विराटनगरमा चुनावी सरगर्मी : घरदैलोमा १८ घण्टा व्यस्त उम्मेदवार

स्थानीय तहको निर्वाचन अन्तर्गत दलहरुले चुनाव प्रचारलाई तीव्र बनाएका छन् । विराटनगर महानगर प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेश कोइराला र एमालेका सागर थापाले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् ।
बिहान ७ बजेदेखि सुरु गरेको चुनावी घरदैलो अभियान राति १२ बजेसम्म हुने गरेको उनीहरु बताउँछन् । ‘बिहान ७ बजे निस्किएपछि राति १२ बजेसम्म चुनावी अभियान हुने गरेको छ,’ गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेका काँग्रेसका नागेश कोइरालाले भने, ‘अहिले हाम्रो सुताइ पनि ४ घण्टाभन्दा बढी छैन ।’ विराटनगरका प्रमुख पदमा उम्मेदवार बनेका एमालेका सागर थापा पनि घरदैलोमा जाँदा-जाँदै कहिलेकाहीँ १९ घण्टासम्म खटिने गरेको सुनाउँछन् । ‘बिहान ५ बजेदेखि हिँडेको कहिले रातिको १०, कहिले ११ बज्छ,’ थापा भन्छन् ।
एमालेले घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै ठूला कार्यक्रम पनि आयोजना गर्न लागेको छ । थापाका अनुसार एमालेले वैशाख २४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ल्याएर विराटनगरमा वृहत चुनावी भेला गर्ने भएको हो । निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालका अनुसार चुनावी भेलामा १९ वटै वडाका एमाले उम्मेदवार लगायत पाँच हजारभन्दा बढी कार्यकर्ता सहभागी हुनेछन् । यस्तै एमालेले चुनावी घरदैलो कार्यक्रम समापनपछि विराटनगरका १९ वटै वडामा कोणसभा गर्ने भएको छ । एउटा वडामा कम्तीमा तीन ठाउँ गरी विराटनगर भर करिव ८० ठाउँमा कोणसभा गर्ने एमालेले जनाएको छ ।
यता, आफ्ना उम्मेदवारलाई जिताउने गरी प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितको टोली बुधबार (भोलि) विराटनगर आउँदैछ । देउवाले विराटनगरको पुष्पलाल चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तयारी गरेको नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसका अनुसार प्रधानमन्त्रीको कार्यक्रममा विराटनगरका सबै वडाका कार्यकर्ता तथा छिमेकी पालिकाबाट पनि सहभागी हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर