छ । भ्रष्टाचार बढेको छ । हामीहरुले यो उपमहानगरलाई एउटा मानवीय विकासका दृष्टिकोणले समृद्ध बनाउने सोचेका छौं ।
आधारभूत विकासहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र सुकुम्वासी समस्या समाधान गर्ने योजना बनाएका छौं । आमजनताले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा सस्तो र सर्वसुलभ रुपमा पाउनु पर्छ भन्ने कुरालाई ग्यारेन्टी गर्न खोजेका छौं । कृषि क्षेत्रमा किसानको गोठदेखि खेतसम्म पुग्ने कार्यक्रम बनाउँछौं । जनताको आधारभूत सेवालाई प्राथमिकता दिने कार्यक्रम बनाउने छौं । ती सबै अध्ययन गरेर सबैलाई समेट्नेगरी उपमहानगरको बजेट बनाउने छौं ।
यसअघि नगरसभालाई पूर्ण रुपमा पङ्गु बनाइयो । नगरसभा जनताको जनप्रतिनिधिमूलक संस्था भएकाले व्यवस्थित बनाउने छौं । उपमहानगरमा सबै नीतिगत कार्यक्रम बनाएर बजेट विनियोजन गर्ने छौं । औपचारिक र व्यवहारिक कार्यक्रमहरु बनाएर लागु गर्ने छौं । उपमहानगरमा भएका थुप्रै खालका विकृति र विसंगतिलाई पूर्ण रुपमा निमिट्यान्न बनाउने छौं । जनताले भोट खेर गएन भन्नेगरी काम गर्ने छौं ।
घरदैलोका क्रममा त्यहाँका मतदाताले मुख्य रुपमा कुन कुन क्षेत्रमा काम गर्नुपर्छ भनेर सुझाव दिएका छन् ?
अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताका खासै काम गरेनन् । त्यसैले उनीहरु आक्रोशित भएका छन् । जस्तै, धेरै ठाउँमा खानेपानी, विद्युत जडान, ऐलानी जग्गा र अव्यवस्थित बसोबास व्यवस्थित गर्नुपर्ने छ । कतिपय ठाउँमा न्यूनतम स्वास्थ्य सेवा र सामुदायिक विद्यालयमा राम्रो पढाई नभएका गुनासा छन् । यस उपमहानगरका कतिपय वडा डुबान हुने र कटान हुने समस्या छन् ।
यदि तपाई निर्वाचित हुनुभयो भने पहिलो काम के गर्ने सोच्नु भएको छ ?
मैले पहिलो दोस्रो भनेर परम्परागत रुपमा काम गर्ने सोचेको छैन । पहिलो काम के गर्ने भनेर मन्त्रालयदेखि स्थानीय तहमा देखिन्छ । मैले पहिलो काम यो गर्छु, त्यो गर्छु भनेर सोचेको छैन । औपचारिकताको रुपमा गर्ने योजना बनाएको छैन । हामी नगरपालिकामा निर्वाचित भएर आएपछि सबै पक्षसँग छलफल गरेर योजनावद्ध विकास गर्नेछौं । आगामी ५ वर्षमा व्यवस्थित र योजनावद्ध रुपमा उपमहानगरको काम गर्ने योजना बनाएको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म