काठमाडौं महानगरलाई कस्तो मेयर चाहिएला ?
काठमाडौंको सौन्दर्यको वर्णन गर्दै आजभन्दा करिब २ सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका थिएः
चपला, अवलाहरु एक सुरमा
हिँडन्या सखि ली कन ओरिपरि
गुणकेशरीको फूल ली शिरमा
अमरावती कान्तिपुरी नगरी
त्यसवखत काठमाडौंलाई कविले स्वर्गको इन्द्रको राजधानी अमरावतीसँग तुलना गरेका थिए । भानुभक्तको यो कविताले त्यसवखत काठमाडौं कति सुन्दर थियो होला भन्ने अनुमान गर्न सकिन्छ । भीमसेन थापा निर्मित ११ तल्ले धरोहरा, चन्द्र शम्शेर निर्मित घण्टाघर र प्रतापमल्ल निर्मित रानी पोखरी अनि पृथ्वीनारायण शाह निर्मित बसन्तपुरको नौतल्ले दरवार काठमाडौंको मौलिक पहिचान थियो त्यसबखत ।
मल्लकालमा पनि काठमाडौं इन्द्रको नगरी भन्दा कम थिएन होला । इन्द्रजात्राको कथाअनुसार स्वर्गकी राजा इन्द्रलाई उनकी माता डाकिनीले स्वर्गमा पनि नपाउने पारिजातको फूल विशेष पूजाको निम्ति लिन पठाएका थिए । त्यसरी त्यो सुन्दर फूल चोर्न आउने इन्द्र केही समय चोरको आरोपमा काठमाडौंबासीबाट बन्दी बनाइएको थिए रे । गोर्खाका राजा पृथ्वीनारायण शाह काठमाडौंबाट यति प्रभावित भए कि उनले काठमाडौंमा विजय हासिल गरेपछि आफ्नो राजधानी नै यहाँ सारे । उनले यहाँका कुमारी, तलेजु लगायतका देवीदेवताहरुको पूजाआजालाई अनि लाखे, तानाकिसी लगायतका परम्परागत नाचहरुलाई निरन्तरता दिए, जसको कारण आजसम्म पनि काठमाडौंको सांस्कृतिक सम्पदा जीवन्त छ ।
आज भन्दा चार दशक अघिसम्म पनि काठमाडौं त्यति फोहोर थिएन । यहाँका बागमती, विष्णुमतीमा निर्मल पानी बग्थ्यो, जुन मुख धुन र नुहाउनसमेत हुन्थ्यो । तर अहिले यहाँ पानी हैन ढल बग्छ, हामी हावामा श्वास फेर्दा कार्वनडाइअक्साइड बढी अक्सिजन कम पाउँछौं यहाँ । त्यसमा पनि धूलोका कणहरुको मिश्रणले वातावरण नै धमिलो र हुस्सु लागे जस्तो बनाइदिन्छ । अहिले काठमाडौं दिनानुदिन कंक्रिटको जंगलमा परिवर्तन हुँदैछ । जताततै फोहोरको थुप्रो नै थुप्रो देख्न पर्छ, हिँड्दा नाक थुन्न पर्छ । आँखामा कालो चश्मा लगाउनु पर्ने अवस्था छ फोहोर देख्ला कि भनेर । कानको जाली नै फाटिने ध्वनि प्रदूषण छ अनुभव गर्नुपर्छ अहिले ।
प्रजातन्त्र पुनस्थापनापछि काठमाडौंको वातावरण र रहन सहनमा केही परिवर्तन आउला कि भन्ने आशा गरिएको थियो तर त्यो आशा केही समयमै धुलोमा मिल्यो । ०४७ मा बहुदलीय व्यवस्था पुनरागमनपछि काठमाडौंले पीएल सिंह जस्तो त्यागी, कर्तव्यनिष्ठ, निस्वार्थी मेयर पाएको थियो । त्यसवखत सहर स्वच्छ, सफा, हराभरा राख्ने कोशिश पनि भएको हो । तर उनको कार्यकाल महानगरको ऐन, नियम फेर्न, विगतमा भएका कसिंगर तथा विसंगतिहरु हटाउनमै धेरैजसो बित्यो ।
पीएलले काठमाडौंमा केही वैदेशिक सहयोगहरु बटुलेका पनि थिए, मेलम्चीको खानेपानी आयोजनाको सुरुवात पनि त्यसै बखत भएको थियो । उनले सफा, सुन्दर र व्यवस्थित काठमाडौं सहर र अधिकारसम्पन्न महानगरको अवधारणा अनुरुप राजधानी सहरका विकास, निर्माणका कार्यहरुको जग बसालेका थिए । विष्णुमती लिंकरोड निर्माणको सुरुआत गर्नुका साथै राजधानीलाई हराभरा राख्न रिङरोडमा वृक्षारोपण गरी ग्रीनवेल्ट बनाउने कार्यको पनि सुरुवात भएको थियो ।
पीएलपछि काठमाडौं नगरपिता नभएको टुहुरोजस्तै हुन पुग्यो । २०५२ पछिका एक दशक माओवादी हिंसा र शान्ति प्रक्रियाको संक्रमणकालका कारण देशका अन्य स्थानीय निकायहरु जस्तै काठमाडौं जनप्रतिनिधि विहीन अवस्थामा पुग्यो । पछि आउने मेयरहरुले काठमाडौंका जनताको हित र यहाँको समस्या हल गर्न भन्दा पनि आफ्नो खल्ती भर्न, ठेक्का पट्टा आफ्ना मान्छेलाई दिलाउन र यहाँका सम्पदालाई बिस्तारै मास्ने कार्यमै सक्रियता देखाएको बुझियो ।
त्यसवीच काठमाडौंमा एमालेको तर्फबाट केशव स्थापितले ५ वर्ष मेयर चलाए भने पछि राजा ज्ञानेन्द्रको कार्यकालमा पनि उनै स्थापितलाई मेयर बनाइयो करिब २ वर्ष जति । त्यसपछि लामो समयको संक्रमण कालपछि पुनः एमालेकै विद्यासुन्दर शाक्य काठमाडौंका मेयरमा निर्वाचित भए । विगत १५/२० वर्षको अवधिमा काठमाडौंको विकास उल्टो दिशामा हुन थाल्यो । ठूला, ठूला विल्डिङ ठड्याउने, सपिङ मल बनाउने, हाउजिङ र एपार्टमेन्टको निर्माण जस्ता कार्यलाई नै विकास भन्न थालियो ।
यस बीचमा धरोहरा लगायतका ठाउँहरुको व्यापारीकरण गर्ने कार्य भए भने गाडी पार्किङ, चुंगी कर, ठेक्कापट्टा आआफ्नामा मानिसलाई दिनेबाहेक महानगरपालिकाबाट खासै रचनात्मक कार्य भएन । विद्यासुन्दर शाक्य मेयरमा चुनिएपछि उनको कार्यकालमा भएको देखाउन लायकको कार्य भनेको भूकम्पले भत्केको काष्ठमण्डपको पुनःनिर्माण मात्रै हो । त्यसबाहेक ठोस कार्य हुन सकेन काठमाडौंका बासिन्दाको हितमा ।
यसरी विगतका नेतृत्वले महानगर सम्भाल्दा राजधानी सहर झन्, झन् कुरुप हुँदै गयो । यहाँका मठ, मन्दिरले संरक्षण पाउन छाडे । सुन्धारामा पानी बग्न छाड्यो, रानीपोखरी सुख्खा हुन थाल्यो । विगत १२÷१५ वर्ष यता काठमाडौंलाई जुनप्रकारले कुरुप बनाइयो, यहाँको सडकहरु खाल्टा, खुल्टी बने । ट्राफिक लथालिंग बन्यो, पार्किङको समस्याले ग्रस्त बनायो । धूँवा, धूलो र ध्वनि प्रदूषणले यहाँको वातावरण अस्वस्थकर बनायो । अव्यवस्थित सहरीकरणले काठमाडौं कंक्रिटको जंगलमा परिणत भई बस्न लायकको समेत नहु्ने अवस्था सिर्जना भयो । त्यसले गर्दा राजधानीबासीले पुनः पुरानै नेतृत्वलाई यहाँको विकास, निर्माणको जिम्मेवारी सुम्पने सम्भावना कमै देखिएको छ ।
हुँदा हुँदा प्रशस्त बजेट र आफ्नो जग्गा, जमीन हुँदा हुँदै पनि महानगरपालिकाको आफ्नो भवनसम्म बनेन । यहाँको फोहरमैलाको स्थायी समाधानतर्फ पनि महानगर प्रशासनले कुनै चासो देखाएन । जबकि काठमाडौंको तुलनामा ललितपुर र भक्तपुर नगरपालिकामा नगरपिताको सक्रियतामा निकै सुधारका कार्यहरु भएको हामीले प्रत्यक्ष अनुभव गर्न पाएका छौं ।
अब फेरि वैशाख ३० गते स्थानीय प्रतिनिधिहरुको चुनाव गर्ने अवसर आएको छ । यसपाली हामीले कस्तो मेयर चुन्ने भनेर बडो विचार र विवेकको प्रयोग गर्नु परेको छ । अहिले मेयर पदका लागि धेरै प्रत्यासीहरु छन् । यी मध्ये स्थापितलाई राजधानीबासीले दुईपल्ट भोगिसकेका छन् र उनका क्रियाकलापहरु देखिसकेका छन् । त्यसमा विगतमा मी टुका कारण र अहिले एक अन्तक्रियामा अपशब्द बोल्नाले चुनाव आयोगबाटै उनलाई स्पष्टीकरण मागिएको अवस्थामा पहिले उनीप्रति आकर्षित हुने धेरै मतदाता पनि पुनर्विचार गर्न थालेका छन् ।
अर्कोतर्फ राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ प्रतिष्ठित कलाकार त हुन् तर उनको राजनैतिक अनुभव नभएको, महानगर प्रशासनबारे अनभिज्ञ छन् । साथै पार्टीकै लोकप्रियता पनि त्यति नभएको हुँदा उनी पनि मेयर पदमा जित्ने संभावना निकै क्षीण देखिन्छ । स्वतन्त्र उम्मेदवार वालेन साह युवाहरुका प्रिय हुँदैछन् । ईन्जिनीयर अनि संगीतकार रहेका उनले राम्रै भोट ल्याउने देखिन्छ । त्यस्तै अर्का उम्मेदवार सुमन सायमी पनि युवा जोश र जाँगर भएका व्यक्ति र अनधिकृत सडक विस्तारका अभियन्ता हुनाले उनी पनि प्रतिस्पर्धीमा पर्छन् ।
तर राजधानी जस्तो ४०/४५ लाख जनसंख्याको भार थेग्न पर्ने अति व्यस्त सहरको मेयरको भूमिका निभाउन चानचुने व्यक्तिले सक्दैन । यदि वालेन र सुमनले उठाएका काठमाडौंमा व्यवस्थित सहरीकरण र अनधिकृत सडक विस्तारका मुद्दाहरुको पनि सम्बोधन गर्नको निम्ति चुस्त, दुरुस्त, सक्रिय, सुझबुझ भएका स्वच्छ छविका राजनैतिक व्यक्तित्व नै चाहिन्छ भन्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न । जनआन्दोलनका नायक सर्वोच्च कमाण्डर गणेशमान सिंहकी बुहारी र काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह पनि चर्चामा छिन् ।
अब राजधानी सहरको नेतृत्वमा आउने व्यक्तिको सामु चुनौतीका ठूलै चाङ छ । राजधानीको ट्राफिक समस्या, वातावरण प्रदूषण, फोहोरमैलाको समस्या, अव्यवस्थित सहरीकरणको समस्या, हरियाली र खुला चौरको अभावको समस्या, खानेपानी, ढल निकासको समस्या, यहाँका नदीनाला, पाटी, पौवा, पोखरी, इनार आदिको सरसफाई र संरक्षणको समस्या छन् ।
यहाँका मठमन्दिर, स्तुप, ऐतिहासिक तथा पुरातात्विक संरचनाको पुननिर्माण तथा संरक्षण, यहाँको बाजागाजा, नाचगान, कला, संस्कृतिलगायत अमूर्त सम्पदा संरक्षणको दायित्व आदि थुप्रै कुराहरुमा ध्यान दिने नेतृत्व हामीलाई चाहिएको छ ।
केवल मीठा, मीठा सपना बेचेर मोनोरेल र अण्डरग्राउण्ड मेट्रोको सपना देखाउने अनि काम चाहिं केही नगर्ने विगतका मेयरहरु जस्ताको अब केही काम छैन । राजधानीका जनताले यसपटक पनि स्वच्छ छवि भएका, निष्कलंक, राजनैतिक सुझबुझ भएका, भिजन भएका, योग्य, निस्वार्थ तथा जनताको सुख, दुःखमा साथ दिन सक्ने व्यक्ति यदि चुन्न सकेनन् भने काठमाडौंले आफूसँगै जोडिएका अन्य दुई ऐतिहासिक सहरहरु भन्दा निकै पछि पर्ने निश्चित छ । अनि यहाँका जनताले अर्को पुस्तासम्म पनि दुःख, कष्ट भोग्न, अस्तव्यस्त र अन्योलको वातावरणमा जिउनुपर्ने हुनाले यसपालि निकै होश पुर्याएर भोट हाल्नु जरुरी छ ।