बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा क्रियापुत्री भवनबारे माधव नेपालको सचिवालय : स्थानीयलाई सहयोग गरेको मात्रै

मङ्गलबार, २० वैशाख २०७९, १६ : ४५
मङ्गलबार, २० वैशाख २०७९

काठमाडौंको कोटेश्वरमा निर्मित क्रियापुत्री भवनबारे विवाद सिर्जना भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३२ शृङ्खला टोलमा क्रियापुत्री भवन बनेपछि शृङ्खला टोल विकास समाजका पदाधिकारीले विरोध गरेका छन् ।  

२०७७ ज्येष्ठ ४ मा सार्वजनिक जग्गामा भवन निर्माण गर्नका लागि जग खन्ने समयमा मात्र टोलवासीहरू तथा शृङ्खला टोल विकास समाजलाई उक्त स्थानमा क्रियापुत्री भवन बनाउने कुरा थाहा भएको संस्थाको भनाई छ । नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट सहमति विपरीत भवन निर्माण गरेको शृङ्खला टोल विकास समाजका पदाधिकारीले आरोप लगाएका छन् । 

सो संस्थाका पदाधिकारीले विज्ञप्ति जारी गर्दै क्रियापुत्री भवन आवासीय क्षेत्रमा बनाउन ठीक नहुने र यसले टोलवासीहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न जाने भएकाले सोही समयमा सोही प्रयोजनको लागि भवन निर्माण नहोस् भनी टोल विकास समाजले विरोध स्वरूप जग खन्ने काममा विरोध गरेको र सोको लागि उक्त भवन निर्माण समिति तथा काठमाडौँ महानगरपालिका वडा नं. ३२ बडा कार्यालयलाई उक्त भवन क्रियापुत्री प्रयोजनको लागि निर्माण नगरियोस् भनी गत २०७७ ज्येष्ठ ४ मा निवेदन दिइएको भए पनि भवन जबरजस्ती रूपमा निर्माण गरिएको दाबी गरेको छ । संस्थाका पदाधिकारीले पूर्व प्रधानमन्त्री माधव नेपालको पद र शक्तिको दुरुपयोग गर्दै बलजफ्ती क्रियापुत्री भवन बनाएको आरोप लगाएका छन् । 

स्थानीयको माग अनुसार सहयोग गरिएको मात्रै 

यता माधव कुमार नेपालको सचिवालयले भने शृङ्खला टोल विकास समाजको विज्ञप्तिको खण्डन गरेको छ । नेपालका निजी सचिवालयका एक सदस्य मोहन गौतमले स्थानीयको माग अनुसार नेता नेपालले सहयोग गरेको बताए । 

उनले भने–‘त्यहाँ यो काम गर्नुपर्‍यो भनेर सांसदले योजना लगेको हैन । स्थानीयको आवश्यकता अनुसार उनीहरूले राखेको मागलाई सम्बोधन गरेको मात्र हो । सार्वजनिक जग्गामा क्रियापुत्री भवन चाहियो भनेर सहयोग मागेपछि सांसदले सहयोग गर्ने कि नगर्ने ? त्यहाँको टोलबासीको माग अनुसार सांसदले सहयोग गरेको मात्र हो ।’

उनले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गरेको रातोपाटीलाई बताए । उता संस्थाका पदाधिकारीले भने बस्तीको बीचमा क्रियापुत्री भवन बनाउँदा मनोवैज्ञानिक असर पर्ने बताउँदै उक्त भवनलाई अरू नै प्रयोजनका लागि प्रयोग गर्न माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप