शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहका सबै पदमा काँग्रेस ‘फर्स्ट’ पार्टी बन्छ : गगन थापा

‘ओलीको दादागिरी रोक्न जवाफ फर्काएको हुँ’
मङ्गलबार, २० वैशाख २०७९, १३ : ४६
मङ्गलबार, २० वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट’ पार्टी बन्ने दाबी गरेका छन् । उनको भनाइ छ, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी फस्र्ट पार्टी हुन्छौँ । यसमा मलाई कुनै सन्देह नै छैन ।’ स्थानीय तह निर्वाचनमा भएको गठबन्धनलाई विचित्रको देखेका छन् उनले । ‘स्थानीय तह निर्वाचन गठबन्धन भर्सेस एमाले होइन । दुई वटा विचित्र गठबन्धनबीच प्रतिस्पर्धा हो,’ उनी भन्छन्, ‘एमालेले नेतृत्व गरेको गठबन्धन र काँग्रेसको गठबन्धनबीचको प्रतिस्पर्धा हुन लागेको छ । यो विचित्रको छ ।’

काँग्र्रेसबाट काठमाडौं महानगरपालिका मेयरको उम्मेदवार सिजर्ना सिंहमा खोट लाउने ठाउँ नभएको पनि थापाको भनाइ छ । गठबन्धनको नाउँमा माथिबाट थोपरिएको ठाउँमा ब्यापक आक्रोश र विद्रोह भएको स्वीकार्छन् उनी । काँग्रेसको चुनावी घोषणापत्र लेख्ने टिमको संयोजक पनि हुन् उनी । तर एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र लेख्नेहरु पागल भएको संज्ञा दिए । यसबारे के भनाइ छ उनको ? प्रस्तुत छ, स्थानीय तह निर्वाचन केन्द्रीत रहेर काँग्रेस महामन्त्री गगन थापासँग रातोपाटीका विधान श्रेष्ठ र लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ । सत्ता गठबन्धनबीचको चुनावी तालमेलका साथ जानुभएको छ । तयारी के कसरी अगाडि बढिरहेको छ ?

स्थानीय तहमा अन्य दलसँग तालमेल गरेर जाने कुरा सजिलो थिएन, अहिले पनि छैन । देशभरि प्रत्येक वडामा संगठन भएको नेपाली काँग्रेस जस्तो पार्टीलाई केही ठाउँमा आफ्नो पार्टीको उम्मेदवार नहुने निर्णय गर्ने र त्यो मनाउने कुरा गाह्रो थियो र अहिले पनि छ ।

तालमेलका कारण असन्तुष्ट साथीहरुलाई सम्पर्क गर्ने र पार्टीको निर्णयको पक्षमा उभिन प्रेरित गर्ने काम गरिरहेका छौं । मैले उहाँहरुलाई राजनीतिक दल नै यस्तै हुन्छ भनिरहेको छु । म चुनावी तालमेलको खिलापमा मत राख्ने मान्छे हुँ । पार्टीको बैठकमा पनि राखेको हुँ । चुनावपछि पनि मेरो उभिने ठाउँ त्यही हुन्छ । तर पार्टीको निर्णय मानेर जानुपर्छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्रले वडा, जिल्लाले गाउँपालिका, प्रदेशले नगर तथा उपमहानगर र संघले महानगरको टिकट बाँड्ने नयाँ अभ्यासको अनुभव पनि मीठो रहेन । मुलुक संघीयतामा गएकाले तल्लो तहलाई अधिकार दिएर काम गरौं भन्यौं । तर हामीले गरेको सांगठनिक अभ्यास र विधानको यो व्यवस्था धेरै संगतिपूर्ण भएको लागेन ।

त्यसैले हाल सिर्जना भएका प्रतिक्रियालाई पनि हामीले थप काम गर्नुपर्ने भएको छ । देशभरिका नगरपालिकाको एकै ठाउँमा बसेर छलफल गरेको भए कसलाई किन दिइयो, कसलाई किन दिइएन भन्नेबारे राम्रोसँग छलफल हुन्थ्यो होला । प्रदेश–प्रदेशले टिकट बाँड्ने भन्यो । तर कहीँ प्रतिशोध, कहीँ निषेध भएको पाइयो । यो कुरा सिक्ने र सच्याउने कुरा पनि हो भनेर साथीहरुलाई भनिराख्नु परेको छ । पार्टीले निर्णय गरेसकेपछि चुनावमा मानेर जानुपर्छ भनेर साथीभाइलाई अहिले बताउने चरणमा छौं । 

अर्को भनेको पार्टीको सभा कहाँ कहाँ गर्ने, के गर्ने भन्ने सवालमा पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा बनेको समितिले केन्द्रबाट नेता परिचालनको कार्यतालिका बनाउँदै छ । विभिन्न जिल्लाका साथीहरुले मेरो ठाउँमा आइदिनुपर्यो भनेर बोलाइ राख्नु भएको छ । तर यस पटक कार्यतालिकाअनुसार मात्र जान्छौं ।

तपाईं गठबन्धनको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको सदस्य हुनुहुन्छ छ । चुनावी तालमेल सफल भयो कि असफल ?

निर्वाचनको परिणामपछि मात्र यसबारे टिप्पणी गर्नु उपयुक्त होला । हाम्रो पार्टीले स्थानीय आवश्यकता र अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।  सो अनुसार तालमेल भएको ठाउँमा सफल हुने देखिन्छ । किनभने उसले त्यसको सम्पूर्ण स्वामित्व लिने भयो । उसलै तालमेलको आवश्यकता महसुस गर्यो, उसैले सिट बाँडफाँट टुंग्यायो । अहिले उसले आफैले गरेको निर्णयलाई कार्यान्वयन गर्ने तहमा लिएर गएको छ । त्यहाँ सजिलो र सहजतापूर्वक गएको छ । तर तालमेलको स्थानीय आवश्यकता र अवस्था छैन भन्दा भन्दै पनि हामीले माथिबाट थोपर्ने गरेको ठाउँमा ब्यापक आक्रोश र विद्रोह छ । मैले सर्रर देशभरि हेर्दा त्यस्तो अवस्था देख्छु ।

महानगर र उपमहानगरपालिकामा केन्द्रबाट थोपरेको तालमेलविरुद्ध कार्यकर्ताले विद्रोह गरेको अवस्था छ । परिणाम कस्तो आउने अपेक्षा गर्नु भएको छ ?

महानगर र उपमहानगरपालिकामा निर्णय गर्दा गल्ती भयो जस्तो लाग्छ । स्थानीय अवस्था र आवश्यकतालाई अभिव्यक्त गर्ने हाम्रा पार्टीका आधिकारिक तहहरु थिए । महानगर र जिल्ला कमिटीको सहभागितामा हामीले निर्णय गराउनु पर्थ्र्यो, जुन कुरा मैले सुरुदेखि राख्दै आएको थिएँ । गठबन्धनको बैठकमा तालमेल गर्न पाइँदैन भनेर मैले बैठकमा भाग नलिएको पनि हो । तालमेलको स्थानीय अवस्था सम्बन्धित महानगर र उपमहानगर कमिटीले भन्ने हो । हामीले निर्णय गरेर मात्र हुँदैन भन्ने मेरो पोजिसन थियो ।

जिल्ला, महानगर र उपमहानगर कमिटीे तालमेलको पक्ष देखिएको ठाउँमा सहज छ । तर जिल्ला र महानगर तालमेलको विपक्षमा उभिएको ठाउँमा तालमेल स्वीकार्ने कुरामा केही अप्ठ्यारो देखिएको छ । पार्टीको निर्णयसँग साथीहरुमा देखिएको आक्रोश र असन्तुष्टि मैले बुझ्छु । त्यसबारे निर्वाचन सकिएपछि छलफल हुन्छ । किन पार्टीको निर्णय बाहिर गएर तालमेल भयो छलफल हुन्छ । 

तालमेलको राजनीति नेपाली काँग्रेसको हेल्थको लागि कति ठीक छ, छैन भन्नेबारे छलफल हुन्छ । यो कुरा साथीहरुलाई म आश्वस्त पार्न चाहन्छु । मेरो अनुभवले भन्छ– सबै साथीहरुले पार्टी निर्णय मान्नुहुन्छ । अझै समय छm नेताहरुले कोसिस पनि गरिराख्नु भएको छ । मन अमिलो छ । पार्टीले निर्णय गरिहाल्यो । समयमा यसबारे लडौंला, पार्टीभित्र छलफल गरौंला । तर पार्टीको निर्णयलाई कार्यान्वयन गरेर लाने कुरामा लाग्छु भन्ने ठाउँमा साथीहरु पुग्नु हुन्छ भन्ने मलाई आशा छ ।

काठमाडौं महानगरपालिका पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी छ । यसलाई कसरी हेरिराख्नु भएको छ ?

स्थानीय तह निर्वाचनमा विगतमा पनि स्वतन्त्र र नयाँ दलका उम्मेदवार देखिन्थे । उहाँहरुप्रति मतदाताको आकर्षण पनि रह्यो । पार्टीहरुले आम मतदाताले परिवर्तन खोजेका छन् भन्ने सन्देशका रुपमा लिनुपर्छ ।

मैले काँग्रेस दृष्टिकोणबाट हेर्दा हाम्रो उम्मेदवारको अनुहार, चुनावी शैली र कार्यक्रमबाट आम मतदातालाई फ्रेसनेसको अनुभूति कोसिस गर्नुपर्ने भन्ने सन्देशका रुपमा लिएको छु । नेपाली काँग्रेसजस्तो मूलधारको पार्टीले यसबाट शिक्षा लिनुपर्छ भन्ने लाग्छ । तर चुनावी नजिता मूलधारकै पार्टीलाई जिम्मेवारी दिएको देखिन्छ । जिम्मेवारी पाएपछि हामीले त्यो सन्देशलाई बिर्सिने काम गर्नु हुँदैन । 

गत निर्वाचनमा काठमाडौं महानगरपालिकामा रञ्जु दर्शना र किशोर थापाले मत काट्दा हारिएको काँग्रेसको निष्कर्ष थियो । यस पटक स्वतन्त्र उम्मेदवार बालेन साहकोे उम्मेदवारी काँग्रेसका लागि चुनौती हो कि होइन ?

मैदानमा आएको प्रत्येक उम्मेदवारलाई चुनौतीका रुपमा स्वीकार्नु पर्छ । कसैलाई पनि अन्डरस्टिमेन्ट गर्नु हुँदैन । कसैको अवमूल्यन गर्नु हुँदैन । साथै मेरो भोट दुई लाख आउँछ, मेरो भोट ९० हजार आउँछ भनेर बढी मुल्याङ्कन गर्नु हुँदैन भन्ने लाग्छ । काठमाडौं महानगरपालिकाभित्रको म काँग्रेसको कार्यकर्ता पनि हो, मतदाता पनि हो । महानगरमा हाम्रो पार्टीको उम्मेदवार सिर्जना सिंह निर्वाचित हुने धेरै आधार देख्छु । यति भन्दै गर्दा पनि नेकपा एमालेको पनि प्रतिस्पर्धा छ, स्वतन्त्र उम्मेदवारको पनि प्रतिस्पर्धा छ । यी सबैलाई आफ्नो प्रतिस्पर्धी ठानेर थप मिहिनेत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

गत निर्वाचनमा करिब ४० हजार मत स्वतन्त्र उम्मेदवारलाई गयो । यसपालि पनि बालेन साहको चर्चा छ । स्वीङ भोट डोमोक्रेटहरुको हो । लेफ्टहरुको क्याडर बेस छ, त्यो स्पीङ हुँदैन भन्ने छ । यो बुझाइलाई  कसरी हेर्नु भएको छ ?

तपाईंको विश्लेषणसँग म एकदमै सहमत छु । उदार राजनीतिक सोच भएको, व्यक्तिको स्वतन्त्रतालाई विश्वास गर्ने, आफै गरिखाने कुरामा विश्वास गर्ने एउटा मतदाता युवक पनि हुन सक्छ, वयस्क पनि हुन सक्छ । पार्टीका हिसाबले उसको नेचुरल च्वाइस नेपाली काँग्रेस हो, उ कम्युनिस्ट पार्टीको मतदाता होइन । यस्तो मतदाता पुरा व्यवस्थासँग रिसाएको छ, उसले विकल्प खोजेको छ ।

यदि स्वतन्त्र उम्मेदवारको विकल्प नभएको भए उसले रिस उठे पनि नेपाली काँग्रेसलाई भोट हाल्छ । तर स्वतन्त्र उम्मेदवारको एउटा विकल्प हुँदा आफ्नो रिस त्यहाँ गएर व्यक्त गर्छ । त्यसले नेपाली काँग्रेसको उम्मेदवारलाई मतको हिसाबले क्षति पुग्ने कुरामा जोडिन सक्दछ । यो कुरा हामीले अभियानका क्रममा लिबरल मतदातालाई बुझाउन सक्नुपर्छ ।

एक छिनको आक्रोशले तपाईंले सोच्दै नसोचेको, चाहँदै नचाहेका व्यक्ति निर्वाचित भएर आउन सक्छ है भनेर काँग्रेसले चुनावी अभियानको दौडानमा स्वीङ भोटरसलाई बुझाउन सक्यो भने हामीले केही न केही क्षतिलाई कम गर्छौं । त्यसैले कसैलाई पनि कम आँक्नु हुन्न भनेको हुँ । कोही बढी मत ल्याएर प्रतिस्पर्धा गर्ने होला, कोही मत काटेर क्षति पुर्याउने होला, कोही मत बाँडने होला । त्यसैले कोही न कोही उम्मेदवारको केही न केही ‘स्पेस’ हुन्छ भनेर हामीले अभियान अगाडि बढाउनुपर्छ ।

काठमाडौंले परिवर्तन खोजेको कुरा गत निर्वाचनमा पनि देखियो । एमालेका विद्यासुन्दर शाक्य असफल भए । काँग्रेसका उम्मेदवारमाथि परिवारवादको आरोप छ ।  काँग्रेसले सही उम्मेदवार नउठाउँदा विद्यासुन्दरको असफलतालाई क्यास गर्न गाह्रो परेको हो ?

यसमा मेरो फरक धारणा छ ।  हामीले अभियानलाई संगठित बनाएर लिन सक्यौ भने विद्यासुन्दरको असफलता ‘क्यास’ गर्ने मौका छ । अर्को कुरा सिर्जना सिंह नेपाली राजनीतिमा लामो समयदेखि नजिकबाट जोडिएको पात्र हो । तर उहाँ फ्रेस हो । हामीले जुन फ्रेस मान्छेबाट जे अपेक्षा राख्छौं, त्यो सिर्जना सिंहमा पनि पाउन सकिन्छ । आजका दिनमा सिर्जना सिंहले महानगरको मेयर भएपछि साधन–स्रोतको एक रुपयाँ पनि अपचलन नगर्ने कुरा ‘कमिट’ गर्न सक्नुहुन्छ । आम मतदातालाई विश्वास दिलाउनु सक्नुहुन्छ ।

भोलि पुरा पनि गर्नु सक्नु हुन्छ । सिर्जना सिंहमाथि कुनै दाग छैन । उहाँले काम गर्न सक्नुहुन्नु भन्ने पनि छैन । खाली एउटै कुरा मात्र छ । एउटा परिवारको सदस्य भएको कारणले मात्र मौका पाउनु भएको भन्ने जुन कुरा छ, त्यो होइन । त्यो परिवारको सदस्य भएको कारणले गर्दा धेरै पहिले पाउनुपर्ने मौका नपाएको कुरा पो हो कि ? उहाँ परिवारको हो भन्ने कुरालाई बिर्सियो भने एउटा पढेलेखेको महिला, सिर्जना सिंह काठमाडौं बाहिरको पनि हो, काठमाडौंको पनि हो ।

उहाँले काठमाडौंको मेयर चलाउने अध्ययन र अनुभवका आधारमा पनि क्षमता राख्नुहुन्छ । उहाँमाथि खोट लगाउने कुनै कुरा छैन । अब जम्मा फलानो परिवारको सदस्य भएको कारणले गर्दा मात्र भन्ने कुरा रह्यो । अरु बाँकी सबै कुरामा फ्रेस क्यान्डिडेट हो । त्यसैले काठमाडौंका मतदातालाई यो कुरा बुझाउन हामीले सक्यौं भने फ्रेस अनुहार अगाडि सार्दाको मौका छ । 

काठमाडौं सन्दर्भमा हामीसँग अर्को एउटा पनि मौका छ । हेर्दा सामान्य कुरा लाग्छ । तर काठमाडौं राजधानी पनि हो । राजधानीको पावरफूल मेयरमा नेपालको महिलाले पहिलो पटक एक जना महिलालाई राख्ने अवसर प्राप्त गर्दैछ । म अघिल्लो पटक मन्त्री हुँदा पनि मेयर हुन चाहेको थिएँ । तर नेताहरुले त्यसको संकेत नगरेपछि पाइला अघि बढाइन ।

यो त्यति महत्वपूर्ण पद हो । काठमाडौंलाई राम्रोसँग चलायो भने आफूलाई स्थापित गर्न सक्ने ठाउँ हो । आज काठमाडौंको मेयरमा पुग्ने कुराले भोलि प्रदेशको मुख्यमन्त्री र मुलुकको प्रधानमन्त्री हुने बाटो खोल्छ । यो कुरा पनि हामीले मतदातालाई भन्न सक्ने ठाउँ जस्तो लाग्छ ।

तपाईं र तपाईंको टीमले चुनावी अंकगणितलाई पनि केलाइ राखेको छ । समग्रमा यस पटक काँग्रेसको पक्षमा कस्तो परिणाम आउने प्रक्षेपण गरिराख्नु भएको छ ? 

स्थानीय तह निर्वाचनबाट सबै पदमा काँग्रेस ‘फस्र्ट’ पार्टी बन्छ । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी फस्र्ट पार्टी हुन्छौं । यसमा मलाई कुनै सन्देह नै छैन । अघिल्लो पटक मतका हिसाबले पनि एमाले पहिलो पार्टी थियो । नम्बर अफ मेयरका हिसाबले पनि फस्र्ट पार्टी थियो । नम्बर अफ वडाध्यक्षका हिसाबले पनि फस्र्ट पार्टी थियो ।

नम्बर अफ मतका हिसाबले पनि वडाध्यक्षमा काँग्रेस र एमालेबीचमा १२ हजारको फरक थियो । तर उ १२ हजार भोटले पनि हामीभन्दा फस्र्ट थियो । यो पटक वडा सदस्य, वडाध्यक्ष, मेयर, उपमेयर जहाँबाट जोडे पनि हामी फस्र्ट पार्टी हुन्छौं । मलाई यसमा कुनै अलमल नै छैन । हामी कति अन्तरले फस्र्ट हुन्छौं ? तालमेलको कुराले हामीलाई कति फाइदा हुन्छ ? त्यो चाहिँ हेर्न बाँकी छ ।

तपाईंले काँग्रेस पहिलो पार्टी बन्छ भन्ने दाबी गर्नुभयो । काँग्रेस नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्त प्रश्नको घेरामा छ । काँग्रेस पहिलो पार्टी बन्ने तपाईंको दाबीमा धक्का लाग्छ कि ? 

सरकारमा बस्ने मान्छेलाई हामी हो सरकारमा बसेको, हामीले हो निर्णय गर्ने भन्ने लाग्छ । तर सरकारमा पार्टी पुगेको हुन्छ । त्यो निर्णयको भारी सिंगो पार्टीले बोक्नुपर्छ । वडाध्यक्षले पनि निर्णयको भारी बोक्नुपर्छ ।

त्यसैले कुनै पनि निर्णय गर्दा मैले गरेको निर्णय मेरो पार्टीको तल बसेको कर्ताकर्ताले दिनु परेको हुन्छ । उसले पनि प्रतिरक्षा गर्न सक्ने गरी ठाउँ राखेर निर्णय गरिदिनुस् है । निर्णय सरकारमा बस्ने साथीहरुले गर्ने हो । हामीले गर्ने होइन । तर तलको साथीले डिफेन्ड गर्न पाउनुपर्छ । छाती ठोकेर गर्न पाउनुपर्छ । उ सहभागी नभए पनि तर्क दिन पाउनुपर्छ । तथ्यमा टेक्न पाउनुपर्छ । यसको हेक्का राखिदिनुपर्छ भन्ने कुरा मैले पार्टीको प्रत्येक बैठकमा भन्दै आएको छु ।

यो कुरालाई कति ध्यान पुर्याइएको छ, कति छैन भन्ने कुरा कतिपय हामीले देखिरहेका छौं । निर्वाचनका बेलामा यसबारे म धेरै बोल्न चाहन्नँ । तर निर्वाचन पछाडि यस्ता थुप्रै विषय छन्, जुन विषयमा पार्टीभित्र छलफल हुन्छ । हिसाब किताब पनि हुन्छ । यी विषय यत्तिकै तुहिएर जाँदैनन् ।

देशभर गठबन्धनबीच चुनावी तालमेल नभएपछि एमालेमा केही उत्साह थपिएको देखिन्छ । गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा कुन ढंगले जान्छ ?

गठबन्धन भर्सेस एमाले भन्ने कुरा सच्याउनुपर्छ । एमाले ‘फुल’ गठबन्धनमा छ । एमालेले व्यक्तिसँग पनि गठबन्धन गरेको छ । लोसपा, परिवार दल, कमल थापाको राप्रपा नेपाल, काँग्रेसका असन्तुष्ट साथीहरु कोही कसैलाई छोडेको छैन । एमाले सिंगल छ भन्ने एमाले नेताहरुको ‘न्यारेटिभ’ सत्य होइन ।

एमालेले भ्याएसम्म को बाँकी राखेको छ र ? काठमाडौंमा काँग्रेसको मेयर र एकीकृत समाजवादीको उपमेयरमा तालमेल गरेको छ । तर वडामा हामी एक्ला एक्लै प्रतिस्पर्धा गरिरहेका छौं । यो विचित्रको तालमेल छ । अर्कोतिर पनि त्यस्तै छ । त्यसैले यहाँनिर गठबन्धन भर्सेस एमाले होइन, दुई वटा विचित्र गठबन्धनबीच प्रतिस्पर्धा हो । गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा भन्दा पनि एमालेले गरेको गठबन्धन र काँग्रेसको गठबन्धनबीचको प्रतिस्पर्धा कस्तो भनेर भन्दा मिल्छ ।

तपाईकै भनाइमा काँग्रेस र एमाले गठबन्धनबीचको प्रतिस्पर्धा कस्तो हुन्छ ?

तलबाट चुनावी तालमेल भएको ठाउँमा धेरै राम्रो हुन्छ । तर माथिबाट चुनावी तालमेल भएको ठाउँमा हामीले बढी मिहिनेत गर्नुपर्छ ।

महानगर र उपमहानगरपालिकाको परिणाम गठबन्धनको पक्षमा आउने सम्भावना कम छ भन्न खोज्नुभएको हो ?

त्यो होइन । महानगर र उपमहानगरपालिका हकमा पनि तलबाट तालमेल भएको छ । त्यो ठाउँमा सहज र स्वभाविक भयो ।  जहाँ तल चुनावी तालमेल गर्नु हुँदैन भन्ने भयो तर हामीले तालमेलको निर्णय गर्यौं । त्यहाँ देखिने गरी विद्रोही छ, आक्रोश छ । त्यहाँ अझै हामी सबैले मिहिनेत गर्नुपर्छ । पार्टीका साथीहरुको असन्तुष्टिलाई बेवास्ता गर्ने वा भोलि देखाइदिन्छु भन्ने होइन । उहाँहरुलाई पार्टीको निर्णयको पक्षमा उभ्याउनुपर्छ ।

भरतपुर महानगरपालिकामा काँग्रेसका बागी उम्मेदवारी फिर्ताका लागि राज्यसत्ता नै चितवन पुग्यो । गृहमन्त्री बालकृष्ण खाण समेत चितवनमा डेरा जमाएर बसे । तर जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । भरतपुरका बागीप्रति सत्ता गठबन्धन किन यति साह्रो आत्तिएको हो ?

नेपाली काँग्रेसको महामन्त्रीका हिसाबले मेरा लागि देशभरिका पार्टीका उम्मेदवार बराबरी हुन् । गृहमन्त्री चितवन पुगे । उहाँ काँग्रेसको नेता पनि त हो । उहाँ गठबन्धन सरकारको मन्त्री पनि त हो । चितवनमा उहाँको विशेष प्रभाव  र सम्बन्ध पनि छ । त्यहाँका साथीसँग कुरा गर्नु सक्छु कि भनेर उहाँ जानु भएको हो । अरु कतिपय साथी पनि जानु भयो । बढी असन्तुष्टि देखिएको पोखरा लगायतका ठाउँमा पनि साथीहरु जानुभएको थियो । त्यसैले जहाँ बढी असन्तुष्टि छ, त्यहाँ बढी मिहिनेत गर्नु परेको हो ।

काँग्रेसमा टिकट वितरण विधिसम्मत भएन भन्ने छ । पार्टीका जिम्मेवार नेता शेखर कोइरालाले त टिकट वितरणमा ब्यापक आर्थिक चलखेल भयो भन्ने समेत आरोप लगाउनु भयो । तपाईंको पनि त्यही निष्कर्ष हो ? 

नेपाली काँग्रेसमा केन्द्र, सात वटा प्रदेश, ७७ वटा जिल्ला, १६५ वटा निर्वाचन क्षेत्रबाट टिकट वितरण गरिएको छ । म कहाँ पनि दर्जनौं असन्तुष्टि आएको छ । कहीँ जिल्ला, कहीँ प्रदेशले अधिकार मिचेको मानिएको छ । कहीँ तपाईंले भनेजस्तो अनियमितताको कुरा छ । यी सबै कुरासँग प्रमाण होला ।

उहाँले दलिल राख्ने ठाउँ होला । अहिले यति मात्र भन्छु– कैयौं अनुभवहरु मीठा भएन । एउटा तालमेलका कारण भएन, अर्को पहिलो पटक विधानको नयाँ अभ्यास प्रतिकुल पनि भयो ।

हामीले एक महिना अगाडि उम्मेदवार टुंग्याउन चाहेका थियौं । हामी दुबै महामन्त्रीले कार्यालयको सबै काम अगाडि बढाएका थियौं । यो तालमेल नहुने अवस्था भएको भए नेपाली काँग्रेसले एक महिना अगाडि टिकट टुङ्ग्याउँथ्यो । तालमेलका कारण उम्मेदवारी दर्ताको एक दुई घण्टामा टिकट टुङ्ग्याउँदै गर्दा कतिपय ठाउँमा ठूलो गुनासो छ ।

अहिले यो यो कारणले भयो भने न्यायाधीश जस्तो फैसला सुनाउन चाहन्न । मिल्दा पनि मिल्दैन । न मसँग त्यो हक छ, न मसँग जानकारी छ । फेरि यति कुरा भन्छु कि निर्वाचन पछाडि समग्र विषयमा पार्टीमा अध्ययन हुन्छ, छलफल हुन्छ, समीक्षा हुन्छ र निर्णय पनि हुन्छ ।

तपाईंले प्रदेश, जिल्ला र क्षेत्रमा  टिकट वितरणमा संगति मिलेन भन्नुभयो । तर केन्द्रबाट सभापतिले विधान विपरीत टिकट खोसेको घटनालाई कसरी लिने ?

नेपाली काँग्रेसको विधानले पार्टी सभापतिलाई विशिष्ट अधिकार दिन्छ । पार्टी सभापति जिम्मेवार पनि हुन्छ । तर भोलि यिनै विषयबारे सभापतिले उत्तर दिनुपर्छ । पार्टीको प्रदेश कमिटीले बाँडेको टिकट तपाईं किन खोस्नुभयो ? किन अर्को टिकट दिनुभयो ? यी सबै कुराबारे उत्तर दिनुपर्छ । त्यो उत्तरको प्रतीक्षा गरौं न । तर मल्टिपल सेन्टरबाट टिकट बाँड्ने कुरा गाह्रो हुँदो रहेछ, यो अव्यवहारिक पनि हुँदो रहेछ । मलाई यो अभ्यास ठीक लागेन । 

नगरपालिका प्रमुखको टिकट प्रदेशले बाँडिरहेको छ । वडाको टिकट क्षेत्रले बाँडिरहेको छ । नगरपालिकामा जित्नका लागि त मेयर र वडाध्यक्षको सन्तुलन हुनुपर्ला नि ? क्षेत्र हुनुपर्ला, जातीय हुनुपर्ला, पार्टीमित्र समूहको सन्तुलन हुनुपर्ला, थुप्रै चीज हुनुपर्ला । टिकट नै फरक फरक ठाउँबाट बाँडिएको छ । कतिपय ठाउँमा त्यो कुरा सच्याउन पार्टी सभापतिले हस्तक्षेप गर्नु परेको छ ।

नेताहरुबीच अस्वस्थ आरोप प्रत्यारोप चलिरहेको छ । घोषणापत्रका सन्दर्भमा पछिल्लो समय तपार्इं र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्वस्थ आरोप प्रत्यारोप नै चलेको देखियो नि ।

यस अघिका हाम्रो घोषणापत्र न चुनावसँग सम्बन्धित छ, न चुनाव पछाडि हाम्रो घोषणापत्र सन्दर्भ सामग्रीका रुपमा रहन्छ । न मत हाल्नेका लागि रहन्छ, न मत माग्नेका लागि रहन्छ । हामीले आवधिक निर्वाचनमा घोषणापत्र बनाएर जाँदा ५० वर्ष अगाडिको र ५० वर्षपछिको कुरा गर्ने भयौं । 

५० वर्ष अगाडि के भएको थियो भन्ने भयौं । अब पाँच वर्षपछि देशमा के हुन्छ भन्ने कुराको पनि ग्यारेन्टी गर्ने भयौं । तर गएको निर्वाचनको एउटा अवधिबाट अर्को अवधिको निर्वाचनको कुरा छोड्ने भयौं । जसले गर्दा जवाफदेहिताको राजनीति रहेन ।

त्यसकारण गएको पाँच वर्ष राम्रो काम गरेको भए दोहोर्याएर भोट दिनुपर्यो । पाँच वर्ष चुकेको हो भने दण्ड दिनुपर्यो । मेरो सिम्पल कुरा छ । यो एंगलबाट हाम्रो घोषणापत्र बनाएका छौं । त्यसरी नै प्रस्तुत गरेका छौं । यही बाटोमा अगाडि लिएर जाने कोशिस हो । यो घोषणापत्रको सन्दर्भमा नेकपा एमालेको अध्यक्षले जुन स्तरको टिप्पणी गर्नुभयो, जुन शब्दहरुको प्रयोग गर्नुभयो, त्यो ठीक भएन । 

हामीलाई उहाँले पागल समेत भन्नुभयो । घोषणापत्र लेख्ने टिमको संयोजक हुँ नि म । यो पागलहरुको प्रलाप भनिसकेपछि स्वभाविक रुपमा प्रतिउत्तर त हुने नै भए । नभए आरोप प्रत्यारोपमा जाने हाम्रो कुनै रहर र इच्छा होइन । विगतमा पनि होइन, आज पनि होइन र भोलि पनि रहँदैन ।

केपी ओलीको अभिव्यक्तिमा तपाईं यसरी नै अस्वस्थ आरोप प्रत्यारोप कि गरिराख्नु हुन्छ ?

अस्वस्थ गर्ने कुरा भएन । हामीले एउटा घोषणापत्र बनायौं । नेकपा एमालेले एउटा घोषणापत्र बनायो । नेपाली काँग्रेसको घोषणापत्र लेख्नेहरु पागलहरु हुन् भनेर कसैले भन्यो । त्यसमा हामीले प्रश्न गरौं, केही कुरामा प्रतिउत्तर दियौं । तपाईंले सबैलाई एउटै डालोमा हाल्नु भयो भने यी पागलहरु हुन् भन्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने भयौं । 

यसमा दुई वटा कुरा हुने भयो । पागलहरु भनिसकेपछि हामीले केही बोल्ने भयौं । हामीले प्रतिउत्तर दियौं भने बराबर हुने भयौं । यस्तो विषयमा यो स्तरको टिप्पणी गरिसकेपछि जवाफ नदिँदा मनोबल बढ्दै जान्छ, दादागिरी बढ्दै जान्छ । यो दादागिरीलाई रोक्नका निम्ति केही ठाउँमा हामीले प्रश्न गर्नैपर्ने थियो, फर्काउनै पर्ने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप