सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पहिलेका चुनावमा जस्तो अहिले कटुता छैन कार्यकर्तामा

बुधबार, २१ वैशाख २०७९, १० : ३८
बुधबार, २१ वैशाख २०७९

विराटनगर । मोरङको कानेपोखरी–२ को कालीकोशी भन्ने स्थानमा नेकपा एमाले र माओवादी केन्द्रको चुनावी अभियान टोलीको जम्काभेट भयो । चिनेजानेका साथीभाइबीच एकआपसमा कुराकानी भयो । एकले अर्कोलाई भोट मागे, हात मिलाए । त्यहाँ कुनै कटुताको कुरासम्म भएन ।

कानेपोखरी–५ का स्थायी बासिन्दा रेमबहादुर खड्का उमेरले ६६ वर्षका भए । उनले हालसम्म झण्डै एक दर्जन निर्वाचनमा सक्रिय सहभागिता जनाएका छन् । तर, उनलाई पहिलेको चुनाव र अहिलेको चुनावमा विभिन्न पार्टीका व्यवहार र शैली भिन्न लागेको छ । पहिले पहिले विभिन्न पार्टीमा मान्छे भेला हुनेबित्तिकै मारामार गर्न थाल्थे । तर, अहिले हात मिलाएर हिँडेको देख्दा आफूलाई हामी सुसंस्कृत भएछौँ जस्तो लागेको बताउँछन् ।

‘पहिलेका चुनावमा खपिनसक्नु झगडा हुन्थ्यो । चुनावको अभियानमा भेट भयो कि हानाहान नै पर्थ्यो । त्यसबेला मंगोल भन्ने पार्टी झनै उग्र थियो,’ उनले आफ्नो पुर्ख्यौली थलो इलाममा दशकौँ अगाडि भएको चुनावको अनुभव सुनाए, ‘काँग्रेस र कम्युनिष्ट भन्थे । त्यतिखेर वास्तवमा नबुझेर मानिसहरु उच्छृङ्खल भएका रहेछन् । ६० वर्ष पुगेपछि कम्युनिस्टहरूले बुढाबुढीलाई मार्छन् भनेर काँग्रेसले भन्थ्यो, कम्युनिस्टले काँग्रेसलाई शोषक, सामन्ती भन्थ्यो, काँग्रेस धनीको पार्टी हो, गरिबको पार्टी हामी हौं भन्थ्यो ।’

खड्कामात्रै होइन, आफ्नो जीवनकालमा भएका १० वटा चुनावमा सक्रिय राजनीतिक कार्यकर्ताको भूमिकामा रहेका कानेपोखरी–६ का डिल्ली प्रकाश राई पनि पहिले र अहिले मानिसको राजनीतिक चेतना र व्यवहारमा निकै फरक देख्छन् ।

पक्ष विपक्षको झडपमा आफै सहभागी भएर घाइतेसमेत भएका राई आफ्नो टाउकोमा त्यसबेला निधारमा लागेको गम्भीर चोट देखाउँदै भन्छन्, ‘अहिले त धेरै सहज भएको छ, ऊ बेला हामीलाई त्यस्तै स्कुलिङ थियो ।’ उनलाई ४३ सालको पञ्चायती चुनावदेखि हालसम्मको चुनावबारे धेरथोर थाहा छ । कुनैबेला उनले मतपेटिका फुटाउन पनि बाँकी राखेनन् ।

‘चुनावमा यसरी विपक्षी भेट हुँदा पहिलेपहिले त हानाहान परिजान्थ्यो नि । हामी नै कुट्न जान्थ्यौं,’ उनले भने, ‘त्यसरी झडप हुँदा मेरो टाउकोमा चोट नै लागेको थियो । अरूलाई खेदाउन जाँदा आफै घाइते भएँ ।’

उतिबेला प्रहरी प्रशासनको सुरक्षाको आडमा पनि गुण्डागर्दी हुने गरेको उनले सुनाए । ‘बुथ कब्जा गरिन्थ्यो,’ उनले भने, ‘त्यो अवस्था र अहिलेको अवस्थामा धेरै फरक आयो ।’

अहिलेचाहिँ चुनावमा एकैठाउँमा पनि आ–आफ्नो कुरा गरेर फरकफरक पार्टीका नेता–कार्यकर्ता सौहार्द्रपूर्ण ढंगले हिँडेको देखिन्छ । ०६४ सालको निर्वाचनपछि एकअर्का राजनीतिक दलका कार्यकर्ताबीच झडपका घटनामा कमी आएको उनको अनुभव छ । ‘अहिले सकारात्मक चेतना आएको देखिन्छ,’ उनी भन्छन् ।

उनीजस्तै कानेपोखरी ५ का भुपाल राई पूर्व पञ्चका छोरा हुन् । ५५ वर्ष उमेर पुगेका उनले पनि अनेकौं चुनावमा सहभागिता जनाइसकेका छन् । ‘अहिलेजस्तो बाटो काट्दा भेट भए ऊबेला झडप भइजान्थ्यो,’ उनले भने ।

उनका बुबा नरबहादुर राई पञ्चायतकालमा साविक केरौन–१ बाट ५ पटक वडाध्यक्ष भए । उनको घरमा ३६ सालदेखि चुनावी माहोल छाइरह्यो । ‘त्यसबेला त बन्दुक हानाहान र ढुंगा हानाहान खुबै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त जता फाइदा उता जानेहरु पनि छन् । कतै भोज भतेर भएको ठाउँमा अर्को पार्टीका मानिसहरु गएर खाइदिँदा पनि केही हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप