शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भरतपुरमा ५ दलीय गठबन्धनद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

मङ्गलबार, २० वैशाख २०७९, १७ : २३
मङ्गलबार, २० वैशाख २०७९

भरतपुरलाई दक्षिण एसियाकै नमुना सहर बनाउने योजनासहित ५ दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छ । भरतपुर नगर समितिले तयार गरेको घोषणापत्र भरतपुर महानगर मेयर पदका प्रत्यासी रेनु दाहाल र उपमेयर पदका प्रत्यासी चित्रसेन अधिकारीले साेमबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

‘विगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न, भूमिहीनका समस्या समाधान गर्न, १२ कक्षा सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बिमा कार्यक्रम, स्थानीय सीप, श्रोत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगीकरण मार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधा सम्पन्न अस्पताल तथा वृद्ध र आयुक्तहरूलाई घरघरमै स्वास्थ्य सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा नीतिगत सुधार एवं आगामी कार्यकालमा गरिने कार्यहरू बुँदागत रूपमा उल्लेख गरिएको छ । प्रत्यासीहरूले आगामी कार्यकालमा भरतपुरलाई सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एशियाली मापदण्डको भौतिक पूर्वाधार, सबैको लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटन :  स्वरोगजारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारी मुक्त भरतपुर, केही महिनाभित्रै इलेक्ट्रिक बस सञ्चालन, समृद्धिका लागि वन कार्यक्रम, सक्षम, स्वस्थ र सुरक्षित महिला एवं बालबालिका, भरतपुर देशकै खेलकुद केन्द्र, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम लगायत विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेतृत्व परीक्षण सफल भइसकेकाले पनि केही महत्त्वाकाङ्क्षी योजनाहरू ल्याएको र आउँदो कार्यकालमा अहिले गरिएका प्रतिबद्धता एवं कार्यक्रमहरू सफल बनाएरै छाड्ने उल्लेख गरिएको छ । त्यस्तै प्रतिबद्धता पत्रमा नीतिगत तर्फ महानगरको विकासमा कोही पक्ष–प्रतिपक्ष नभई राजनीतिक सहमति, सहकार्य र समन्वयमा अघि बढ्न, महानगरको समृद्धिका आधारः दक्ष मानव संसाधन, पर्यटन, कृषि र औद्योगिकिकरण हुने, महानगरीय योजना आयोग गठन गर्ने, महानगरलाई बेरोजगार मुक्त बनाउन प्रत्येक श्रमिकलाई दक्ष र व्यावसायिक बनाई रोजगारी दिने, रोजगार सहायता केन्द्र स्थापना गरी रोजगारीका लागि सूचना प्रवाह गर्न व्यवस्था मिलाउने, खाद्यान्न अभावमा जीवन जोखिममा पर्ने परिस्थितिको अन्त्य, कृषिलाई व्यवसायीकरण, औद्योगिकिकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, सहकारीलाई उत्पादन र बजारसँग जोडिँदै ‘मेड इन भरतपुर’ को अभियान चलाइने, वन्यजन्तुबाट मानव बस्तीमा हुने जनधनको क्षति हुन नदिन विशेष संरक्षण योजना बनाउने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप