शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तदान गर्नमा हिच्किचाहट किन ?

बुधबार, २१ वैशाख २०७९, १० : ०६
बुधबार, २१ वैशाख २०७९

रगत उपलब्ध गराउनुपर्ने निकायमा आवद्ध भएकाले म यसको व्यवस्थापन पक्षका बारेमा अलिकति भएपनि चिन्ता र चासो राख्ने गरेको छु । गएको लकडाउनका बेलामा रगतको अभावमा बिरामीका आफन्तहरु रक्तसञ्चार सेवा केन्द्रमा अलि बढी भीडभाड गर्ने गरेका थिए । त्यस बेलादेखि नै रगतको अभाव भएको मैले देखेको हुँ । 

लकडाउनका बेलामा अफिसको फोन तारन्तार बजिरह्यो । बिशेष गरी एम्बुलेन्स र रगतकै लागि बढी फोन आउँथ्यो । एम्बुलेन्सका लागि भए एम्बुलेन्स ड्राइभरको फोन नम्बर दिन्थेँ भने रगतका लागि भए ठाउँ सोधेर धनगढी वा महेन्द्रनगर जता हो, उतैका इन्चार्जहरुको फोन नम्बर दिन्थेँ । अनि उहाँहरु सिधै आफै बुझ्न पाउनुहुन्थ्यो । म जस्ता कार्यालयको प्रशासनका कर्मचारीलाई त्यो बारेमा त्यति ज्ञान पनि हुँदैन ।

म प्रायः रक्तसञ्चार सेवा केन्द्रमै बसिरहेको हुन्छु । त्यसैले रगतका लागि आएका बिरामीहरुको अवस्था अनि हामीसँग भएको रगतको अवस्थाका बारेमा बुझ्छु । रक्त सञ्चार सेवा केन्द्रमा प्रायः रगतको स्टक थोरै हुन्छ । किनकि संकलन गरिदै पठाउँदै गरिन्छ । यसो हुँदा अभाव जस्तो पनि देखिन्छ । तर रगत आपूर्ति गरिने प्रक्रिया नै त्यही हो । किनभने रगत उत्पादन हुने चिज हैन, आपूर्ति गर्नका लागि मानिसले नै दान गर्नुपर्छ । यसर्थ जतिसुकै बेला पनि रगत स्टोर रहन सक्दैन । 

रगतको आवश्यकता कति बेला पर्छ, थाहा हुँदैन । यसको व्यवस्थापनकर्ताले विशेष गरी रक्तदाताहरु तयार पारेर राख्ने र आवश्यक परेका बेला झिक्ने गरिरहन्छन् । जुनसुकै बेला निकालिए कहिलेकाहीँ रगत खेर जान सक्ने अवस्था पनि आउन सक्ने देखिन्छ । विशेष गरी नेगेटिभ ग्रुपमा यो समस्या आइदिन्छ । नेगेटिभ ग्रुप प्रायः कम मात्रामा पाइन्छ ।  पाइएका बेला निकालेर राख्यो भने पनि त्यो खेर गइदिन्छ । यसका बिरामी  कमै आउँछन् ।

मान्छेहरु अझै पनि रगत दिन हिच्किचाउने, डराउने गर्दछन् । आफ्नै श्रीमती, आमा बुबा अर्थात् आफ्नै परिवारका मान्छेलाई रगत आवश्यक पर्दा समेत रगत दिन साह्रै अप्ठ्यारो मान्ने गरेको मैले देखेको छु । उहाँहरुलाई सम्झाउन पनि निकै गाह्रो पर्दछ । आफ्ना मान्छे बिरामी पर्दा अरुले रगत देओस् भन्ने सोच राख्नु निकै गलत हो । आफूलाई स्वास्थ्य समस्या भएमा त नदिनु स्वभाविक हो । चिकित्सकहरुले पनि निकै चेकजाँज गर्छन्, रगत निकाल्न उपयुक्त भएमात्रै निकाल्न सिफारिस गर्छन् । यसर्थ बरु आफू स्वास्थ्य भएको अवस्थामा पहिला आफूले नै दिँदा र त्यसले पर्याप्त हुन नसकेको अवस्थामा मात्र अरुबाट आशा स्वभाविक हुन्छ । 

एक पटक मसंगै पढेको गाउँको साथीका आफन्त बिरामी रहेछन्, अप्रेसन गर्नुपर्ने रहेछ । डाक्टरले रगतको व्यवस्थापन गरिहाल्न निर्देशन दियो । उहाँहरुले मलाई फोन गर्नु भयो । मैले ल्याब इन्चार्ज सरलाई सोध्दा ब्लड हामीसँग स्टक नरहेको बताए । बिरामीका थुप्रै आफन्तहरु थिए । उहाँहरुलाई रक्तदान गर्न पटक पटक भनेँ तर कसैले मेरो प्रेसर लो छ भने कसैले मलाई त सञ्चो छैन भने । निकै प्रयासपछि उहाँहरुकै अर्का आफन्त दिन तयार भएछन् । यस्तो घटनाको म धेरै पटक साक्षात्कार भएको छु । 

उता स्वयम्सेवी रक्तदाताहरु बिरामी को हो भनेर समेत सोध्दैनन् । ब्लड बैंकले रगत चाहियो आउनु पर्यो भन्यो कि सिधै तुरुन्तै आइहाल्ने नियमित रक्तदाताहरु प्नि तयार भइसकेका छन् । मेरा केही साथीहरु त आफ्नो जन्मदिनमा रक्तदान गरेर मनाउँछन् । उहाँहरु धन्यवादका पात्र नै हुन् ।

विशेष गरेर डेलिभरी केसका लागि पछिल्लो समय धेरै रगत आवश्यक पर्ने देखिन्छ । बच्चा जन्मिँदा प्राकृतिक रुपमा भन्दा पनि अप्रेशन गर्नुपर्ने धेरै भइदिदाँ यो अवस्था आएको देखिन्छ । यसका साथै शरीरका विभिन्न अङ्गहरुको अप्रेशन गर्नुपर्दा वा अन्य कारणले शरीरमा रगतको कमी हुँदा रगत चढाउनु पर्ने देखिन्छ ।

चिकित्सकले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ भनेर भनिरहेका छन् तर पनि मानिसहरु रक्तदान गर्न हिच्किचाउँछन् ? रगत दिएमा शरीरबाट रगत घट्छ र शरीर कमजोर हुन्छ भन्ने धरैलाई भ्रम रहेको देखिन्छ । यद्यपि रक्तदान गर्दा रगतको मात्रा घट्दैन । रगत उत्पादन गर्ने कोषहरुले रगत तत्व उत्पादन गरिरन्छन् । अझ रक्तदानले अक्सर शरीरमा रगतलाई फ्रेस बनाउन पनि मद्दत गर्दछ ।

१८ वर्ष पुरा भएर करिब ५५ वर्ष सम्मका व्यक्तिहरुले अहिलेसम्म रक्तदान गरिरहेको देखिन्छ । रगत निकाल्दा पनि बढीमा ७ मिनेट मात्रै समय लाग्छ । रक्तदान गरेर शरीर कमजोर भएको, रगतको मात्रा घटेको रेकर्ड हालसम्म नेपाल रेडक्रसका कुनै पनि रक्तसञ्चार केन्द्रमा छैन । र, सायद अन्र्तराष्ट्रिय प्रयोगशालाहरुमा पनि नहोला । चिकित्सक लगायत विश्व स्वास्थ्य संगठनको निर्देशिकाले पनि कम्तिमा पनि १८ वर्ष पुगेका स्वस्थ्य व्यक्तिहरुले हरेक तीन तीन महिनामा रक्तदान नियमित गर्न सक्ने बताएको छ । यसले रक्तदातामा कुनैपनि प्रकारको स्वास्थ्य समस्या नल्याउने बताएका छन् ।

नेपालमा अझै पनि रगतका विभिन्न कम्पोनेन्टहरु छुट्टाछुट्टै निकान्ने प्रविधि विकास भइसकेको छैन । केन्द्रीय रक्तसञ्चार सेवामा मात्रै गत एक दुई महिना अघि मात्रै भित्रिएको थियो । तर अरु सबै ब्लड बैंकहरुमा भने हालसम्म पनि पुरा रगत निकाल्नुको विकल्प छैन । विदेशतिर आरविसी, डब्लुविसी, प्लेटलेस, प्लाज्मा लगायतका तत्वहरु आवश्यक मात्रामा छुट्टाछुट्टै रुपमा निकाल्न सकिन्छ । यसले रक्तदातालाई झन सजिलो बनाएको छ भने रगत आपूर्तिमा समेत सहज बनाएको छ । यस प्रविधिले बिरामीलाई जे तत्व चाहिएको छ, त्यही निकाल्दा समयको बचत हुन्छ भने रगत खेर जान समेत रोक्ने गर्दछ । यसका साथै बिरामीका आफन्तलाई समेत रक्तदान गर्न हिच्किचाउनु पर्ने अवस्था नआउने देखिन्छ ।

नेपालमा अझै पनि सजिलै रक्तदान गर्ने संस्कार र भावना विकास भैसकेको छैन । पछिल्लो समयमा ब्लड बैंकलगायत विभिन्न सामुदायिक क्लब, संघ संस्था, विद्यार्थी संगठन, दारी ग्याङ्ग लगायत युथ ग्रुपले रगतको आपूर्तिका लागि बार्षिक रुपमा नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरिहेका छन् । तर विशेष गरी पहाडी क्षेत्रमा त अझै पनि रक्तदानका लागि नेपाली सेना, प्रहरी सशस्त्र लगायत सुरक्षा निकायहरुमा भर पर्नु परेको छ । 

म आवद्ध सुदूरपश्चिम प्रदेशमा हाल रक्त सञ्चार सेवाका लागि कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा नियमित रक्तसञ्चार सेवा सुचारु रहेको छ । अछाम, बाजुरा, बैतडीमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र सुचारु रहेका छन् । धनगढीमा अमेरिकी जनताको सहयोगमा निर्मित देशकै ठुलो तथा अन्तरराष्ट्रिय मापदण्ड सहितको प्रादेशिक रक्तसञ्चारसेवा केन्द्र सञ्चालनमा आइसकेको छ । यसका साथै गैरआवासीय नेपाली संघको सहयोगमा घुम्ती मोबाइल ब्लड बस पनि सञ्चालनमा आएको छ । 

कोभिडको महामारीका बेलामा पनि रक्तदानले गर्दा कोभिड सरेको रेकर्ड अहिलेसम्म नभेटिएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक बताउँछन् । त्यसैले रक्तदान गर्न अलमल नगरौं । मैले हालसम्म तीन पटक रक्तदान गरेको छु । त्यसले हालसम्म कुनै पनि प्रकारको असर पारेको महसुस गरेको छैन । झन् यसले शरीर तन्दुरुस्त पार्न सहयोग गरेको अनुभव गरेको छु । त्यसैले रक्तदान अभियानलाई निरन्तरता दिने योजना छ ।

अब रगत उपलब्ध गराउनका लागि रक्तदानको विकल्प छैन । हरेक १८ वर्ष उमेर पुगेका युवाहरुले हरेक तीन तीन महिनामा रगत दान गरौँ । रगत दान जीवनदान हो । यसर्थ हामीले दिएको एक थोपा रगतले कसैको ज्यान जोगिन्छ भने त्यो भन्दा ठुलो धर्म के हुन्छ र ? 

लेखक नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयमा आवद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धनबाबु जप्रेल
धनबाबु जप्रेल
लेखकबाट थप